|

काठमाडौं : ०७६ माघ १ गते माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘मैले १७ हजार मानिस मारेर आएको भन्ने तथ्याङ्क भनिन्छ। यो सत्य होइन। सत्य के हो भने हिजोको राज्यले १२ हजार मारेको हो। तर, पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु। राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष अगाडि दिएको अभिव्यक्ति यतिबेला चर्चामा आएको छ।

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका कमाण्डर तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न आदेश दियो। शुक्रबार न्यायाधीशहरू ईश्वरीप्रसाद खतिवडा र हरि फूयालको इजलासले प्रचण्डविरूद्धको रिट दर्ता गर्न आदेश दिएसँगै माओवादी घटकहरू झस्किएका छन्। 

जनयुद्धका पीडित पक्षले बेपत्ता, घाइते र सम्पत्ति हरण भएकाहरू न्यायको माग गर्दै सर्वोच्च पुगेपछि माओवादी वृत्तमा तरंग पैदा भएको छ।

२०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे सशस्त्र जनयुद्ध ०६३ मंसिर ५ गते बृहत् शान्ति सम्झौतासँगै सकिएको थियो। उक्त समयमा पीडित तथा घाइतेका परिवारका सदस्यहरूले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउन थालेपछि जनयुद्धलाई एउटा बहस निम्त्यिाएको छ। 

१० वर्ष जनयुद्ध लडेका नेताहरू मूल पार्टी छोडेर हिँडेपछि अहिले प्रचण्ड एक्लिएका छन्। उनीसँगैका साथीहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दसहितका नेताहरूले मूल पार्टी छोडेर गएका छन्।

तीनैजना नेताहरूले आफू अध्यक्ष रहेको पार्टी सञ्चालन गरिरहेका छन्। तर, प्रभावकारी रूपमा पार्टीलाई सक्रिय बनाउन सकेका छैनन्। 

२०६५ सालमा पहिलो पार्टीको रूपमा प्रतिनिधिसभामा उदाएको माओवादी पछिल्लो चरणमा सानो झुण्डमा परिणत भएको छ। १० वर्षे जनयुद्धदेखि हालसम्म प्रचण्डले सञ्चालन गरेको पार्टीमा दोस्रो तहका नेताहरूले साथ छोडेसँगै माओवादी थप कमजोर हुन थालेको हो।

माओवादी यतिबेला प्रतिनिधिसभामा ३२ सिटमा छ। माओवादी कमजोर भइरहेका बेला जनयुद्धको विषय झिकेर थप आक्रमण हुन थालेपछि पूर्वमाओवादीहरू एक कित्तामा उभिन थालेका हुन्। विगतमा छिन्नभिन्न भएका नेताहरूले जनयुद्धको विषय बाहिरिएसँगै पुनः एकजुट हुनुपर्ने आवाज उठ्न थालेको छ। 

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू एक कित्तामा उभिनुपर्ने बताए।

विपक्षीहरूबाट निरन्तर आक्रमण हुन थालेपछि प्रचण्डले आफ्ना पूर्वसहकर्मीको साथ पनि खोजेका छन्। 

‘फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरूरी छ। माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अगाडि आयो। शान्ति प्रक्रियापछि यो विभिन्न भंगालामा विभाजित जस्तो भयो। अब समय फेरि बग्दै जाँदा ती सबै भँगाला एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो,’ उनले भनेका छन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रवृत्ति भएकाले यी मुद्दामा कार्यगत एकता गर्न प्रस्ताव गरेका छन्। 

‘मिल्न सक्नेहरू जति एक ठाउँमा आऊँ, एउटा पार्टी बनाऔँ। अहिले यत्रो आक्रमण भइरहेको छ। माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ। यस्ता मुद्दामा कार्यगत एकता गरौँ। त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्न सक्छौँ। त्यसले परिवर्तन ल्याउँछ,’ उनले भनेका छन्। 
 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए। 

उनले भने, ‘हामीलाई अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन। यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन। माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ।

पार्टी एकता कति सम्भव?

नेपालमा गणतन्त्रको स्थापना भएसँगै शान्ति पूर्ण राजनीतिमा आएको माओवादी केन्द्र टुटफुटको शृङ्खलाबाट बच्न सकेन।

जनयुद्धकालीन मुद्दा ब्युतिएसँगै पार्टी एकताको चर्चा हुन थालेको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पूर्वमाओवादीहरू एक हुनुपर्ने बताए। उनले एकताको टुंगो नभए पनि पुनः एक हुनुपर्ने सन्देश सर्वोच्च अदालतको आदेशले दिएको बताए। 

‘एकता कहिले हुने टुंगो छैन्। तर, पूर्वमाओवादीहरू एक हुनुपर्ने आभाष भएको छ,’ उनले थाहाखबरसँग भने। 

माओवादी केन्द्रका नेता राम कार्की सामन्तवादलाई जरैदेखि परास्त गर्न पूर्वमाओवादी एउटै कित्तामा उभिनुपर्ने बताए। 

‘माओवादी एक हुनुपर्छ। सामन्तवादलाई जरैदेखि फाल्नुपर्छ। सामन्तवादको जरा छेदन गर्नुपर्छ। यो भनेको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा परिवर्तन ल्याउनुपर्छ। हामी एक जुट हुँदै गणतन्त्रको संस्कृति हावी हुनुपर्छ,’ उनले भने। 

नेता कार्कीले पूर्वमाओवादीहरूबीच पार्टी एकता गर्न संवाद सुरू भइसकेको बताए। उनले माओवादी आफ्ना मुद्दामा कमजोर भएर फुटको शृङ्खलामा केन्द्रीत भएकाले अराजक तत्वहरूले खेल्न खोजेको बताए। 

‘पार्टी एकताका लागि पूर्वसहकर्मी साथीहरूसँग छलफल सुरू भएको छ। अफ्ठ्यारोको बेला एक हुनुपर्छ। माओवादीले आफ्नो मुद्दाहरूमा साँध लगाउनुपर्ने। वैचारिक हतियारमा साँध लगाइरहुनपर्छ,’ उनले भने। 

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल परिवर्तन व्यवस्थापन गर्ने बेलामा नेताहरू छिन्नभिन्न भएको बताउँछन्। 

‘यत्रो ठूलो परिवर्तन व्यवस्थापन गर्ने बेलामा नेताहरू छुट्टिए। मुलुकलाई बाह्य शक्तिको क्रिडास्थलबाट बचाउनका लागि पूर्वमाओवादी मात्र होइन यसले अन्य लोकतान्त्रिक शक्तिहरूलाई एक बनाउने सन्देश दिएको छ,’ उनले भने। 

उपमहासचिव पोखरेलले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफूहरू नै चुकेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले बृहत शान्ति सम्झौताका बाँकी काम सम्पन्न गर्नेसमेत बताए। 

‘शान्ति प्रक्रियाको काम ढिला भएको सही हो। यसले सम्बन्धित पक्षलाई पार्ने असर स्वाभाविक हो। युगान्तकारी जग बसाल्न जनयुद्धलाई हेर्ने दुई वटा धार रहेका छन्।

जनयुद्धलाई इस्यु बनाएर  खेल्न खोज्ने तत्वहरू छन्। यो सरकारले शान्ति प्रक्रियाका काम पूरा गर्नेछ,’ पूर्वमन्त्रीसमेत रहेका  उपमहासचिव पोखरेलले भने।

यता, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना तीन वटा विषय कार्यान्वयन भए प्रचण्डसँग पार्टी एकता गर्न सकिने बताएको छ।

नेकपाका स्थायी कमिटी सदस्य अनिल शर्माले जनयुद्ध पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता सर्वोच्च अदालतको आदेशले महसुस गरे पनि प्रचण्डले आफ्ना माग मुद्दाबारे विचार गर्नुपर्ने बताए।

‘यी घटनाक्रमहरुले जनयुद्ध पक्षधरहरु एक ठाउँमा आउनुपर्छ भनेर आवश्यकता महसुस भएको छ। हामीले प्रचण्डलाई अहिलेको संसदीय व्यवस्थाका कारण राजनीतिक संकट देखा परेको बताएका छौँ,’ उनले भने, ‘हाम्रा ४९ जना कार्यकर्ताहरु अझै पनि जेलमा रहेका छन्। उनीहरुलाई निसर्त रिहाइ गर्नुपर्यो। उहाँले खुसुक्क विप्लव, वैद्य वा अरू कसैलाई भनेर हुँदैन।’  

माओवादी टुटफुटको शृङ्खला 

नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो संविधानसभा निर्वाचनमा देशको पहिलो पार्टीको रूपमा उदायो। उक्त निर्वाचनमा प्रतिनिधिसभामा ६०१ मध्ये २२९ सिट सुरक्षित गरे पनि त्यसपछि माओवादी निरन्तर ओरालो यात्रामा छ। 

मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अंगालेको नेकपा माओवादी केन्द्रले प्रचण्डपथका रूपमा केही समय अगाडि  बढाए पनि पछिल्लो समयमा पार्टी आफ्ना पथबाट विचलित भएको आरोप लाग्न थालेको छ । १० वर्षे जनयुद्ध सुरू गर्नु अगाडि नै माओवादमा टुटफुटको शृङ्खला सुरू भएको पाइन्छ।

जनयुद्ध जारी रहुञ्जेलसम्म यो क्रम चलिरहे पनि २०६५ पछि झनै बढेर गयो। प्रचण्डका ‘एस मेनहरूले नै उनलाई छोडेर हिँडे। 

०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा बादललगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे।

वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए। उनी २०७० मंसिरमा पार्टीबाट अलग भए। वैद्यको समूहबाट २०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा (माओवादी केन्द्र)छ ।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायतका नेताहरूले अलग्गै पार्टी बनाएपछि प्रचण्डको निकट मानिन्थे रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट। तर, उनीहरूले पनि साथ छोडेपछि प्रचण्डमा राजनीतिक विचलन आउन थालेको टिप्पणी हुन थालेको छ।

२०७४ असोज १९ गते एमालेसँग मिलेर बनेका नेपाल कम्युनिष्ट पार्टी गत वर्ष फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युताएपछि बादल र भट्टसहितका नेताहरूले एमाले रोजेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.