|

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनपछिका रिक्त स्थानमा एकैपटक उपनिर्वाचन गराउने तयारी गरेको छ। आयोगले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनसम्म रिक्त हुने स्थानमा एकैपटक उपनिर्वाचन गराउने तयारी गरेको हो। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त भएको चितवन–२ र रिक्त भएमा अरू क्षेत्रमा पनि १० वैशाखमा उपनिर्वाचन गराउने जानकारी दिए। 

यसैगरी, ३ चैतमा तय भएको उपराष्ट्रपति निर्वाचनमा सांसद उम्मेदवार भएर रिक्त रहेमा उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन हुने थपलियाले बताए । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रिक्त रहेको तनहुँ १ र चितवन २ मा उपनिर्वाचन गराउने गरी तयारी भइरहेको जानकारी दिए।

उनले उपराष्ट्रपतिको निर्वाचनमा रिक्त हुने स्थानमा पनि उपनिर्वाचन हुने बताए। मनाङबाट निर्वाचित टेकबहादुर गुरूङले भ्रष्टाचार गरेको प्रमाणित भएसँगै उनको सांसद पद निलम्बनमा छ। यद्यपि गुरूङ पुनरावेदनका लागि अदालत जान सक्ने भएकाले आयोगले कुनै निर्णय गरेको छैन। 

‘अहिलेसम्म चितवन–२ र तनहुँ १ मा मात्रै उपनिर्वाचन हुने टुंगो लागेको छ। उपराष्ट्रपतिको निर्वाचन पछाडि कहाँ–कहाँ निर्वाचन हुने टुंगो लाग्छ। मनाङको हकमा उहाँ(टेकबहादुर गुरूङ) पुरावेदन जाने हक छ। मनाङमा रिक्त रहेको जानकारी आयोगलाई छैन’, प्रवक्ता पौडेलले भने। 

रोचक बन्दै चितवन–२

चितवन–२ मा माघ १२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त स्थानमा पुनः निर्वाचन हुँदैछ। लामिछाने ४९ हजार ३०० मतसहित निर्वाचित भएका थिए।

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए।

सर्वोच्च अदालतले लामिछानेको नागरिकतामा त्रुटी रहेको भन्दै सांसद पद खारेज गरिदिएपछि श्रेष्ठ चितवन–२ मा आफू निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका थिए। उनी रविका निकटतम् प्रतिस्पर्धी थिए।

चितवन–२ मा रास्वपाबाट सभापति लामिछाने नै उम्मेदवार बन्ने भएका छन्। रास्वपाले औपचारिक निर्णय नगरे पनि लामिछाने निर्वाचन क्षेत्र केन्द्रित भइसकेका छन्। गत असारदेखि पत्रकारिता छाडेर सक्रिय राजनीतिमा आएका लामिछाने जनता माझ लोकप्रिय छन्। 

साथै चितवन–२ मा कांग्रेसले पुरानै उम्मेदवार ल्याउने तयारी गरेको छ।  चितवन–२ मा कांग्रेसबाट श्रेष्ठसहित जिल्ला सभापति राजेश्वर खनाल, पूर्वसभापति जितनारायण श्रेष्ठ र अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको नाम चर्चामा छ। सभापति देउवाका विश्वास पात्रको रूपमा चिनिएका श्रेष्ठले फेरि पनि टिकट हात पार्ने तयारीमा रहेको कांग्रेस स्रोत बताउँछ। 

‘निर्वाचनमा मनि र मसलको प्रयोग हुन्छ भनिन्छ। त्यही हिसाबले उमेश श्रेष्ठले नै टिकट हात पार्ने देखिन्छ। उनले नपाएको खण्डमा डा. स्वर्णिम वाग्लेको पनि चान्स छ,’ देउवा निकट एक नेताले थाहाखबरसँग भने, ‘रवि लामछानेलाई टक्कर दिनसक्ने नेतालाई उम्मेदवार बनाउने तयारीमा सभापतिज्यू हुनुहुन्छ।’ 

कांग्रेसका लागि जगन्नाथ पौडेल र दिनेश कोइराला तगारो बन्ने देखिएको छ। पौडेल र कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो। पौडेल गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए।

उनीहरूसँग कांग्रेसको असन्तुष्ट समूहको मत रहेको छ। श्रेष्ठ यसअघि नै टेस्ट भइसकेकाले वाग्लेलाई उठाउँदा विपक्षीको मत तान्न सकिने कांग्रेसका एक पक्षको आँकलन रहेको छ। 

यस्तै नेकपा एमालेले चितवनमा नयाँ अनुहारलाई स्थान दिने तयारी गरेको छ। चितवन २ बाट दुई पटक विजयी र एक पटक पराजित भएका कृष्णभक्त पोखरेल यसपटक चुनाव लड्ने मनस्थितिमा छैनन्। मंसिर ४ को निर्वाचनमा रवि लामिछानेसँग पराजित भएका पोखरेलले पुनः लड्न इच्छा नदेखाएको एमाले स्रोत बताउँछ। 

यसपटक एमालेबाट पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुँदैछन्। ​पोखरेलले आफू यसअघि दुई पटक निर्वाचित भइसकेकाले यसपटक पार्टीको निर्णय स्वीकार गर्ने बताए। 

‘मैले दुई पटक सोही क्षेत्रबाट जितिसकें। अब नयाँ साथीहरूलाई दिनुपर्छ भन्ने छ। पार्टीले जे निर्णय गर्छ मलाई स्वीकार्य छ,’ उनले भने। 

माओवादी केन्द्रबाट चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव द्रोणबाबू शिवाकोटी लगायतका नेताको नाम चर्चामा छ। गत मंसिर ४ गतेको निर्वाचनमा अधिकारी र शिवाकोटीको नाम सिफारिस भएको थियो। तर, केन्द्रमा गठबन्धनको भागबन्डा कांग्रेसले पाएपछि उनीहरू कसैले पनि टिकट पाएनन्। 

तनहुँमा को–को छन् दाबेदार ? 

गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भए। नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गर्दै पौडेलले २५ हजार तीन सय १८ मत ल्याए। पराजित मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए। 

यहाँ स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार चार सय ८३ मत ल्याए।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ १ मा कांग्रेसबाट को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्न सकेको छैन। यसअघि  जिल्ला कार्य समितिबाट सिफारिस केन्द्रीय सदस्य गोविन्द भट्टराईदेखि ध्रुव वाग्ले, रामचन्द्र पोखरेल र दीपक भट्टराई आकांक्षी रहेका छन्। 

नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग टिकटका लागि ‘लबिइङ’ गरिरहेका छन्। गत मंसिरमा पनि टिकटका लागि दाबेदार रहेका भट्टराई यसपटक टिकट पाउनेमा विश्वस्त छन्।

सभापति देउवासँगको भेटमा उनले टिकट पाउने आश्वासन पाएका छन्। तर, त्यसका लागि सभापति देउवाले सर्त राखेका छन्– ‘चुनाव जसरी पनि जित्नुपर्छ।’ कांग्रेसका अर्का केन्द्रीय सदस्य ध्रुव वाग्ले पनि एक पटक प्रत्यक्ष चुनाव लड्ने तरखरमा छन्।

तनहुँ कांग्रेसका पूर्वसभापतिसमेत रहेका वाग्ले पूर्वसंविधानसभा सदस्य पनि हुन्। अघिल्लो निर्वाचनमा उनी तनहुँ २ बाट सिफारिस भएका थिए। तर, टिकट पाएनन्।  

साथै नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई केन्द्रमा ‘लबइिङ’ गरिरहेका छन्। युवालाई स्थान दिनुपर्ने माग गरिरहेका उनले सभापति देउवासँग भेट गरेका थिए।  जिल्ला स्तरमा सक्रिय रूपमा राजनीति गरिरहेका रामचन्द्र पोखरेल पनि टिकटका लागि नेताहरूसँग आग्रह गरिरहेका छन्। 

तनहुँका पूर्व जिविस सभापतिसमेत रहेका पोखरेल ०४६ सालदेखि चुनाव लड्न खोजिरहेका नेता हुन्। तर, रामचन्द्र पौडेलले टिकट पाउँदा उनी सँधै छायाँमा पर्दै आइरहेका थिए।  

कांग्रेसले चितवन–२ सहित रिक्त रहेका स्थानबाट उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उम्मेदवारीका लागि पार्टी विधानको क, ख ग र घ बमोजिम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ।’ 

यता नेकपा एमालेबाट चार जना आकांक्षी देखिएका छन्। नेताहरू किरण गुरूङ, एकबहादुर राना, रामनारायण गुरूङ र सर्वेन्द्र खनाल आकांक्षी देखिएका हुन्। राना गत मंसिरको निर्वाचनसहित चार पटक पराजित भइसकेका छन्। यता काठमाडौं ६ बाट पराजित भएका खनाल आफ्नै गृह जिल्ला फर्किन चाहेका छन्।

‘चुनाव जित्ने गरी उम्मेदवार उठाउने हो भने सर्वेन्द्र खनालको सम्भावना छ। किनकि उहाँ अलिकति व्यक्तित्व भएको मानिस हो। गृह जिल्लामा उहाँको राम्रै प्रभाव छ,’ एमाले तनहुँका एक नेताले थाहाखबरसँग भने, ‘एकबहादुरजी चार पटक घाइते भइसक्नुभयो। उहाँको आकांक्षा भए पनि पार्टीले टिकट दिने सम्भावना कम छ। काठमाडौंमा घाइते हुनुभएका खनाललाई अध्यक्ष कमरेडले टिकट दिने सम्भावना छ।’ 

सर्वेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए। २६ औं प्रहरी महानिरीक्षक बनेका खनालले ०७६ फागुन १ गते राजीनामा दिएका थिए।

माओवादी केन्द्रबाट केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल, केन्द्रीय सदस्य ओमुकमारी पौडेल,भीमराज लामिछाने क्षितिजले आकांक्षा राखेका छन्। यसमध्ये ढकालको सम्भावना रहेको तनहुँ माओवादी केन्द्रका एक नेता बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.