|

विराटनगर : मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालक पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पक्राउ परेका तीनजना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालक विरुद्ध ठगी मुद्दा दायर गरेको थियो।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो। पक्राउ परेकाको हकमा अदालतले आदेश गरेको हो।

उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ),(ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा ९१० को देहाय (घ) तथा ९५० बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

६७ करोड बढी रहकम हिनामिना

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ। जसमध्ये मोरङ प्रहरीमा १ हजार ३०७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८  लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ।  अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।

शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ। मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करोडौंँ रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्त्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो। 

उनीद्वारा सञ्चालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ।

जग्गामा पनि लगानी

सहकारी अध्यक्ष  शर्माले निजी उद्योगदेखि जग्गामा समेत लगानी गरेको पाइएको छ। उदयपुर र झापामा उनको  नाममा ३६ हजार २०८.८७ वर्गमिटर अर्थात् पाँच बिघा ६ कठ्ठा जग्गा छ।

तीन हजार बढी सेवाग्राहीको बचत रकम हिनामिना

सहकारीका सञ्चालकले तीन हजार ६३ सेवाग्राहीको बचत  गरेको  रकम हिनामिना गरेको पाइएको छ। एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेका बचतकर्ताको आरोप छ। तुलसीको चार वटा शाखा रहेको छ। विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दा बढी सदस्य रहेको छ। विराटनगरमा एक हजार ९७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप गरेका छन्। हालसम्म उजरी दिनेमा  मोरङको मात्र  रहेको छ भने  झापा, सिराहा र गाई घाटको उजुरी दिन बाँकी छ।

 बाल बचतदेखि पेन्सन बचतसम्म बाँकी

सर्वसाधारणको रकम बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खातामा बचत भएको देखिएको प्रहरीले जनाएको छ।

संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी ब्या ज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा दिइएको थियो। सोही अनुसार आफू र परिवारका अन्य सदस्यको सुरक्षित भविष्यको आशामा बचतकर्ताले ठूलो रकम बचत गरेको जाहेरीमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.