|

सल्यान : जिल्लामा पक्की भवन, सिँचाइ कुलो, सडक, पुललगायत विकासका भौतिक संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।

धेरै वर्ष लगाएर पूरा हुन नसकेका योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन् तर विकासको नाममा भने नदी खोलानाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ। विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुंगा उत्खननले जिल्लाका नदी तथा खोलानाला सुक्खा बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ।

जिल्लाको शारदा, बबई, बनगाड‚ मर्मलगायत जिल्लाका अधिकांश खोलामा उत्खनन हुँदा बस्तीसमेत जोखिममा पर्न थालेका छन्।

विगतमा सहजै खेतीसम्म पुग्ने सिँचाई कुलाको मुहान अहिले धेरै अग्लो भइसकेको त्रिवेणी गाउँपालिका-३ धुक्काकी लक्ष्मी बोहराले बताइन्। सडक, घर, कुलो बनाउने भन्दै खोलामा भएको सबै बालुवा गिट्टी निकाल्दा शारदा आजभोलि नहरजस्तै बनेको उनको भनाई छ।

उनले भनिन्‚ ‘पहिले खेतमा कुलो सजिलै जान्थ्यो तर आजभोलि खोला तल छ कुलो माथि भइसक्यो।’

खोलानजिकै भए पनि खोलाको गहिराई बढ्दै जाँदा कुलोबाट पानी नआएर खेतमा सिँचाइ नै बन्द हुने अवस्थामा पुगेको अर्कां स्थानीय गिर्दल महतराको भनाई छ।

‘कहाँबाट उत्खनन गर्ने कहाँ नगर्ने भनेर मापदण्ड त होला तर जसलाई जहाँ मन लाग्यो त्यहीँबाट उत्खनन् हुँदै आइरहेको छ‚’ उनले भने‚ ‘पहिले शारदा नदीमा पानी धेरै थियो खोलामै डोजर हालेर बालुवा गिट्टी निकाल्न थालेपछि पानी जमिनमुनि पुगेको छ। ठूला ठूला माछा हुन्थे‚ आजभोलि माछादेखि लिएर पानीमा बस्ने केही पनि देख्न पाइँदैन।’

स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर बालुवा गिट्टी र ढुंगा उत्खनन गर्ने जिम्मेवारी ठेकेदारलाई दिँदा दोहन झनै बढेको कालिमाटी गाउँपालिका-४ का पुरुषोत्तम भट्टराईले बताए।

विकास निर्माणको नाममा बालुवा गिट्टी उत्खनन गर्न पाउने व्यवस्था भएपछि शारदा, बबईसहित अन्य खहरे खोलामा समेत दोहन बढेको उनको भनाई छ। दोहनले खोलाको गहिराई बढ्दा वर्षातको समयमा आउने भेलले खेतबारीमा क्षति पुर्‍याउनुका साथै नदी वारपार गर्न गाह्रो हुँदै आइरहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.