यी हुन् विद्यालय, कुन विषयमा कति फेल?

|

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी उपमहानगरपालिकामा कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ। उपमहानगरका १६ सामुदायिक र एक संस्थागत गरी १७ विद्यालयको नतिजा कमजोर आएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ। महाशाखाका अनुसार १७ विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन्। धनगढीमा जम्मा ६३ सामुदायिक विद्यालय छन्।

विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीको ग्रेड दिइने गरे पनि यसपटक कडाइका साथ परीक्षा सञ्चालन गरेपछि यहाँ कक्षा ८ को नतिजा अहिलेसम्मकै कमजोर देखिएको बताइएको छ।

यस्तै, परीक्षा सेन्टर र उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरू परिवर्तन गरिएपछि नतिजा खराब आएको दाबी गरिएको छ।

नतिजा निकै खराब आएपछि शिक्षकहरूले एकपटक फेरि मौका दिन उपमहानगरपालिकासमक्ष आग्रह गरेका छन्।  उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमध्ये २ हजार ३ सय ४१ ले गणित विषयमा ननग्रेड प्राप्त गरेका छन्।

उपमहानगरपालिकाले यसपटक आधारभूत तह अर्थात् कक्षा ८ को परीक्षा सञ्चालनका लागि विगतभन्दा फरक नियम बनाएको थियो। विगतमा विद्यालयले आन्तरिक मूल्यांकंनबाटै विद्यार्थीको नतिजा पठाउने गरेका थिए। तर, यसपटक उपमहानगर आफैंले कक्षा ८ को परीक्षा सञ्चालन गर्‍यो।

विद्यालयको नतिजा उल्टिएपछि शिक्षक ग्रेडवृद्धिका लागि माग गरिरहेका छन्। सोमबार धनगढीका नगरप्रमुख गोपाल हमाललाई भेटेर शिक्षकले विद्यालयलाई सच्चिने मौका दिन आग्रह गरेका हुन्। शिक्षा सुधारका लागि कक्षा ८ को परीक्षामा कडाइ गरेको उपमहानगरले जनाएको छ।

विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै उपमहानगरका मेयर हमालले दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताए। साथै शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकलाई अवलोकन भ्रमणदेखि क्षमता अभिवृद्धिलगायतका सुविधा प्रदान गर्ने पनि उनले बताए।

उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने तयारी पनि गरेको छ। वैशाख २९ र ३० गते सैद्धान्तिकतर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा हुने भएको हो। ननग्रेड भएका विद्यार्थीहरूलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन प्रति विद्यार्थी प्रति विषय २५० का दरले राजश्व शाखामा जम्मा गरि बैशाख १८ भित्र शिक्षा महाशाखामा विद्यार्थीको विवरण आइसक्नुपर्ने बताइएको छ। ग्रेड वृद्धि परीक्षाका लागि सबै विद्यालयलाई सूचना दिइएको छ।

यी हुन् १७ विद्यालयहरू

१) धनगढी उपमहानगरपालिकाको  वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालय

२) धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभूत विद्यालय

३) धनगढी वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर

४) धनगढी उपमहानगरपालिका  वडा नम्बर ६ मट्यारीमा रहेको भैरवबाबा आधाभूत विद्यालय

५) धनगढी–९ बंगराकटानमा रहेको सरस्वती आधारभूत विद्यालय

६) धनगढी– ७ देबहरीयामा रहेको शिव माध्यमिक विद्यालय

७) धनगढी–१७ पथरीमा रहेको भानु माध्यमिक विद्यालय

८)धनगढी–१६ दमौलीमा रहको सज्जन आधारभूत विद्यालय

९)धनगढी–१६ भादामा रहेको दिपेन्द्र चारपाते माध्यमिक विद्यालय

१०) धनगढी–१४ फूलबारीमा रहेको शिवशंकर आधारभूत विद्यालय

११)धनगढी– १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभूत विद्यालय

१२)धनगढी–१८ ‘एफ’ गाँउमा रहेको खप्तडी आधारभूत विद्यालय

१३)धनगढी–१८ ‘ई’ गाँउमा रहेको इन्द्रोदय आधारभूत विद्यालय

१४) धनगढी–१९ फूलबारीमा रहेको फूलबारी आधारभूत विद्यालय

१५) धनगढी–१२ जनकबस्तीमा रहेको नवदुर्गा आधारभूत विद्यालय

१६) धनगढी–१२ दुर्गाबस्तीमा रहेको दुर्गा आधारभूत विद्यालय

१७)धनगढी– १० जुगेडामा रहेको जनकल्याण माध्यमिक विद्यालय

यस्तै, एउटा निजी विद्यालयको नतिजा पनि सामुदायिक विद्यालयको जस्तै आएको छ। धनगढी–३ बोराडाँडीमा रहेको मोडर्न स्कुलको कुनै पनि विद्यार्थीले कक्षा ८ को परीक्षामा ९ कक्षामा भर्ना हुन आवश्यक पर्ने ग्रेड ल्याउन सकेका छैनन्।

कुन विषयमा कति फेल?

उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

समग्रमा ३३ प्रतिशत विद्यार्थी कक्षा ९ मा भर्ना हुन योग्य रहेकोमा सामुदायिक विद्यालयबाट भने केबल ९ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड प्राप्त गरेका छन्।

उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गणितपछि अंग्रेजीमा बढी विद्यार्थीले ननग्रेड ल्याएका छन्। अंग्रेजीमा १ हजार ६ सय ४ जनाको ननग्रेड आएको छ।

यस्तै, नेपालीमा १ हजार ६ सय २ जना, सामाजिकमा १ हजार ८ सय ३२ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा १ हजार १ सय ३२ जना, नैतिक शिक्षामा ४ सय ६८ जना, कम्प्युटरमा २ हजार १ सय ४ जना र पेशा व्यवसायमा १ हजार ६ सय विद्यार्थीको ननग्रेड आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.