|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेर आफ्नो वेबसाइटमा राखेको छ।

निर्देशिकामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन परे कुनै नेपाली नागरिक विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानुपर्ने भएमा नियमावलीको अनुसूची (४) बमोजिमको ढाँचामा स्वीकृतिको लागि मन्त्रालयमा निवेदन पेश गर्नु पर्नेछ।

विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकले त्यसरी अध्ययन गर्नु पूर्व उच्च शिक्षासँग सम्बन्धित भाषा अध्ययन (ल्याङ्वेज कोर्ष) वा पूर्वयोग्यता सम्बन्धी कार्यक्रम (प्रिरिक्विजिट कोर्स) वा सेतु कार्यक्रम (ब्रिज कोर्स) वा मेडिकल लाइसेन्स एक्जामिनेशन कोर्स (एमएलई) वा शिक्षण संस्थाले तोकिदिएको प्रवेश परीक्षा वा अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने भएमा सोको व्यहोरा खुलाई स्वीकृतिका लागि निवेदन दिनु पर्नेछ।

निवेदनसम्बन्धी व्यवस्था दफा ३ बमोजिम विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जानु पूर्व स्वीकृतिका लागि निवेदन दिँदा मन्त्रालयको अनलाइन निवेदन प्रणाली मार्फत प्रत्येक तह, तथा शिक्षण संस्थाका लागि अलग अलग फाराम भरी निवेदन दिनु निर्देशिकामा व्यवस्था छ। 

कक्षा-१२ वा सो सरह उत्तीर्ण गरी स्वीकृति पाइने 

निर्देशिकाअनुसार विद्यालय तहको शिक्षाको लागि विदेशी विद्यालयमा अध्ययन गर्न जानका लागि स्वीकृति दिइने छैन। कक्षा १२ वा सो सरह उत्तीर्ण गरी स्वीकृति पाइनेछ। 

‘कक्षा बाह्र वा सो सरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हुनुअघि स्वीकृति प्रदान गरिएका कार्यक्रमको लागि स्वीकृति प्रदान गर्न बाधा पर्ने छैन,’ निर्देशिकामा उल्लेख छ।

यसअघि ब्याचलर सकेर मात्रै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिने तयारी सरकारको थियो। यसको चौतर्फी विरोध भएको थियो।

तर कुनै कारण वा अवस्था परी सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास वा अन्य कुनै कूटनीतिक नियोग वा कुनै आधिकारिक निकायले कुनै मुलुक वा कुनै मुलुकको कुनै शिक्षण संस्थामा वैदेशिक अध्ययनको स्वीकृति प्रदान गर्न मनासिव नहुने भनी अनुरोध गरेमा मन्त्रालयले अवधि तोकि वा नतोकि त्यस्तो मुलुक वा शिक्षण संस्थाको हकमा स्वीकृतिपत्र जारी नगर्ने गरी निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था छ।

‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नेपाली नागरिक रोजगारी वा व्यवसाय वा अन्य कुनै कारणबाट विदेशमा रहिरहनुपर्ने भएको र निजले आफ्ना सन्तानलाई विदेशकै शिक्षण संस्थामा विद्यालय तहको कक्षामा भर्ना गर्नुपर्ने भएमा वैदेशिक मुद्राको सटहीको सुविधा नमाग्ने गरी विद्यालय तहको वैदेशिक अध्ययन स्वीकृति माग गरेमा र व्यहोरा मनासिव लागेमा मन्त्रालयले स्वीकृति दिन सक्नेछ,’ निर्देशिकामा उल्लेख छ।

स्वीकृतिको अवधि भने यस निर्देशिका बमोजिम जारी गरिएको स्वीकृतिपत्रको मान्य अवधि सो स्वीकृतिपत्रमा उल्लेखित शैक्षिक कार्यक्रम पूरा गर्न लाग्ने अवस्थासम्म मात्र  कायम रहने व्यवस्था छ।

विदेशी मुद्रा सटही व्यवस्था

सरकारले विदेशी मुद्रा सटही सुविधासम्बन्धी व्यवस्था पनि गरेको छ। निर्देशिकामा भनिएको छ, ‘राष्ट्र बैंकको निर्देशनका आधारमा विदेशी मुद्राको सटही सुविधा सम्बन्धित विद्यार्थीले पेस गरेको अनुमतिपत्रको विवरण, बैंकले अनलाइनमार्फत रूजु गरी सटही सुविधासम्बन्धी कार्य गर्नुपर्नेछ।’

तर स्वीकृतिपत्र प्राप्त गर्ने विद्यार्थी वा निजसँग सम्बन्धित व्यक्तिले विदेशी मुद्रा सटहीका क्रममा विदेशी मुद्रा सटहीसम्बन्धी प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित सबै प्रक्रियाको परिपालना गर्नुपर्नेछ।

सम्बन्धित बैंकले विदेशी मुद्रा सटही सुविधा दिएपछि कुन कुन शीर्षकमा के कति रकमको सटही सुविधा उपलब्ध गराएको हो सोको विवरण तथा सटही सुविधा लिएपछि सो सुविधा अनुसारको विदेशी मुद्रा फिर्ता गरेको भए सोको विवरण उपदफा ९४० बमोजिमको पोर्टलमा प्रविष्टि गर्नु पर्नेछ।

के गरे अध्ययन स्वीकृति हुन्छ रद्द ? 

निर्देशिकाअनुसार अनलाइनमार्फत निवेदन गर्दा झुट्टा वा कानून विपरीतका विवरण पेश गरी स्वीकृतिपत्र प्राप्त भएको ठहर भएमा स्वीकृतिपत्र रद्द हुनेछ।

‘विदेशी मुद्रा सटहीका क्रममा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित नियम तथा प्रक्रियाहरूको उल्लङ्घन गरेमा,स्वीकृतिपत्रमा उल्लिखित बाहेकको मुलुक वा शिक्षण संस्था वा सारभूत रुपमा फरक शैक्षिक कार्यक्रम अध्ययन गरेको पाइएमा स्वीकृति रद्द हुनेछ,’ निर्देशिकामा उल्लेख छ।

यस्तै, अध्ययनको लागि बाहेक अन्य कार्यको लागि स्वीकृतिको प्रयोग गरेको पाइएमा स्वीकृति पत्र रद्द हुनेछ। तर निर्देशिकाको उपदफा (१) बमोजिम स्वीकृतिपत्र रद्द गर्नु अघि मन्त्रालयले समितिको परामर्श लिन सक्ने व्यवस्था निर्देशिकामा छ।

उपदफा (१) बमोजिम रद्द भएका स्वीकृतिपत्र उपर कसैले रद्द हुनु नपर्ने भए जानकारी पाएको १५ दिनभित्र मन्त्रालयमा निवेदन गर्न सक्नेछ। उपदफा (४) बमोजिम निवेदन प्राप्त हुन आएमा मन्त्रालयले पूर्व निर्णयमा पुनरावलोकन गर्न सक्ने व्यवस्था छ।

पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा र रोजगारको अवसर नमिलेको र विदेशमा पढाइसँगै कमाइ गर्न सकिने भएकाले पनि विदेशिने विद्यार्थीहरूको संख्या बढ्दो छ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार अहिले दैनिक पाँच सयभन्दा बढीले एनओसी लिँदै आएका छन्। दैनिकजसो
राष्ट्रिय परीक्षा बोर्डअगाडि एनओसी लिनेकै ठूलो नै भीड हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.