|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ।

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको हो। फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब एक सय ५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो। खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम थापाले बताए।

मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाए लगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो। तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरी भत्काइएको थापाको भनाइ छ।

फिर्के खोला मिचेर त्यसको मापदण्डलाई समेत ख्याल नगरी निर्माण गरिएका सबै संरचनाहरू क्रमशः हटाउँदै जाने तयारीमा महानगरपालिका रहेको प्रमुख धनराज आचार्य बताउँछन्। फिर्के खोलाको संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उनले मापदण्ड विपरीतका कुनै पनि संरचनाहरू निर्माण नगर्न समेत आग्रह गरेका छन्। मापदण्ड वितरित निर्माण गरिएका संरचनाहरू भए आफैले हटाई खोलाको स्वतन्त्र बहावलाई अवरोध नगर्न भनिएको छ।

महानगरपालिका फिर्के खोलाको मापदण्ड पुनरावलोकन गरी नयाँ प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा पनि पोखरा महानगरपालिका छ। फिर्के खोलाको संरक्षण र सौन्दर्यीकरणका लागि पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएपछि नयाँ ढङ्गले अगाडि बढ्ने योजनामा महानगरपालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.