|

धनगढी : कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतबार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्।

अदालत स्रोतका अनुसार आजै उनको बयान पनि लिइएको छ तर आदेश भने हुन बाँकी छ। सम्भवतः सोमबार आदेश जारी हुनेछ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्रको २०७८ कात्तिक २३ गते राति हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी साँध्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भएको थियो।

त्यसपछि बडुवाल हत्याको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैद सजाय भुक्तान गरिरहेका छन्। 

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज दिपेन्द्र शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय दीपक भनिने निशान मल्ल, लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय मदन शाही, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का थिए। 

टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर, बर्दियाकै ठाकुरबाबा नगरपालिका–३ का सन्तोष भनिने सविनजंग शाही र टीकापुर-१ का २७ वर्षीय विकास शेरचनसहित पक्राउ परेका थिए। 

उनीहरुलाई सुर्खेत, अछाम, बर्दिया, काठमाडौं, नेपालगञ्जबाट पक्राउ गरेर कारागार चलान गरिएको थियो।

तर सो घटनाका मुख्य अभियुक्त लम्कीचुहा–३ का २७ वर्षीय नवीन रावल भने त्यो बेला फरार भएर भारतमा पसेको प्रहरीले बताएको थियो। उनै रावलले अहिले अदालतसमक्ष आत्मसमर्पण गरेका हुन्।

अन्य २६ वर्षीय अनोज भनिने चिरन्जीवी विक्रम शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह,  लम्कीचुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्कीचुहा–३ का ३८ को लोकजंग शाही, बर्दियाको गरुवा गाउँपालिका–५का २२ वर्षीय हेमन्त शाही गरी ८ जना भने हालसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। उनीहरु पनि भारतमा लुकेको हुनसक्ने प्रहरीको आशंका छ।

यसरी भएको थियो हत्या

प्रहरीका अनुसार बडुवालको हत्या हुनुमा दुई समूहबीचको झगडा कारण भएको पाइएको थियो।

त्यसबेला कैलालीको लम्की, चिसापानी क्षेत्रमा नदीजन्य पदार्थ र वनजन्य पैदावरको ठेक्का पट्टामा आफ्नो वर्चश्व जमाउन लोकजंग शाहीले विगत ३/४ वर्षदेखि युवाहरुको समूह बनाएर आपराधिक गतिविधि गर्दै आएको थियो। 

सुरुमा जयन्द्र शाह र नवीन रावल एउटै समूहमा रहेर गुण्डागर्दी गर्दै आएका थिए। उनीहरुबीच पछि विवाद भएपछि समूह छुट्टिएको थियो। एउटा समूहको नेतृत्वको नवीनले गरेका थिए भने अर्को समूहको जयन्द्रले।

​त्यसपछि दुई समूहबीच झैझगडा र आक्रमण सुरु हुन थालेको प्रहरीको भनाइ छ। यो समूहका सदस्यहरुविरुद्ध कैलालीमा मात्रै ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजानाको मुद्दा चलेको थियो।

बडुवालको हत्याको कारण भने गत भदौ १८ मा काठमाडौं कालिमाटीमा भएको खुकुरी प्रहारको बदला लिने क्रममा भएको अनुसन्धानबाट खुलेको थियो। 

कालिमाटी तरकारी बजार पछाडिको क्लब गल्लीमा जयन्द्र शाहको समूहले नवीन रावल समूहको हिमाल भनिने हेमराज शाहीलाई आक्रमण गरेको थियो।

शाहीमाथि खुकुरी आक्रमणको घटनापछि त्यसको बदला लिन जयन्द्र समूहका कपिल श्रेष्ठले नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजना बनाएर कात्तिकको १७ गते काठमाडौंबाट मोटरसाइकलमा कैलाली आएका थिए। 

कपिलको समूह २० गते लम्की पुगेर होटलमा एक रात बसेको देखिएको प्रहरीले जनाएको थियो। २१ र २२ गते अर्को एक होटलमा कोठा लिएर नवीनलाई आक्रमण गर्ने योजना उनीहरुले बनाएका थिए।

२३ गते नवीन रावलको समूह लम्कीमा भएको फुटबल खेल हेर्न आउने सूचना पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरेर आक्रमणको योजना बनाएका थिए। 

‘कपिलको समूह टिकापुरमा भएकाले तत्कालै लम्की पुग्न नसकेकाले त्यो योजना सफल भएन‚’ तत्कालीन कैलालीका एसपी विश्व अधिकारीले भनेका थिए, ‘पछि कपिलको समूहले खेल हेरेर डुढेझारी हुँदै टिकापुरतर्फ जान लागेको नवीनको समूहलाई आक्रमण गर्न हातहतियारसहित ढुकेर बसेको देखिन्छ।'

त्यसपछि नवीन रावल समूहको मदन शाहीलाई डुढेझारीको बाटो टीकापुर जाँदै गर्दा कपिलको समूहले भेटेर आक्रमण गर्न लखेट्दै गर्दा प्रहरी पुगेको थियो। त्यसपछि कपिलको समूह तितरबितर भएको थियो। कपिल भने एक्लै परेका थिए। 

मदन शाहीले कपिलको समूहको बाटो परिवर्तन गरेको भन्ने बुझेर नवीन रावललाई खबर गरी जयन्द्रको समूह हातहतियारसहित आक्रमणमा आएको भन्दै खबर गरेका थिए।

नयाँ टिकापुर क्षेत्रमा एक्लै रहेका कपिल श्रेष्ठले पहिल्यै चिनजान भएका लम्कीमा रहेका भुपेन्द्र बडुवाललाई (हाल मृतक) फोन गरेर ‘मलाई तुरुन्त मोटरसाइकलमा लिन आउनु’ भनेर बोलाएका थिए।

त्यसपछि भुपेन्द्र कपिललाई लिन टिकापुर गएका थिए। यता नवीनको समूह जयन्द्रको समूहका व्यक्तिलाई आक्रमण गर्न खोजीमा हिँडिरहेको थियो। 

भुपेन्द्रलाई मोटरसाइकलमा आउँदै गरेको देखेपछि जयन्द्रको समूहका व्यक्ति भन्दै नवीनको समूहले उनलाई लखेट्दै सिद्धार्थ होटल नजिक पुर्‍याएर नियन्त्रणमा लिन सफल भएका थिए।

राति ८ बजेर ५२ मिनेटमा बडुवालमाथि आक्रमण भएको सिसी टीभी फुटेजमा देखिएको थियो। बडुवालको पेट, छाती, टाउकोमा खुकुरी र चक्कु प्रहार गरी उक्त समूह फरार भएको थियो।

त्यसको ६ मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते बडुवाललाई टीकापुर अस्पताल पठाइएको थियो तर राति साढे ९ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.