पानी बन्द भएपछि यसरी गरिनेछ व्यवस्थापन

|
फाइल तस्बिर

काठमाडौं : मेलम्ची खानेपानी वर्षातको समयमा पनि काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले वर्षातको समयमा पानी ल्याउन अहिले थप बाढीले क्षति पुर्‍याएकाे संरचना निर्माण भइरहेको जनाएको छ।

विकास समितिले यसैकामको लागि भोलि (जेठ १) गतेदेखि अहिले आइरहेको मेलम्चीको पानी बन्द गर्दै छ। विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले यसपटकदेखि वर्षा याममा पनि पानी ल्याउन काम भइरहेको जानकारी दिए।

उनका अनुसार मेलम्ची नदीको पानी पथान्तरण गर्नु परेका कारण सुरूङकाे रेक्टिफिकेशनका कार्य एवं २०७८ सालको बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाहरूको निर्माण गर्न पानी बन्द गर्न लागिएको हो।

‘अस्थायी रूपमा ल्याएको पानी वर्षा याममा बन्द गर्ने गरेका छौँ, यस पटकदेखि भने वर्षा याममा पनि चलाउन केही उपाय निकाल्न सकिन्छ कि भन्ने हिसाबले मर्मत भइरहेको छ, त्यो भयो भने वर्षा याममा पनि सबै पानी आउँछ,’ उनले भने।

उनले अहिले वैकल्पिक रूपमा मात्रै पानी ल्याउने गरिएको बताए। ‘साढे २ सय मिटरको अहिलेको वैकल्पिक सुरूङ थियो, त्यहाँ पाइप जोडेर पानी हालेको हो,’ उनले भने, ‘हो यो वैकल्पिक सुरूङको १ नम्बर इनलेट र आउटलेट (मुख पुच्छर)मा संरचना बनाइरहेका छौँ, जस्तो १ नम्बरमा ढुंगा पस्न नदिन सुरक्षाको लागि र्‍याक राख्छौँ।’ उनले ९ नम्बरको आउटलेटमा भित्र ढुंगा, गिटी, बालुवा भरियो भने त्यसलाई पखाल्न सकिने संरचना बनाइरहेको जानकारी दिए।

‘यति काम भए वर्षामा पानी ल्याउन सजिलो हुन्छ, यी काम कन्टेक्टरले दुई हप्ताभित्रमा सकिन्छ भनेको छ, हामीले चाँडो गर्नु भनेका छौँ,’ उनले भने।

उनका अनुसार यो काम भएमा साधारण बाढी आए पनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छ। ‘अकल्पनीय परिणामको बाढी आयो भने त बन्द गर्ने अवस्था आउँछ,’ उनले भने। 

२ वर्षदेखि पानी ल्याउँदै, बन्द गर्दै 

सरकारले दिगो व्यवस्थापन गर्न नसक्दा मेलम्चीको पानी अहिलेसम्म हिउँदमा ल्याउने र पानी परेपछि बन्द गर्ने गरिँदै आएको छ। बहुचर्चित मेलम्ची खानेपानी आयोजना शुरू भएको २ दशकपछि उपत्यकाभित्र पहिलो पटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।

पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर, ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।

तर पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले २०७९ जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।

क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको हो। विकास समितिका अनुसार पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भइरहेको थियो। तर फेरि मर्मतकै लागि भोलि (सोमबार)बाट बन्द हुँदै छ पानी। 

मेलम्चीको पानी बन्दपछि यसरी गरिनेछ व्यवस्थापन 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता राईले मेलम्चीको पानी नआए पनि यही स्रोतका पानीलाई समानुपातिक ढंगले ग्राहकहरूलाई वितरण गर्ने जानकारी दिए।

‘भोलिदेखि मेलम्चीको पानी बन्द हुने भनेर पत्र पाएका छौँ,अब कसरी वितरण गर्नेबारे आज बैठक बस्दै छौँ,त्यही निर्णयअनुसार पानी वितरणको लागि सार्वजनिक सूचना जारी गर्छौं, समानुपातिक रूपमा वितरण गर्ने प्रयास गर्छौ,’उनले भने। 

उनका अनुसार उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। अहिले हिउँदको समयमा मेलम्ची पानी नआउँदा पनि यहीका स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर उत्पादन हुँदै आएको छ। यही पानी वितरण गरिने उनले बताए। केयुकेयलका २ लाख ३० हजारभन्दा बढी ग्राहक छन्। 

(याे पनि)


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.