|

काठमाडौं : काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। गेट नम्बर–९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको कुँवरको भनाइ छ।  यस्तै गेट नम्बर–१ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए। गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो।

ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.