|

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन्।

बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडि सारेको बताए।

उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरु मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँ–नयाँ प्रयोग गरेर जानुपर्ने बताए। उनले नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रुपमा बनाउनुपर्ने बताए।

उनले भने,  ‘आवश्यकता भएरै सरकारले यो विधेयकलाई अगाडि सारेको हो। यसलाई फिर्ता गर्नेतर्फ होइन। यसलाई परिमार्जन गरेर एउटा राम्रो विश्वविद्यालय कसरी निर्माण गर्न सकिन्छ, सञ्चालन गर्न सकिन्छ त्यो दिशामा हामी अग्रसर हौँ। औचित्यको हिसावले पनि यसलाई परिमार्जन गरेर राम्रो विश्वविद्यालय बनोस् भन्ने हो। हामीसँग १३ वटा विश्वविद्यालय छन् भन्ने सत्य हो। तर त्योभन्दा पृथक ढंगले, भिन्न ढंगले यो विश्वविद्यालय सञ्चालन गर्न यो विधेयक प्रश्तुत भएको अवस्था छ। अब नयाँ नयाँ प्रयोग गरेर जानुपर्छ।'

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले विधेयकलाई अगाडि बढाउनुपर्ने बताए। विधेयक कसले ल्यायोभन्दा पनि कस्तो ल्यायो भन्नेकुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठिक भएको खण्डमा अगाडी बढ्नुपर्ने बताए। उनले विधेयकको सम्बन्धमा पछाडि फर्किनु नहुने धारणा रारे।

उनले भने, ‘यो कसरी आयो? कुन क्षेत्रबाट आयो? कसले ल्यायो भन्नेकुरा महत्वपूर्ण होइन। ल्याएको कुरा कस्तो छ? त्यो महत्वपूर्ण कुरा हो। के नीजि क्षेत्रले ल्याएको रहेछ भनेर राम्रो छ भनेपनि त्यसलाई नमान्ने? त्यस्तो हुन सक्दैन होला। राज्यले ल्यायो, सरकारले ल्यायो भनेपनि त्यो नराम्रो छ भने हामी मान्छौँ र त्यसलाई? हामी मान्दैनौँ नि। यो कसले ल्यायो भन्नेतिर नजाऔँ। यो कस्तो छ भन्नेतिर जाऔँ। यो ठिक छ भने अगाडि बढौँ। ठिक छैन भने अगाडि नबढौँ भन्ने हो। तर यसमा मेरो कुरा पनि पछाडि फर्किने कुरा छैन। अगाडि बढ्ने कुरा हो।’

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय निर्माणमा सरकारको पनि संलग्नता आवश्यक रहेको बताए। निजी क्षेत्रले बनाउने भनेपनि सरकारको सहयोग र संलग्नता आवश्यक रहेको उनले बताए।

उनले नेपाल विश्वविद्यालयको संगठनात्मक संरचना र पाठ्यक्रममा हस्तक्षेप गर्नु नहुने बताए। नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नेपालमा धेरै विश्वविद्यालय आवश्यक नभएको बताए।

उनले त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउनुपर्ने बताए। उनले सम्भव भए नेपाल विश्वविद्यालय विधेयकलाई जहाँबाट आएको हो उतै पठाइदिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.