|

काठमाडौँ : सांसदहरूले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद् सचिवालयमा बुझाएका प्रश्न प्रतिनिधिसभा बैठकअगावै बाहिरिएकोमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन्।

बिहीवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार ३ दिनअगावै संघीय संसद् सचिवालयमा दर्ता भएका प्रश्नहरू बिहीवार बिहानै सञ्चारमाध्यममा प्रकाशित भएका थिए। प्रश्नहरू आउट भएकोमा सांसद पन्तले प्रतिनिधिसभा बैठकमै असन्तुष्टि जनाएका हुन्।

उनले प्रश्न कसले आउट गरेको भन्दै प्रश्न गरे। उनले संसद्‌भित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेष अधिकार सांसदहरूको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चारमाध्यममा आउनु अनुपयुक्त भएको बताए।

उनले भने,‘यो प्रश्न कसले आउट गर्‍यो? सांसदहरूको प्रश्न कसले आउट गर्‍यो? यो संसद्‌भित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो। सांसदले त्यो प्रश्न नसोध्दै ती प्रश्नहरू अखबार र सञ्चारमाध्यममा आउनु उपयुक्त हुँदैन। हाइस्कुलको प्रश्न आउट भए पनि, कलेजको प्रश्न आउट भए पनि, संसद्को प्रश्न आउट भए पनि त्यो राम्रो मानिदैन।’

उनले आगामी दिनमा यसरी प्रश्न आउट नगर्न ध्यानाकर्षण समेत गराए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.