|
फाइल तस्वीर ।

धनगढी : धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका शाह र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

आत्महत्या गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई समातिएको हो। उनीहरू अहिले प्रहरी थुनामा छन्। प्रहरीका अनुसार भट्टराई मृतक शाहसँग प्रेम सम्बन्धमा थिए।

मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवैजनाविरुद्ध किटानी जाहेरी दिएका थिए। उनका अनुसार घटनाबारे अनुसन्धान र सोधखोज जारी छ।

जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए। माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उनको मोबाइल प्रहरीले बरामद गरेको छ। मोबाइलमा घटना सम्बन्धीका प्रमाण रहेको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.