|

विराटनगर : मन्द हावा, रापिलो घाम विराट–बर्जु हाफ म्याराथनमा सहभागी खेलाडीलाई विराटनगरको मौसमले खुब साथ दिएको थियो।

आज (शनिवार) कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना साथै सर्वसाधारणले सहभागिता जनाएका थिए।

सधैं जस्तो हुँदो हो त बिहानदेखि लाग्ने घाम र सडकको तातो रापले दौडिनु त कुरै छोडौँ सवारीमा हिँड्न समेत सकस हुन्थ्यो। केही दिनदेखि बिहानको शीतल वातावरणले पनि होला खेलाडीहरूलाई मौसमले झनै हौसला बढाइरहेको जस्तो महसुस भएको थियो।

प्रतियोगितामा १०१ जना पुरुष सहभागी थिए भने २९ महिला सहभागी थिए। विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दै प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र रावत प्रथम भए। दोस्रो नेपाली सेनाकै सुशीलकुमार शाही भए भने तेस्रो बैतडीका मोहनदेव जोशी बने।

महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भइन्। सशस्त्र प्रहरीकी सीमा थारू चौधरी दोस्री भइन् भने नेपाली प्रहरीकी तिर्सना कुमाल तेस्री बनिन्।

बिहान करिब ६ः३० देखि सुरु भएको म्याराथन दौड प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीमध्ये धेरैको ध्यान दुई दिदिबहिनीतर्फ मोडिएको देखिन्थ्यो।

खेल सुरु भएदेखि आफूभन्दा ठूला उमेरकालाई उछिन्दै त कहिले पछि पार्दै दौडिएका उनीहरूको कुदाइको गतिमा कहीँ विश्राम लिने नाम लिएको देखिएन। जित्ने हुटहुटीसँगै उनीहरूलाई जसरी गन्तव्यसम्म पुग्नु जो थियो। यद्यपि उनीहरूले खेलमा विजय हासिल गर्न त सकेनन् तैपनि सबैको मन जित्न सफल भए।

उनीहरू हुन् भोजपुर रामप्रसाद राई गाउँपालिकाका ११ वर्षीया विनिता राई र १० वर्षीया जुही राई। खेलको अन्त्यसम्म सबैको नजरमा पर्न सफल विनिता र जुही दिदीभाइका छोरीहरू हुन्।

कक्षा ६ मा अध्ययनरत उनीहरू यसअघि पनि जिल्लामा हुने म्याराथन प्रतियोगितामा सहभागी भइसकेको उनको दाइ प्रशान्त राईले बताए।

प्रोत्साहन स्वरूप प्रदेश सरकारका तर्फबाट जनही ५-५ हजार पुरस्कार समेत प्राप्त गर्न सफल उनीहरू भोजपुरकी म्याराथन खेलाडी मिरा राईबाट प्रेरित भएको बताउँछन्। आफ्नो दाइका साथमा म्याराथन दौडमा भाग लिन आएको बताउने जुही गाउँघरमा भीरपाखामा दाइहरूले नै तालिम दिने गरेको बताइन्। उनी भन्छिन्, ‘मिरा दिदीलाई देखेर हामी पनि कुद्न थालेका हौँ नि, हाम्रा दाजुहरू पनि कुद्नु हुन्छ त।’

ठूला भएपछि धाविका बन्ने सपना देखेका दुई दिदीबहिनी पहाडको कुनाकन्दरामा आफ्ना सपना पछ्याइरहेका छन्। मध्ययम वर्गीय परिवारमा जन्मी हुर्किएका उनीहरू पहाडको खोँच, उकालो र ओरालोले नै विराटनगरको समथल शहरको रोडमा कुद्ने अवसर पनि मिलेको प्रशान्तले बहिनीहरूतर्फ देखाउँदै सुनाए।

‘पहाडमा यस्तो कार्यक्रम भएको भए त केही न केही पोजिसनमा आउने थियौँ। हामी खोँच, उकालो, ओरालोमा तालिम कुदेर अभ्यास गरेका हौँ’, उनले भने, ‘उनीहरूलाई अलिक गाह्रो भयो पिच रोडमा जुत्ता पनि तातिने रहेछ यसले खुट्टा तातिएर पनि गाह्रो भयो।’

आफ्नै व्यक्तिगत खर्चले प्रतियोगितामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँमा पुगेको बताउने उनी यस क्षेत्रलाई स्थानीय सरकारले पनि चासो दिए भोजपुरबाट थुप्रै सम्भावना बोकेको म्याराथन खेलाडी उत्पादन गर्न सकिने बताउँछन्।

प्रदेश सरकारले यो खालको खेल आयोजना गरेर पहाडमा बसेर खेलाडी बन्ने सपना बुन्नेहरूका लागि स्वर्णिम अवसर समेत रहेको उनले अनुभव सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.