|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका छन्। 

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूहरू भ्रष्टाचार विरुद्धमा रहेको बताउँदै निष्पक्ष छानबिन गर्न चुनौती दिएका हुन्। 

‘एमाले र केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्रै हुँदैन रहेछ, पार लाग्दैन। म गृहमन्त्री, परराष्ट्रमन्त्री र पटकपटक प्रधानमन्त्री भएँ। छानबिन होस्। हामी सँधै भ्रष्टाचारको विरुद्धमा छौं,’ उनले भने। 

अध्यक्ष अ‍ोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका छन्। उनले अहिले निर्दोष फसाउन प्रयास भइरहेको बताउँदै खबरदारी गरेका छन्। 

 ‘भ्रष्टाचारको छानबिन होस्। कोही पनि दोषी कोही पनि नछुटोस् । तर, अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने निर्दोष फसाउने। यस्ता प्रयास नगर्दा हुन्छ। भोलि यो कुरा अझ भयावह रूपमा निस्किन्छ। आगो छोप्न सकिन्छ धुवाँ छोप्न सकिन्छ सकिँदैन,’ उनले भने। 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँगको भेटमा नक्कली भुटानी शरणार्थीको विषयमा आफ्ना नेतालाई बचाउन नगएको स्पष्ट पारेका छन्। 

‘तीन नेताको भेटमा म मेरो मान्छे बचाइदेऊ, म्याउम्याउ गर्न भएको भन्ने ठानेका होलान्। केपी ओलीले अर्थोक गर्ला म्याउँम्याउँ गर्दैन। बाघ भोकै मर्छ घाँस खाँदैन,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.