|

काठमाडौँ : उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।

त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई पराजित  गरेको छ। शहीद स्मारक ए डिभिजन लिगका खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।

‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ। मच्छिन्द्र समान खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत् छ।

रोमाञ्चक र प्रतिस्पर्धात्मका बनेको खेलमा १७ औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले शुरुवाती अग्रता लिएको थियो तर ६० औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो। आर्मी लिगमा मच्छिन्द्रविरुद्ध अपराजित रह्यो। पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो।

लिगअन्तर्गत शनिवार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले जावलाखेल युथ क्लबमाथि २–० को सहज जित निकालेको हो। जितसँगै २२ खेलमा २९ अंक जोडेको छ। एपिएफ छैटौं स्थानमा उक्लिएको छ। पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा कायम छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक/एक गोल गरे।

सुरुआतबाट जावलाखेलविरुद्ध आक्रामक खेल देखाएको एपिएफले खेलको २३ औं मिनेटमा बिडोमको गोलमार्फत अग्रता लिएको थियो। बिडोमले शरणविक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए। पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए।

बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन। ८६ औं मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए।

मैदानभित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपिएफका कप्तान नवीन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए।

योसँगै एपिएफ लिगमा जावलाखेलविरुद्ध अपराजित रह्यो। यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.