|

काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्षी दलका सांसदलाई आग्रह गरेका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने पनि पटकपटक दोहोर्‍याए।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रमले आजको स्थितिलाई विश्लेषण गरेको छ। गन्तव्यलाई निर्धारण गरेको छ। त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेको हुनाले म आग्रह गर्न चाहन्छु– नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस संसदीय दल यो नीति तथा कार्यक्रमलाई स्वीकार र समर्थन गर्छ।’

प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणका साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए। उनले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढ्ने​​ स्वर्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको भन्दै ठट्टा गरे। लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारी समेत दिए।

उनले भने, ‘म त महाकाली नदी किनाराको मानिस। एकपटकको नीति, कार्यक्रम पढ्दै थिएँ। कञ्चनपुरबाट पानीजहाज चढेर डडेलधुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति मैले गरेँ। मलाई स्वर्गको अनुभूति जस्तो भयो। पानीजहाज पनि चानचुने होइन। नर्वेजिएन जस्तै होला भन्ने अनुमान गरेँ। हाम्रो वास्तविकता र यथार्थको धरातलमा झर्दा म झस्याङ्ग भएँ। त्यो महाकाली नदीमा म जस्ता मानिसहरु पानीजहाज चढेको होइन, जयसिंह धामी तुइनमा झुण्डिएर मरे।’

उनले भाषिक रूपमा लेखनमा केही फरक भए पनि आधारभूत रूपमा नीति र कार्यक्रममा धेरै फरक नहुने गरेको बताए। कोभिड‚ भूकम्प‚ आर्थिक मन्दी भएका वेला त्यो विषयले महत्त्व पाए पनि अघिपछि आधारभूत रूपले धेरै फरक नहुने उनको तर्क थियो। 

उनले कार्यान्वयन गर्नका लागि गरेका प्रयत्न, कार्यान्वयन अवस्था विचार गर्न आग्रह गरे।

उनले भने, ‘सभामुखको आसनको दाहिनेतर्फको छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ। सबै कुरा राम्रो देखिन्छ। सबै कुरा गजब हुन्छ तर समय, परिस्थिति, संयोगले त्यो कुर्सी २ मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ। यो मानसिकता र मनस्थितिबाट मुक्त हुन सकेनौं भने नीति तथा कार्यक्रमलाई जतिसुकै राम्रो निबन्धमा लेख्न सके पनि त्यो कार्यान्वयन हुन सक्दैन। हामीले धेरै कुरा गर्‍यौँ। नीति, कार्यक्रममा हामीले काठमाडौंमा एकै बटम थिचेर ५३ वटा अस्पताल खोल्यौं। आज कति नेपाली जनताले त्यो अस्पतालमा उपचार पाइरहेका छन्? कति भवन बने, कति मानिसले काम गरिरहेका छन्?’

प्रमुख सचेतक लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने, विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.