|

बैतडी : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।  यहाँका साघुँरा राजमार्गहरूमा जताततै खाल्टा–खुल्टीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको हो।

राजमार्ग बिस्तार तथा घुम्ती सुधारको नामले महिनौंसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका ७ का दीपेन्द्र कार्कीले  बताए। भिमदत्त,केआईसिंह,दशरथचन्द,महाकाली,जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन्।  यि राजमार्गमै यात्रुहरूले सास्ती भोग्नुपरेको छ।   उनले भने,'पक्की सडकमा जताततै खाल्टा–खुल्टी छन्, यात्रा गर्दा किनै सास्ती भोग्नुपरेको छ। मोटरसाइकल चलाउन त झनै समस्या छ।'

सडकहरूको दुरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकहरूले बताएका छन्। सडकमा भएका खाल्टा–खुल्टीका कारण जोखिम मोलेर सवारी साधन चलाउनु पर्ने अवस्था रहेको बस चालक महेश भण्डारीले बताए। साना तथा ठूला सवारी साधनहरूको चाप बढ्दा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको छ। उनले भने,'सडकमा जताततै खाल्टा–खुल्टी छन्। केही ठाउँमा सडक भत्केका पनि छन्। साँघुरा सडकमा खाल्टा–खुल्टी हुँदा साइड दिन पनि समस्या हुने गरेको छ।'

साँघुरा तथा खाल्टा–खुल्टी सडकले विपरित दिशाबाट आउने सवारी साधनलाई साइड दिन पनि समस्या हुने गरेको भण्डारीको भनाइ छ। साघुँरा सडक जताततै खाल्टा–खुल्टी तथा भत्किएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखिम बढेको छ। उनले भने,'साँघुरा सडक त्यसैमा जताततै खाल्टा–खुल्टी छन्। अरु गाडीलाई साइड दिन पनि समस्या हुन्छ।'

वर्षातको समय सुरू भएकाले यस्ता सडकले   झन दुर्घटनाको जोखिम बढाएको ट्रक चालक बलदेभ भट्टले बताए। उनले भने, 'पहाडको सडकमा लोड गाडी चलाउन धेरै अप्ठ्यारो छ। वर्षातको समयमा त झन समस्या हुन्छ। सवारी चाप र साँघुरो सडक, त्यसमा पनि खाल्टा–खुल्टी र भत्केको हुँदा दुर्घटनाको जोखिम छ। साइड दिन पनि अप्ठ्यारो छ। दैनिक जसो दुर्घटना भइरहेका हुन्छन्। खराब र साँघुरो सडकका कारणले हो।'

वर्षौं पहिले बनेका पहाडी राजमार्गहरूमा सवारी चाप उतिक्कै बढेका छन्। सरकारले वर्षातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटेफुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुँरा सडकलाई चौडा बनाउने योजना भने छैन।

वर्षातको समयमा आउने पहिरोका कारण अवरुद्ध सडकहरूलाई तुरुन्तै पहिरो पञ्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताए। उनले भने, 'वर्षातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ। सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ताहरू मर्मत गरिन्छ। तर आर्थिक अभावका कारण अहिले नै थप स्तरोन्नती गर्न सक्ने अवस्था छैन।'

सडकमा परेका खाल्टा–खुल्टी पुर्ने तथा बिग्रे भत्केका सडकको मर्मत गरिने भए पनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको प्रमुख लामिछानेको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.