|

काठमाडौं :  सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई परिचालन गरे बापत सरकारले ५७ करोड ९१ लाखभन्दा बढी रुपैयाँ तलब भुक्तानी गर्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उक्त रकम छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई दिनु पर्ने भएको हो।

सो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चरण निकासा दिइसकेको छ भने तेस्रो तथा अन्तिम निकासाको तयारीमा मन्त्रालय रहेको छ। मन्त्रालयले छात्रवृत्ति करारमा खटाएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ४६ करोड ३३ लाख ५९ हजार रुपैयाँ निकासा दिइसकेको छ भने थप २५ करोड ७० लाख ८० हजार रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालय पठाएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा केन्द्रीय अस्पतालमा खटिएका छात्रवृत्ति करारका चिकित्सकलाई पाँच करोड ८२ लाख १४ हजार रुपैयाँ, प्रदेशतर्फ १९ करोड एक हजार एक लाख रुपैयाँ र स्थानीय तहमा २२ लाख रुपैयाँ निकासा गरेको थियो। यो सबै रकम सरकारी  छात्रवृत्तिमा अध्ययन गरेर करारमा खटिएका चिकित्सक नर्स र स्वास्थ्यकर्मीका लागि निकासा गरेको मन्त्रालय स्रोतले जनाएको छ।

दोस्रो चरणमा संघीय अस्पतालमा खटिएकाको तलब भत्ताका लागि ७ करोड ९१ हजार रुपैयाँ, प्रदेशतर्फ खटिएकाका लागि १३ करोड ११ लाख ८९ हजार रुपैयाँ र स्थानीय तहमा खटिएका छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एक करोड १५ लाख ६४ हजार रुपैयाँ निकासा गरिएको थियो।

पहिलो र दोस्रो किस्ताबाट नपुगेको थप १२ करोड ५८ लाख १० हजार रुपैयाँ निकासा सहमतिका लागि अर्थमा प्रस्ताव पठाइएको स्वास्थ्य मन्त्रालय योजना महाशाखाले जनाएको छ, जसमा संघीय अस्पतालका लागि ८५ लाख ६१ हजार रुपैयाँ, प्रदेशका लागि ६ करोड ७८ लाख ३ हजार रुपैयाँ, स्थानीय तहका लागि ३ करोड २८ लाख ८१ हजार रुपैयाँ र स्वास्थ्य सेवा विभागअन्तर्गत ६० लाख रुपैयाँ, देवदह नगरपालिकालाई ४ लाख १५ हजार रुपैयाँ र केन्द्रीय कारागार अस्पतालका लागि एक लाख ५० हजार निकासा स्वीकृतिका लागि अर्थसँग माग गरेको योजना महाशाखाले जनाएको छ।

स्वास्थ्य सेवा तर्फ चिकित्सकसहित अन्य विभिन्न विधामा सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरूले सरकारले तोकेको क्षेत्रको स्वास्थ्य संस्थामा पुगेर दुई वर्ष सेवा गर्नु पर्ने प्रावधान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.