|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिणाम बिहीबार सार्वजनिक गरेको छ। जसअनुसार एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या गत सालको भन्दा बढेको छ।

एसइईमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अघिल्लो वर्षको एसइईमा ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए।

एसइईको परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूले बताएका छन्।

यद्यपि उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसइईको नतिजा सार्वजनिक गरेपछि विज्ञहरूले प्रारम्भिक विश्लेषणको प्रतिक्रिया दिँदै माथिल्लो ग्रेडमा केही वृद्धि भए पनि मध्यम ग्रेडमा धेरै विद्यार्थी रहेको देखिएकाले आगामी दिनमा पठपाठनमा सुधार्न सुझाएका छन्। शिक्षाविद् डा. मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना आवश्यक रहेको बताउँछन्। 

प्रकाशित नतिजाअनुसार स्तरीकृत अङ्क (जीपीए) २ देखि २.४० सम्म यो वर्ष सबैभन्दा धेरै एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१.०९ विद्यार्थी छन् भने जीपीए ३.२० देखि ३.६० अन्तरमा ५५ हजार ६९ अर्थात् ११.३६ प्रतिशत छन्। यी सबै स्तरीकृत अङ्कमा अघिल्लो वर्षको भन्दा नतिजा सुध्रिएको छ।

प्रयोगात्मक भएका अङ्ग्रेजी, नेपाली र विज्ञानमा विषयमा विद्यार्थीले झन् राम्रो नतिजा ल्याउन सफल भएका छन् भने प्रयोगात्मक नभएको गणितमा धेरै विद्यार्थी कमजोर रहेको नतिजामा देखिन्छ। 

‘शिक्षक र विद्यार्थीलाई प्रविधि र सिकाइसँग जोडे झनै नतिजा वृद्धि हुन्छ’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले परीक्षाफल सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताए। उनले आगामी दिनमा एउटा स्थानीय तह र अर्को स्थानीय तह तथा एक विद्यालय र अर्को विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक बालबालिकालाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने बताए।

काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’का डीन एवं शिक्षाविद् डा. बालचन्द्र लुइँटेलले कोभिडपछि शिक्षा सुधार्ने चिन्तनका साथ जसरी स्थानीय तह लागे, त्यसले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुन थालेको नतिजाले देखाएको बताउँछन्।

‘परीक्षा प्रणालीमा सुधार्ने र लापर्वाही नहुने कुराले पनि सकारात्मक प्रभाव पारेको छ। प्रश्नपत्र रचनात्मक हुनेतर्फ उन्मुख छ तर सुधारका प्रयत्न समानरूपमा भएको छैन भन्ने देखिन्छ’‚ उनले भने, ‘जान्ने समूहको विद्यार्थी अझ जान्ने भयो भने नजान्ने समूह नजान्ने नै छ। तल्ला ग्रेडमा रहेका विद्यार्थी, जो दुर्गमका वा सरकारी विद्यालयका पनि कमजोर छन्, उनीहरूको परीक्षाफल सुधार हुन नसकेको अनुमान गर्न सकिन्छ।’

उनले नतिजा र स्रोत साधनको अन्तरसम्बन्ध मिलेर शिक्षक दरबन्दी पर्याप्त भएका विद्यालयले तथा शिक्षा सुधारमा प्राथमिकता दिएका स्थानीय तहको समग्र नतिजा राम्रै देखिएको बताए। अर्का शिक्षाविद् डा. मीनबहादुर शाहीले पनि गत वर्षभन्दा योपटक एसइईको नतिजामा सुधार भएको र सुधार हुन पनि आवश्यक रहेको बताए।

उनले भने, ‘यो पटक नतिजामा सुधार भएको छ। यो सुधार हुन आवश्यक थियो। सुधार नभए कारणबारे प्रश्न खडा हुन्थ्यो, किनभने पहिला कोभिडले पठनपाठनमा असर पुग्यो। अवरुद्ध भयो, प्रत्यक्ष पढाइ भएन। यो वर्ष नियमित पढाइ भयो। कोरोनाले असर गरेन। त्यसैले यो तहमा आउनु अपरिहार्य थियो, स्वाभाविक छ।’

उनले एसइई नतिजामा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको बताए। ‘कर्णाली, सुदूरपश्चिम लगायत ठाउँतिर दयनीय छन्, यता पनि अझै सुधार गर्नुपर्छ। राज्यले पनि नीति परिवर्तन गर्नुपर्छ,सबै निकाय जिम्मेवार भई शिक्षण सिकाइमा सुधार आए झनै नतिजामा सुधार आउँछ’‚ उनले भने।

सरकारले निःशुल्क शिक्षा, स्वास्थ्य भने पनि पहुँचवालाको लागि मात्रै पाएको उनले बताउँदै अब हरेक विद्यालय त्यो तहको सहजीकरण गरी सुविधा दिनुपर्ने आवश्यक रहेको उनले बताए। 

नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरका बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मेहनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको छ।

उनले भनिन्, ‘कोभिडपछि भौतिक उपस्थितिमा विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थी उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ।’

यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सुधारोन्मुख नतिजाप्रति सन्तोष व्यक्त गर्दै कक्षाकोठाको सिकाइलाई केन्द्रित गर्दै परीक्षा प्रणालीलाई अझै सुधार्न आग्रह गरे।

प्रयोगात्मक नम्बरको बलको आधारमा मात्रै नभई सैद्धान्तिक ज्ञानबारे राम्रोसँग पढेमा मात्रै राम्रो नतिजा आउँछ भन्ने बुझाइ स्थापित गर्नेतिर लाग्नुपर्ने उनको जोड छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.