|

काठमाडौं : यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या एक हजार १९३ पुगेको छ। एक संक्रमितको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख डा.रुद्र मरासनीका अनुसार यो वर्ष अहिलेसम्म काठमाडौंमा ४६,ललितपुरमा १३ र भक्तपुरमा ३६ संक्रमित देखिएका छन्।

महाशाखाले सोमबार गरेको अन्तक्रियामा निर्देशक डा.मरासिनीले अघिल्लो वर्ष ५४ हजार ७८४ जनामा अस्पताल भर्ना भएको समेत जानकारी दिए । उनका अनुसार यो भर्ना भएका बिरामीको  संख्या हो। घरमै बसेर उपचार गर्ने र रिपोर्ट नभएका धेरै बिरामी भएको हुनसक्ने उनले बताए । ‘यो हाम्रो रिपोर्टिङ सिस्टममा देखिएका संक्रमित मात्र हुन्। रिपोर्ट नभएको यो भन्दा बढी हुन सक्छन्’, उनले भने, ‘डेंग' नियन्त्रणका लागि डेंगु बनाउने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान हाल सञ्चालन भइरहेको छ। हालसम्मको संक्रमणको अवस्थालाई हेर्दा यो वर्ष पनि संक्रमण बढ्ने जोखिम बढेको छ। त्यसैले सतर्क रहनु पर्ने अवस्था छ।महाशाखाको तथ्यांकअनुसार यस वर्ष ६५ वटै जिल्लाको २ सय ३१ स्थानीय पालिकामा डेंगीका बिरामी देखिएका छन् ।

यस्तै टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले डेंगी लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताए। कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने बताए । मानिसमा डेंगुको उपचार नहुने भ्रम रहेका कारण गम्भीर अवस्थामा पनि घरमै बस्ने चलन रहेको भन्दै उनले समस्या भए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव दिए । ‘डेंगुको उपचार छैन भन्ने भ्रम छ। डेंगुविरुद्धको औषधि मात्र नभएको हो’, उनले भने, ‘त्यसका लक्षणका आधारमा उपचार हुन्छ । यो भ्रम चिर्न आवश्यक छ।’

यस्तै डा. चालिसेका अनुसार नेपालमा हाल डेंगुका ४ वटा सम्म ‘सेरोटाइप्स’ सम्म पुष्टि भएको भए पनि १ र २ बाट धेरै संक्रमित भएको बताए। उनका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सले संक्रमण भयो भने गम्भीर असर देखाउने सम्भावना हुन्छ।

‘हाम्रोमा डेंगुको चारवटा सम्म सेरोटाइप्स पुष्टि भएको भए पनि सेरोटाइप्स १ र २ बाट धेरै संक्रमित भएका छन्’, डा. चालिसेले भने। ‘तर बुझ्नु पर्ने कुरा के छ भने एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सबाट संक्रमण भयो भने बिरामीलाई कडा लक्षण देखिन सक्छ। गत वर्ष हाम्रोमा उपचार गराएका एक संक्रमितलाई सेरोटाइप्स १ र ३ देखिएको थियो।‘

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले डेंगु नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला सबै निकायको सहकार्य आवश्यक रहेको बताए । विभिन्न मन्त्रालयबीचको समन्वय पनि आवश्यक रहेको उनको भनाइ छ। ‘यो हाम्रो व्यवहारसँग पनि जोडिएको कुरा हो,’ उनले भने, ‘सबै क्षेत्रको सहकार्य आवश्यक छ।’

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। त्याे वेला ५४ हजार ७८४ जनामा संक्रमण भएको थियो। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा पहिलोपटक डेंगु पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.