पर्वत : झन्डै ९० वर्ष अगाडि पत्ता लागेको ‘गुप्तेश्वर गुफा’ पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–४ मा पर्छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ। पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ।
नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका आकृतिहरू जस्तै देखिन्छन्।
वि.सं. १९९१ साल चैत ६ गते स्थानीय रणबहादुर कार्की लगायतका व्यक्तिहरूले गुफा पत्ता लगाएपछि यसको नाम ‘भालु दुलो’ रह्यो। गुफा एकान्त र खोँचमा गुप्त रहेकोले पछि ‘गुप्तेश्वर गुफा’ भनी बोलाउन थालियो। सत्ययुगमा भगवान शिव गुप्त रहेको स्थलको रूपमा मानेर पनि यसको नाम ‘गुप्तेश्वर महादेव गुफा’ नामकरण भयो। किंवदन्ती अनुसार महादेव र पार्वतीबिच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भनिएको भन्ने पनि छ।
हिन्दु धर्मग्रन्थ श्रीस्वास्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार परापूर्व कालमा कुशुमपुर र कुुशुम वाटिका (हालको कुश्माबजार) मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो। अत्यधिक मात्रामा फलफूल र कुश पाइने कुशुमपुरबाट फलफूल र कुश टिपेर हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पति पाउँ भनी पाङस्थित पार्वती गुफामा समेत तपस्या गरेको किंवदन्तीमा पाइन्छ।
सोही धार्मिक विश्वासका साथ महााशिवरात्री, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, राम नवमी अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमवारका दिन गुफामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। गुफा दर्शन गर्न जानेहरूको लागि गुफाभित्रै हिँड्नका लागि फलामे बाटो र विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ। पुर्खाहरूले गुफाको लम्बाई करिब पाँच किलोमिटर रहेको बताएको इतिहास सुन्नमा आएको भए पनि आफूहरू तीन घण्टामा करिब सात मिटर भित्रसम्म मात्रै पुगेको र त्यो भन्दा अगाडि जान कठिन भएको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव ईश्वरीप्रसाद आचार्य बताउँछन्।
तह तह परेर बनेको उक्त गुफाको करिब एक सय मिटर भित्रसम्म रहेको सुमेरु पर्वत र पञ्च पाण्डवको क्षेत्रसम्म विद्युत् जडान गरिएको छ। उक्त स्थानसम्म सहज रूपमै भित्र जान सकिन्छ। पञ्च पाण्डवको क्षेत्रमा गुफाको निकै सानो भएकाले सानो शरीर भएका व्यक्तिहरू घसारिएर मात्रै भित्र जान सक्छन्। उक्त स्थान पार गरेपछि भने फेरि फराकिलो बाटो रहेको त्यहाँ प्रवेश गरेकाहरू बताउँछन्। त्यहाँबाट छिर्न नै कठिन हुने र सामग्रीहरू लैजान पनि कठिन हुने भएकाले त्यसपछिको भागमा विद्युत् जडान नगरिएको हो।
वि.सं. २०१५ सालमा राजा महेन्द्रबाट उक्त गुफाको दर्शन गरेपछि गुप्तेश्वर गुफा लाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न थालिएको हो। कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पबाट केही मिटरको दूरीमा रहेको गुफाको आवश्यक प्रचारप्रसार हुन नसक्दा बाह्य पर्यटकहरू भने आकर्षित हुन सकिरहेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।