|

काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ अङ्कले वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव शून्य सात अङ्कले उकालो लागेर २ हजार १४४ दशमलव १६ मा पुगेको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ दशमलव ९५ अङ्कले उकालो लागेर ४०४ दशमलव १० पुगेको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज (सोमबार) १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।

कूल ७६ लाख ३४ हजार १९० कित्ता शेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ मा कारोबार भएको छ। जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४५५ बराबरको कारोबार भएको छ।

हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८९९, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७ करोड ७५ लाख १३ हजार ६७२, सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार २४८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार १६३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

अभियान लघुवित्त ९ दशमलव ८७, सिर्जनशील लघुवित्त ७ दशमलव ८० र मल्टिपर्पस लघुवित्तका लगानीकर्ताले ७ दशमलव ३२ प्रतिशतले कमाएका छन्।

कुमारी धनवृद्धि योजना ८ दशमलव ३७, सानीमा ग्रोथ फण्ड ७ दशमलब ५१, सानीमा लार्ज क्याप फण्ड ६ दशमलब २८, बैंक अफ काठमाडौंको ऋणपत्र ५ दशमलव ८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले ४ दशमलव ६३ प्रतिशतले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.