पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको मिलेको फाँट। धान होस् वा तरकारी वा कुनै हिउँदे बाली।
उत्पादन राम्रो हुने भएकाले कटुवाचौपारी क्षेत्रको बाँझो रहेको देख्न बिरलै पाइएला। धान उत्पादनको अब्बल फाँटको एक छेउ लाँक्रेको पुछारमा २० रोपनी क्षेत्रफलमा भने कागती र कुरिलो खेती फस्टाएको छ। धान रोप्न छाडेर १० वर्षदेखि कागती खेती हुँदै आएको बगैँचा देख्दा कसको मन नलोभिएला?
कटुवाचौपारीकै रामबहादुर पौडेल क्षेत्री उमेरले ७० वर्षका भए। लामो समय काठमाडौंमा बसेर व्यापार गरेका उनी ६० वर्षको उमेरमा काठमाडौँ छाडेर गाउँ फर्किए। अनि थाले कागती खेती। ७० वर्षको उमेरमा पनि युवाले जस्तै बगैँचामा खटिएर काम गर्ने रामबहादुरले काठमाडौं बस्ने क्रममा बोटानिस्ट डा.खेमराज भट्टराईसँग भेट भयो। बिरुवाको उपयोगिताका बारेमा धेरै कुरा सुनाएपछि डा. भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए।
पुर्खाले आर्जेको माटोमा आफै नङ्ग्राा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौको व्यवसाय छाडेर गाउँमा फर्किए। अनि शुरु गरे कागती खेती। २०७० सालमा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोपेका उनको बगैँचामा कागतीका करिब एक हजार बोट छन्। कागती खेतीले उनलाई राम्रो आम्दानी दियो। सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको फाटफुट रूपमा बिक्री भएको भए पनि पछिल्लो समय उनले २०७८ सालमा सबैभन्दा बढी ४० क्विन्टल कागती बेचेका थिए।
गत वर्ष भने असिनाले कागतीमा क्षति गरेको तर यो वर्ष भन्दा फल्ने र फुल्ने क्रम राम्रोसँग चलिरहेकोले कागतीको व्यापार राम्रो हुने विश्वासमा उनी छन्। आफ्नो बगैँचामा कुनै प्रकारको रासायनिक पदार्थ (विषादीमल) को प्रयोग नगरेको बताउने पौडेलले बोटबाट एउटा दाना कागती मात्रै झरेर कुहिएको देख्दा आफूलाई दुई हजार रुपैयाँसम्म घाटा हुन सक्ने तर्क गरे। भुईँमा झरेको कागतीको दाना उठाउँदै उनले भने, ‘यो एउटा गेडाको मूल्य दुई हजार रुपैयाँसम्म पर्छ भन्दा पत्याउनुहुन्न होला। यो दानामा ९–१० बिया छन्, तिनलाई उमारेर कागतीको बिरुवा तयार गर्दा करिब एक हजार ९०० सम्म आउँछ। यसको रस मात्रै बिक्री गर्दा नि पैसा छ।
काँचो रस बिक्री नभए पकाएर चुक बनाएर बेच्ने। यसको बोक्राबाट स्वादिलो क्यान्डी बन्छ। अनि म र मेरो परिवार बिहानदेखि बेलुकासम्म खटेको ज्यालाको लगानी जोड्दा करिब दुई हजार परेन त?’ उनले वर्ष मात्रै कागतीका तीन हजार ३०० बिरुवा बिक्री गरेका छन्।
कागती खेतीमा मात्रै रमाएका उनले २०७५ सालबाट कुरिलो खेती सुरु गरे। कागतीका बोटका बिचमा रोप्दा पनि हुने भए पछि उनले कुरिलोको लागि नयाँ जग्गा प्रयोग गर्नु परेन। एकै खेतमा दुई व्यवसाय। त्यो पनि एकै पटकमा। कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उनले त्यो बीउबाट पाँच हजार बिरुवा तयार भए। उनको बगैँचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्दै छन्।
कुरिलो बिक्री गरेर प्रत्येक छ महिनामा सन्तोषजनक आम्दानी भइरहेको बताए। शुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौँका कम्पनीहरूमा कुरिलोको जरा बिक्री गरेका उनले आजभोलि भने कुरिलोको टुसा घरबाटै बिक्री गर्दै आइरहेका छन्। जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकोले बगैँचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उनको भनाइ छ। पोखरा–काठमाडौँका बजारमा धेरै मूल्यमा टुसा बिक्री हुने गरेको भए पनि आफूले
प्रतिकिलो ६०० रुपैयाँका दरमा बिक्री गर्दै आइरहेको पौडेलले बताए। कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकोले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उनले बताए। गाउँको हरियाली वातावरण, कृषिमा गरिने मिहिनेत र ‘अर्ग्यानिक’ खानपानले आफूलाई ७० वर्षको उमेरमा पनि काम गर्ने शक्तिमा कुनै ह्रास नआएको उनले बताए। काममा श्रीमती र छोराले पनि सघाउँदा उनी दंग छन्।
नेपालीमा ‘बसेर खाने’ बानीको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले बाँझो रहेको हरेक जमिन र त्यो जमिनमा पसिना बगाएका पुर्खाहरूले श्राप दिँदै जाँदा कुनै दिन भोक मेट्न नसकेर त्यही माटो खानुपर्ने स्थिति आउन सक्ने तर्क गरे।
‘काम नगरी बसी बसी खानेहरूका कारण जग्गा बाँझो भएको छ। त्यही जग्गामा बा बाजेले पसिना चुहाएर हामी यत्तिकै भइयो तर अब हामीले पसिना चुहाउन छाडेपछि अबका सन्ततिले के खाने? के गर्ने? बसेर खान त कसैलाई पनि पुग्दैन’, पौडेल भन्छन्, ‘करिब ५०० किलोमिटर टाढाको बिर्तामोडबाट काठमाडौँमा तरकारी बेचेर त मान्छेले खाइरहेका छन् भने मैले कुश्माबाट सय किलोमिटर परको काठमाडौँमा कुरिलो र कागती पठाउन किन नसक्ने?’
पौडेलले हालै करिब ८० हजारको लगानीमा नौ ओटा मौरीका घारबाट मौरी पालन पनि सुरु गरेका छन्। कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि शुरु गरेको उनले बताए। मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेल बताउँछन्। आफू अब बूढो भएकाले आफू पछिको पुस्ताले पनि यही व्यवसायलाई निरन्तरता देओस् भन्नका लागि पनि संरचना तयार गरिरहेको बताउने उनले आफूलाई राज्यले केही कुराहरूमा सहयोग गरे सफलतापूर्वक कृषिलाई अघि पढाउने बताए।
उनको उत्पादनलाई जोगाउन हालै गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा १० लाख रुपैयाँको ‘कोल्ड स्टोर’ को योजना दिएपछि त्यसको निर्माण कार्य पनि पूरा भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।