|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। तेस्रो दिनमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ। बैठकमा नेताहरूले पार्टी रूपान्तरण, नेतृत्वप्रति असन्तुष्टि र विशेष महाधिवेशनसम्मको विषय उठान गरिरहेका छन्।

नेताहरूको टार्गेटमा पार्टी प्रमुखको हैसियतमा पुष्पकमल दाहाल प्रचण्ड परेका छन्। बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टीभित्र परिवारवाद हावी भएको भन्दै नेतृत्वको चर्को आलोचना गरिरहेका छन्।

पार्टी निरन्तर सरकारमा रहे पनि दिनानुदिन कमजोर बन्दै गइरहेको भन्दै प्रचण्डको आलोचना भएको हो। प्रचण्ड ३४ वर्षदेखि विभिन्न नाम फेर्दै माअ‍ोवादी हाँकिरहेका छन्। ०४६ सालमा योङ कम्युनिष्ट लिगको महामन्त्री भएका प्रचण्ड त्यसयता पार्टीको नेतृत्वमा निरन्तर छन्। 

१० वर्षे जनयुद्ध हुँदै बृहत शान्ति सम्झौता, गणतन्त्र स्थापना, संविधान निर्माण, संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको माओवादी अहिले पनि सत्तामा छ।

पार्टी सानो समूहमा हुँदा पनि प्रचण्डले देशको नेतृत्व हाँकिरहेका छन्। पार्टीलाई ध्वस्त बनाएको आरोप खेपिरहँदा पनि प्रचण्डले नेतृत्व छोड्ने साहस देखाउन सकेका छैनन्। 

माओवादीमा पार्टी रूपान्तरण र जनतामा जाने विषय उठ्नु नौलो भने होइन। अध्यक्ष प्रचण्ड नै ०७८ पुसमा भएको महाधिवेशनमा आफू जनतासँग जाने बताउँथे। तर उनै प्रचण्ड सत्ता लिप्सामा केन्द्रित हुने गरेका छन्। 

पार्टी सरकारमा, संगठन ध्वस्त

नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अर्थात ०६५ सालयता निरन्तर सत्तामा छ। माओवादी ०६४ सालको निर्वाचनमा सबैभन्दा बढी २२९ सिटसहित पहिलो दल बन्यो। ०६५ मा प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने।

जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये १५ वर्षको अवधिमा दुई नेता चार पटक प्रधानमन्त्रीसमेत बने। त्यसमध्ये प्रचण्ड सर्वाधिक तीन पटक प्रधानमन्त्री बने। गणतन्त्र स्थापना पछि सबैभन्दा धेरै प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो नम्बरमा आउँछन् तर पार्टीलाई तेस्रो स्थानमा खुम्च्याएका छन्।

दोस्रो संविधानसभा निर्वाचनमा माअ‍ोवादी तेस्रो दलमा खुम्चिएको थियो। प्रत्यक्षतर्फ २६ र समानुपातिकतर्फ ५४ सिट गरी कुल ८० सिट जितेको थियो। ०७४ को निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सहित ५२ सिट मात्रै ल्यायो।

गत मंसिरमा भएको निर्वाचनमा माओवादी झनै खुम्चियो। गठबन्धन गरेर चुनावमा होमिएको माओवादी प्रत्यक्षमा १८ सहित ३२ सिटमा सीमित भयो। संसदमा तेस्रो दल भए पनि माओवादीले संघ देखि प्रदेशसम्म सरकारको नेतृत्व गरिरहेको छ। 

यता, मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अँगालेको नेकपा माओवादी केन्द्रले प्रचण्डपथलाई केही समय अगाडि बढाए पनि पछिल्लो समय पार्टी आफ्नो पथबाट विचलित भएको आरोप लाग्न थालेको छ।

१० वर्षे जनयुद्ध सुरू गर्नु अगाडि नै माओवादमा टुटफुटको शृङ्खला सुरू भएको पाइन्छ। जनयुद्ध जारी रहुञ्जेलसम्म यो क्रम चलिरहे पनि २०६५ पछि झनै बढेर गयो। प्रचण्डका ‘यसम्यान’ हरूले नै उनलाई छोडेर हिँडे। 

०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा बादललगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे।

वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए। उनी २०७० मंसिरमा पार्टीबाट अलग भए। 

वैद्यको समूहबाट ०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादवको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः ०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा (माओवादी केन्द्र) छ।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायतका नेताहरूले अलग्गै पार्टी बनाएपछि प्रचण्डको निकट मानिन्थे रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट। तर उनीहरूले पनि साथ छोडेपछि प्रचण्डमा राजनीतिक विचलन आउन थालेको टिप्पणी हुन थालेको छ।

०७४ असोज १९ गते नेकपा एमालेसँग मिलेर बनेका नेपाल कम्युनिष्ट पार्टी ०७७ फागुनमा सर्वोच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बादल र भट्टसहितका नेताहरूले एमाले रोजे।

केन्द्रीय सदस्य लेखनाथ न्यौपाने संसदीय राजनीतिले पार्टीलाई सत्ताको स्वाद चखाएपछि पार्टी नेतृत्व ‘कुर्सी’ कै वरिपरि घुमाइरहेको बताउँछन्। उनले विधायिकामा रहेका नेताहरूलाई पार्टीको कार्यकारी भूमिकाबाट सहायकमा सार्नुपर्ने बताए।

‘संसदीय राजनीतिको नकारात्मक पक्ष सत्ता र शक्ति, सत्ताको स्वाद वरिपरि घुमाउने रहेछ। यहीबाट अविश्वास बाँड्ने लगायतका काम हुने रहेछ। केन्द्रमा बालुवाटार, सिंहरदरबार केन्द्रित छ भने पालिकामा जाँदा सदरमुकाममा केन्द्रित छ बाहिर जान सकेको छैन। एउटा पंक्ति चुनाव लडेर सत्ता सञ्चालनमा गएको छ भने बाँकी अर्को पंक्तिलाई त्यही प्रकृतिको कार्यविभाजन गरेर संगठनको जिम्मा दिने। विधायिकामा भएका साथीहरूलाई कार्यकारी भूमिकाबाट सहायक भूमिकामा सार्नुपर्छ भनेर केन्द्रीय समिति बैठकमा आवाज उठिरहेको छ,’ उनले भने।  

अस्तव्यस्त संगठन, निष्क्रिय नेतृत्व

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ वर्ष पूरा हुँदा पनि विभागहरूले पूर्णता पाउन सकेका छैनन्। ०७८ पुसमा भएको आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्ष निर्विरोध निर्वाचित भए। 

त्यसपछि लामो रस्साकस्सीपछि पदाधिकारीहरू मनोनीत भए। यद्यपि अझै पार्टीका विभागहरूले पूर्णता नपाउँदा यसको असर पार्टीका तल्ला कमिटीहरूमा परिरहेको छ। पार्टीको केन्द्रीय विभाग, विभिन्न आयोगदेखि भ्रातृ संगठनलाई समेत पूर्णता दिन नेतृत्वले चासो नदिएको आरोप लाग्ने गरेको छ। 

यता नेताहरूले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप बेलाबेला लाग्ने गरेको छ। सबैलाई केन्द्रीय कमिटी नै चाहिने तर तल्लो तहमा गएर काम नगर्ने परिपाटी रहेको भन्दै नेताहरुले नै नेतृत्वको आलोचना गर्ने गरेका छन्। माओवादीमा फिल्डमा नेता गए नगएको रेकर्ड राख्नै परिपाटी छैन।

‘यो हाम्रो संस्कृति हो। यसमा व्यक्ति विशेषको दोष म ठान्दिनँ। किनभने संगठनात्मक र कार्यसंस्कृतिले यसलाई नियन्त्रण गर्ने हो। एउटा केन्द्रीय समिति सदस्यले के काम गरिरहेको छ। फिल्डमा छ कि छैन कि राम्रो नराम्रो काममा छ कि उसले अपराध गरिरहेको छ कि। यसले पार्टीलाई कस्तो असर गरिरहेको छ। जनतासँगको सम्बन्धलाई कस्तो प्रभाव पारेको छ भन्ने विषयवस्तु व्यक्तिको विवेकले पन निर्धारण गर्ने हो तर त्योभन्दा आफ्ना कमिटीका मान्छेले के काम गरिरहेका छन् भनेर हेर्ने काम केन्द्रीय कार्यालयको हो। केन्द्रीय कार्यालय अनुशासित, व्यवस्थित नभइकन, अनुशासित र नैतिकवान नभइकन सदस्यहरूलाई मात्रै जिम्मेवार बनाउन सकिँदैन,’ माओवादीका एक केन्द्रीय सदस्यले भने।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही पनि अहिलेको विचारबाट पार्टी चल्न नसक्ने स्वीकार गर्छन्। 

‘पुरानो संगठन, विचारबाट पार्टी बन्दैन। अब नयाँ ढंगबाट पार्टी संगठित गरेर जानुपर्छ। नेताहरू कुनै बेला जनतामा गए त्यसलाई सम्मान गर्नुपर्छ। युद्धमा पनि युवा खटिएका थिए। उनीहरूका कारण युद्ध सम्भव भयो। अहिले हाम्रो त्यो जेनेरेशन छुट्यो। नातिले राजनीति गर्ने बेला भयो। अब हजुरबुवाले राजनीति छोड्नुपर्छ,’ उनले भने।

नेता शाहीले अहिले पार्टीमा युवालाई परिचालन गर्ने नीति नरहेको बताए।

‘भएका युवालाई परिचालन गर्ने नीति छैन। अब विधान सम्मेलन हुन्छ। त्यसले टुंगो लगाउँछ। तीन महिनाको अवधिमा जनतामा सुझाव लिन जान्छौं। त्यसपछि जनताको जनचाहना के हो त्यहीअनुसार हामी अघि बढ्छौं,’ उनले भने।

माओवादीमा २३ सदस्यीय पदाधिकारी र ४०७ सदस्यीय केन्द्रीय कमिटी छ। स्थायी कमिटी, वैकल्पिक केन्द्रीय सदस्य, सात प्रदेश संरचना पनि माओवादीमा छ।

३४ विभागमा संगठन, स्कुल, जलस्रोत तथा ऊर्जा, शहरी र स्वास्थ्य विभाग सक्रिय छन्। बाँकी विभाग राम्रोसँग चल्न सकेका छैनन्। पुस्तकालय तथा अभिलेख विभाग, नीति अनुसन्धान प्रतिष्ठान विभाग र उपभोक्ता हित तथा आपूर्ति विभागको जिम्मेवारीसमेत तोकिएको छैन।

माओवादी– जे भन्छ त्यो गर्दैन

अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनको उद्घाटन सत्रमा भनेका थिए‚ ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त? चिल्लो गाडी छोड्न सक्ला त? काठमाडौंको रमझम छोड्न सक्लान् त? भनेर पनि भन्ने गर्छन्। जरूरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन।’ 

तर उक्त महाधिवेशनपछि न प्रचण्ड जनतामा गए, न मजदुरसँग बसेर खाना नै खाए। त्यसपछि सत्ताको वरिपरि रहेका प्रचण्डले गत मंसिरको निर्वाचनपछि तेस्रो पटक प्रधानमन्त्रीको हैसियतमा सरकारको नेतृत्व सम्हालिरहेका छन्।

त्यसो भए माओवादीले भनेको कुरा किन पूरा गर्दैन त? हामीले नेता लेखनाथ न्यापानेलाई सोध्यौं।

उनले जवाफ दिए‚ ‘हामी जे भन्छौं त्यो गर्दैनौं। कार्यकर्ता पंक्तिमा ‘नेतृत्वले भन्ने हो कार्यान्वयन हुँदैन’ भन्ने अविश्वास सिर्जना भएको छ। हामी विचार र व्यवहारमा अभिव्यक्त हुँदैनौं भनेपछि जनतासँगको सम्बन्ध पूरै टुटेको छ। जब कार्यकर्ता विश्वासमा उठ्दैनन, जब जनतासँगको सम्बन्ध सुदृढ हुँदैन तबसम्म माओवादीको संगठन पनि सुदृढ हुँदैन, ठूलो पार्टी पनि हुँदैन। यसले अहिले जुन आकार ग्रहण गरिरहेको छ यो पनि कायम भइरहने अवस्था छैन।’ 

तर अहिले माओवादी नेताहरू जे बोल्छौं त्यो पूरा गर्नेगरी अघि बढेका छन्। केन्द्रीय कमिटी बैठकमा पनि अधिकांश नेताहरूले बोल्नका लागि बोल्ने भन्दा पनि काम गरेर जनमत बटुल्नुपर्ने र संगठनलाई चलायमान बनाउने बताइरहेका छन्। 

‘अहिले चैं हामी जे भन्छौं त्यो गर्नेगरी काम गरौं भनेर यसबारे छलफल चलेको छ,’ न्यौपानेले भने। 

यता अध्यक्षका कारण पनि पार्टीले हैरानी बेहोर्नु परेको नेताहरूले बताउने गरेका छन्। प्रधानमन्त्री प्रचण्ड खुमलटारस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसोबास गर्छन्। कालोसूचीमा परेका ठेकेदारको घरमा बस्दा पार्टीलाई नकारात्मक असर परिरहेको गुनासो नेताहरूले गरे पनि प्रचण्डले बेवास्ता गर्दै आइरहेका छन्।

‘ठेकेदार अधिकारी कालोसूची र बदनाम हुनुहुन्छ। यसले आम जनतालाई पिरोलेको पनि छ। हाम्रो अध्यक्ष सोही ठेकेदारले बनाएको घरमा बस्नुहुन्छ। जसका कारण अध्यक्ष र ठेकेदारको बारेमा टिप्पणी हुने गरेको छ। उक्त टिप्पणीले माअ‍ोवादी केन्द्रको बारेमा नकारात्मक असर गरेको छ,’ माओवादी नेता न्यौपाने भन्छन्। 

प्रचण्डले उक्त घर छोडें भनेको पनि ६ वर्ष भयो तर छोडेका छैनन्। जब शीर्ष तहले आफ्नो भनाई नै कार्यान्वयनमा लैजाँदैन भने पार्टीको तल्लो पंक्तिले कसरी मान्छन्? भन्ने कतिपय नेताहरूको बुझाइ छ।

‘शीर्ष तहबाट बोलेका कुरा पूरा हुँदैनन भने हाम्रा सुझाव र छलफलहरू औपचारिकतामा सीमित हुन्छन्। जसले संगठन कमजोर हुने र खुम्चने प्रक्रियामा प्रभाव पार्छ,’ उनले भने।  

उनले संगठन भनेको कार्यदिशाले तय गर्ने बताए। ‘हाम्रो कार्यदिशामा अलिकति समीक्षा हुनुपर्छ। त्यसपछि संगठनतर्फ जानुपर्छ। हामी निरन्तर क्रान्तिको सिद्धान्तमा छौं‚’ उनले भने‚ ‘स्थायी चिज परिवर्तन मात्रै हो। पार्टीको आवधिक विघटन र पुनःनिर्माण गरिरहनुपर्छ। पार्टीको पुरानो र नयाँ ढाँचामा उभ्याउने पार्टीको नवीकरणको सिद्धान्त हो।’ 

सम्भव छ माओवादीको कमब्याक? 

माओवादी केन्द्र ०६४ सालमा निर्वाचनबाट पाएको शक्ति फेरि फर्काउने कसरतमा छ। पार्टी अध्यक्ष स्वयंले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पूर्वमाओवादीहरू एक कित्तामा उभिनुपर्ने बताउने गरेका छन्।

त्यहीबमोजिम उनले समाजवादी मोर्चामार्फत नेत्रविक्रम चन्दलगायतका नेताहरूलाई पार्टीमा भित्र्याउने तयारी गरेका छन्। त्यसपछि प्रचण्डले ०६४ मा गुमाएको शक्ति फिर्ता ल्याउन बाहिरिएका नेताहरूलाई भित्र्याउने तरखर गरिरहेका छन्।

उनले आफूपछि पार्टी नेतृत्व हाँक्न सक्ने व्यक्ति नदेखेको बताउने गरेका छन्। सोहीअनुरूप प्रचण्डले विप्लवलाई भित्र्याउने तयारी गरिरहेका छन्। विप्लव पनि प्रचण्डसँग मिल्न तयार देखिएका छन्। पछिल्लो समय सरकारले चालेको भ्रष्टाचारविरोधी कदमलगायतका काममा विप्लवले साथ दिँदै आइरहेका छन्।  

माओवादी सचिव राम कार्की पार्टी पुरानै अवस्थामा फर्किनेमा विश्वस्त छैनन्। उनले सही बाटोमा नहिँडेकाले पुरानै अवस्थामा फर्किने वा नफर्किने भन्ने कुरा ज्योतिष शास्त्र जस्तो नहुने बताए। 

‘यो ज्योतिष शास्त्रको कुरा होइन। आक्रामक कार्यदिशा लिएर गणतन्त्र, संघीयताको कार्यान्वयन र समावेशीतालाई सुदृढ ढंगले कार्यान्वयन गरे बौरिन्छ नत्र पुराना ल्याए पनि सही बाटो नभएपछि फर्किन सम्भव देख्दिनँ,’ उनले भने। 

नेता शाही पार्टीलाई पुरानो विरासतमा फर्काउन युवालाई नेतृत्वको जिम्मा दिनुपर्ने बताउँछन्। 

‘पुरानो सोचले अहिलेको समयमा आवश्यकता धान्न सक्दैन। समाजवादको खाकाको कार्यान्वयनमा जानुपर्छ। पहिलो अध्याय अधिकारको लागि गरिएको संघर्षमा सफल भयौं। अब अहिले विकास, समृद्धि र सुशासन चाहिएको छ। यो कसरी सम्भव छ? आर्थिक विकास, समृद्धिका विषयमा बहस गर्नुपर्छ,’ उनले भने। 

केन्द्रीय सदस्य न्यौपाने पनि सैद्धान्तिक विषयवस्तुहरूमा खोज अनुसन्धान गरेर केही नयाँ विषयवस्तु निकाल्नुपर्ने बताउँछन्।

‘केही सैद्धान्तिक विषयवस्तुहरूले नेपालका कम्युनिष्ट आन्दोलनहरूलाई एक हदको नकारात्मक र रक्षात्मक परिस्थितिमा पुर्‍याएको हुनाले त्यो वैचारिक सैद्धान्तिक विषयवस्तुको बारेमा विकास नगरेसम्म हामी विकसित हुन्छौं भन्न सकिँदैन। अथवा यसलाई छोडेर व्यवहारमा सच्चिने हो भने आकार वृद्धिको हिसाबले अगाडि बढ्ने सम्भावना छ। तर व्यवहार मात्रै हामीले सुदृढ गर्न खोजियो र व्यावहारिक वैचारिक विषयवस्तुमा योगदान गर्न खोजिएन भने माओवादी संगठनको आयु धेरै लामो हुँदैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.