|

काठमाडौं : नेपाली कांग्रेस नेपालको पुरानो र जेठो राजनीतिक पार्टी हो। कांग्रेस जति पुरानो छ, उति नै यसभित्र विवाद र समस्या छन्। 

कांग्रेसमा पछिल्लो समय बढ्दो गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै गइरहेको छ। हुन त गुटबन्दी कांग्रेसमा मात्रै भएको होइन। पुराना र ठूला दल भनिएका एमाले र माओवादीदेखि साना र नयाँ भनिएको राप्रपा, रास्वपा, जसपा र नेसपा जस्ता पार्टीमा पनि गुट उपगुट रहेका छन्। 

कांग्रेसबाहेक अन्य दलभित्रको गुट पार्टीभित्रै सीमित हुन्छ। पार्टीभित्र जतिसुकै गुट उपगुटको समस्या रहे पनि उनीहरु बाहिर साझा धारणा बनाएर निस्किन्छन्। तर कांग्रेसमा भने त्यस्तो हुन सकेको छैन। 

कांग्रेसभित्रका गुट र अन्तरकलह भने पार्टी बाहिर सार्वजनिक सरोकारका विषयवस्तुमा पनि छताछुल्ल हुने गरेका छन्। गुटकै समस्याका कारण कांग्रेसका नेताहरु समसामयिक जनचासोको विषयमा समेत एक मत हुन सक्दैनन्।

एउटाको विचारलाई अर्कोले स्वीकार्न नसक्दा कांग्रेस नेताहरुबाट पार्टीभित्र, पार्टीबाहिर, सत्ता गठबन्धनमा र संसदमै पनि फरक–फरक धारणा आउने गर्छ। 

एक वर्षपछि यही साउन २ गतेदेखि १० गतेसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरुले गुट अन्त्य गरेर पार्टीभित्र एकता कायम गर्नुपर्ने जोडदार माग राखेका थिए। 

बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशरण महत, मोहन बस्नेत, डा. शेखर कोइरालालगायत नेताहरुले पार्टीभित्रको गुट उपगुट अन्त्य गर्नुपर्ने बताएका थिए। गुट अन्त्य गर्नुपर्ने माग बैठकमा राख्ने उनीहरु नै आफैँ गुट उपगुटको नेतृत्व गरिरहेका छन्। 

गुट–उपगुटको जालोमा कांग्रेस

​कांग्रेसमा रहेका विभिन्न गुटभित्र समेत उपगुटको जालो फैलिएको छ। एकको मुनि अर्को रहेर गुट–उपगुट चलाइरहेका छन्। 

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आ-आफ्नै गुट देखिन्छन्। पछिल्लो समय पार्टीका महामन्त्री गगनकुमार थापा पनि छुट्टै गुटका रुपमा देखिइरहेका छन्। 

देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटको संख्या मनग्गे छ। सभापति देउवा नेतृत्वमा रहेको संस्थापनको मूल गुटभित्र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको एउटा समूह सक्रिय छ। 

साथै सभापति देउवा पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा, पार्टी प्रवक्ता प्रकाशरण महतसहित नेताहरू रहेको अर्को समूह पनि त्यहाँ सक्रिय छ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता बालकृष्ण खाँण पार्टीमा आफ्नो छुट्टै पहिचान र समूह बनाउन सक्रिय थिए तर उनी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।

नेता शेखर कोइरालाको नेतृत्वमा संस्थापन इतरका नेताहरू पार्टीको १४औं महाधिवेशनमा गोलबद्ध भएका थिए। शेखर सभापतिमा पराजित भए पनि उनको समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा तथा सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार निर्वाचित भएका थिए। 

महाधिवेशन र त्यसयता नै महामन्त्री थापा आफ्नो छुट्टै समूह बनाउन सक्रिय छन्। बाहिरबाट हेर्दा संस्थापन इतर समूह शेखर नेतृत्वमा गोलबद्ध रहेजस्तो देखिए पनि थापाले अलग अभ्यास गर्दै आएका छन्।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेतालाई गोलबद्ध गरेर थापा अघि बढ्ने प्रयासमा छन्। पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा शर्मा र प्रदीप पौडेललाई पनि साथ लिएर संसदीय दलको नेतामा थापाले उम्मेदवारी दिएका थिए। 

पार्टीभन्दा व्यक्ति हावी

​कांग्रेसमा पार्टीभन्दा व्यक्ति हावी भएको कुरा कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै बताउँदै आएका छन्। कांग्रेसमा पार्टीको समूहगत छलफल, धारणा र निर्णयभन्दा व्यक्तिगत धारणा बढी मात्रामा बाहिर आउँछन्। 

कांग्रेस सभापति देउवाले नै पार्टीमा कसैसँग छलफल नगरि एक्लै मनोमानी रुपमा निर्णयहरु गर्ने गरेको आरोप संस्थापन इतर पक्षले लगाउँदै आएको छ। गुटबन्दीले कांग्रेसमा कतिसम्म असर पारेको छ भन्ने उदाहरण पार्टीका दुई नेता पक्राउ प्रकरणले प्रष्ट देखाउँछ। 

नेपाली कांग्रेसको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिन गएको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न उठेको थियो।

आफ्नै पार्टीका नेता पक्राउ परेपछि इतर पक्षका नेताहरुले नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका थिए। पार्टी सभापति देउवानिकट रहेका खाँण पक्राउ परेपछि संस्थापन पक्ष पार्टीभित्र मात्र नभएर सार्वजनिक रुपमै उनको बचाउमा उत्रिएका थिए तर इतर पक्ष खाँणको विपक्षमा उत्रिएको थियो। 

गत बिहीबार कांग्रेस सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका थिए। शेखर कोइराला प्यानलका शर्मा पक्राउ पर्दा इतर पक्षले उनलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै विरोध गरेको थियो।

उनीहरुमध्ये केहीले सरकारले माफी नमागे सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिनुपर्नेसम्मको अभिव्यक्ति दिएका थिए। 

तर पार्टीको सांसद पक्राउ पर्दासम्म संस्थापन पक्ष भने मौन थियो। संसदीय दलको बैठकमा पनि संस्थापन पक्षले पार्टीको सांसद पक्राउबारे अनभिज्ञता प्रकट गरेको थियो।

यी दुई घटनाक्रमले पनि कांग्रेसमा पार्टीभन्दा माथि गुट र व्यक्ति हावी भएको स्पष्ट देखिन्छ। पार्टीकै नेता पक्राउ पर्दा पनि कांग्रेसमा गुट हेरेर मात्रै समर्थन वा विरोध गर्ने प्रवृत्ति परम्पराजस्तै भएको छ।

गुटकै कारण बन्दैन समान धारणा

‘पार्टीको नेतृत्व लिने बेलामा पार्टीभित्र फरक समूह र गुट बनेको हुन्छ तर अधिवेशनपश्चात त्यस्तो गुट अन्त्य गरेर पार्टी एउटै सूत्रमा बाँधिनुपर्छ’, कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए। 

पार्टी बैठकमा कोइरालाले गुट अन्त्य गर्नुपर्ने बताए पनि विशेषगरि सभापति शेरबहादुर देउवा, कोइराला र महामन्त्री गगन थापा गरि कांग्रेसमा मुख्य ३ वटा गुट देखिएका छन्।

प्रायः पार्टीभित्र होस् या बाहिर उनीहरुको ३ समूहको छुट्टाछुट्टै धारणा सार्वजनिक भइरहेको हुन्छ। एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा कुनै विषयमा पार्टीले समान धारणासमेत बनाउन नसक्ने गरेको पार्टीकै नेताहरु बताउँछन्। 

सुन प्रकरणमा पनि कांग्रेस दुई धारमा विभाजित बनेको छ। क्विन्टल सुन प्रकरणमा तस्करसँग राजनीतिक शीर्षस्थ नेताहरूको संलग्नताबारे खुलासा गर्दासमेत अनुसन्धान नबढाइएको भन्दै कांग्रेसभित्रकै एक समूहले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी छानबिन गर्नुपर्ने माग गरेको छ भने अर्को पक्ष यसबारेमा केही बोल्न चाहँदैन। 

कांग्रेस नेता शेखर कोइरालाले आइतबारको संसदीय दलको बैठकमा सबै सुन तस्करीका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको प्रस्ताव गरे। उनले प्रस्ताव गर्दा उच्चस्तरीय समिति भने पनि जाँचबुझ ऐन २०२६ अन्तर्गतको अधिकार सम्पन्न समिति हुनुपर्छ भन्ने आफ्नो माग रहेको बताए। 

नेता प्रदीप पौडेल र अर्जुननरसिंह केसीले सर्वोच्च अदालतको बहालवाला न्यायाधीशकै नेतृत्वमा स्वतन्त्र, निष्पक्ष र न्यायिक आयोग गठन हुनुपर्ने माग गरे। तर सोमबार पार्टीको संसदीय दलको बैठकले सुन प्रकरणको अनुसन्धान सरकारी संयन्त्रबाटै अर्थात सिआइबीले नै गर्नुपर्ने निर्णय गर्‍यो। 

बैठकपछि सांसद प्रदीप पौडेलले आफूलगायत सांसदहरुले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सुनुवाई नभएको बताए। 

कहिले होला गुटको अन्त्य?

कांग्रेस केन्द्रीय सदस्य भूपेन्द्रजंग शाही गुटका कारण पार्टीको धारणा र निर्णयमा भ्रम छर्ने गरि फरक फरक कुरा बाहिर आउन नहुने बताउँछन्। 

‘कांग्रेस लोकतान्त्रिक पार्टी हो। यहाँ बोल्नलाई कसैलाई केही रोकावट हुँदैन तर पार्टीभित्रका गुटका कारण पार्टीका निर्णय र धारणा नै ४ समूहबाट ४ थरी आउन चाहिँ हुँदैन’, उनले भने।

शाहीले कांग्रेसमा गुटको अन्त्य गर्न कठिन भएको बताए। उनले पार्टीको नेतृत्वले नै एउटा गुटको मात्रै नेतृत्व गरिरहेको भन्दै पार्टी नेतृत्व तयार नभएसम्म गुट अन्त्य नहुने बताए। 

कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गुट कहिल्यै अन्त्य गर्न नसकिने बताए। उनले गुट अन्त्य गर्न नसकिने तर गुटको प्रभावलाई कमजोर बनाउन सकिने भएकाले कांग्रेस त्यसैतर्फ लागेको दावी गरे। 

‘हामी अहिले आन्तरिक छलफलमा नै छौँ। गुटको अन्त्य गर्न सकिँदैन तर यसको प्रभाव कमजोर बनाउँदै लैजान सकिन्छ। अहिले हामी त्यहीअनुसार साथीहरुसँग छलफल गरिरहेका छौँ’, उनले भने। 

विश्वकर्माले गुट अन्त्यको लागि एमालेबाट केपी ओलीले माधव नेपाल र अन्य केही नेतालाई निकालेको भन्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले त्यस्तो नगर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.