|

काठमाडौं : टाइप २ मधुमेहले विश्वभर करिब ५३ करोड मानिस प्रभावित भएका छन्। यही अनुपातमा बढ्दै गए मधुमेहका बिरामी सन् २०५० सम्म १ अर्ब ३ करोड पुग्ने सम्भावना रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

मधुमेह आफैंमा गम्भीर रोग हुनुका साथै यसले अन्य समस्या पनि निम्त्याउन सक्छ।

भर्खरै सार्वजनिक एक अध्ययनले टाइप २ मधुमेह भएका महिलामा गर्भाशयमा क्यान्सरको जोखिम बढाउन सक्ने देखाएको छ। यस्तो क्यान्सरलाई इन्डोमेट्रियल क्यान्सर भनिन्छ। सन् २०२२ मा मात्र अमेरिकामा ६६,००० भन्दा बढी महिलामा यो क्यान्सर फेला परेको छ। 

इन्डोमेट्रियल क्यान्सरको जोखिम

बेलायती वैज्ञानिकहरूले गरेको अध्ययनले टाइप २ मधुमेह भएका महिलालाई इन्डोमेट्रियल क्यान्सरबाट मृत्युको जोखिम १.५ प्रतिशतभन्दा बढी हुने देखाएको छ। अन्वेषकहरूले टाइप २ मधुमेह भएका महिलाहरूलाई इन्डोमेट्रियल क्यान्सर भएका अन्य बिरामीको तुलनामा यो अवस्थाको विकासको उच्च जोखिम रहेको अन्वेषकहरूले पत्ता लगाएका थिए।

चिनियाँ अन्वेषकहरूले गरेको अध्ययनले पनि शरीरमा ग्लुकोज धेरै भएकामा उक्त क्यान्सर बढ्ने देखाएको छ। 

किन बढ्दै छ मधुमेहका बिरामीमा जोखिम ?

अनुसन्धाताको टोलीले टाइप २ मधुमेह भएका महिलामा इन्डोमेट्रियल क्यान्सर हुने सम्भावना ६२ प्रतिशत बढी रहेको पत्ता लगाएको थियो। यो अध्ययनमा समावेश गरिएका बिरामीको औसत उमेर ६६ थियो।

सामान्यतया वृद्धामा इन्डोमेट्रियल क्यान्सरको जोखिम बढी रहेको पाइए पनि जो कोही पनि जोखिममा पर्न सक्ने अनुसन्धाताले बताएका छन्। त्यसैले सबै मधुमेहका बिरामी सतर्क रहन आवश्यक भएको उनीहरूको भनाइ छ। 

के भन्छन् अनुसन्धाता ?

बेलायतको युनिभर्सिटी अफ म्यानचेस्टरमा अङ्कोलोजीकी प्राध्यापक एम्मा क्रसबी भन्छिन्‚ ‘हाम्रो खोजले के भन्छ भने मधुमेह भएका र महिनावारी हुन छोडेका महिलाले इन्डोमेट्रियल क्यान्सरको जाँच गराउनुपर्छ।’

अन्य प्रकारका जोखिम कारकहरू जस्तै वंशाणुगत, मोटोपन, नियमित महिनावारी नहुने, स्तन वा पाठेघरको क्यान्सर र हार्मोनल रिप्लेसमेन्ट थेरापी लिनेहरूले पनि जोखिम बढाउन सक्छ। यसबाहेक केही प्रकारका जीनमा भएको उत्परिवर्तनले पनि महिलामा यो क्यान्सरको जोखिम बढाएको पाइएको छ।

क्यान्सरको जोखिमबाट कसरी बच्ने ?

कोरियाली अध्ययनले मधुमेह रोगीलाई इन्डोमेट्रियल क्यान्सरका लागि सावधानीपूर्वक जचाउन सुझाव दिएको छ। जति चाँडो रोग पत्ता लाग्छ‚ उपचार गर्न त्यति नै सजिलो हुन्छ। यस्ता स्वास्थ्य जोखिमबाट बच्न स्वस्थ जीवनशैली कायम राख्नु धेरै महत्त्वपूर्ण हुन्छ।

स्वस्थ र पौष्टिक आहारको सेवनसँगै नियमित व्यायाम गर्ने बानीले मधुमेहको जोखिम कम हुनुका साथै क्यान्सरको जोखिमबाट बच्न सहज हुन्छ। क्यान्सर र मधुमेह दुवै नसर्ने दीर्घरोग हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.