नगरप्रहरी भन्छ : ठाउँ छैन, कहाँ व्यापार गर्न दिने ?

|

काठमाडौं : ‘घरजग्गा छैन, काठमाडौं महानगरले व्यापार गर्न पनि दिँदैन, लुट्न जान भएन, बच्चा पढाउनै पर्‍याे’, यो रोदन सुनाउने महिला हुन् कमला दाहाल। झापाकी दाहालले काठमाडौंमा बसेर फुटपाथ व्यापार थालेको १७ वर्ष भइसक्यो।

काठमाडौं महानगरले व्यापार गर्न नदिएपछि उनी आइतबार आन्दोलनमा उत्रिइन्। आन्दोलन भइरहेको राष्ट्रियसभा गृहको गेटमा भनिन्, ‘हामीलाई बेलुका २ घण्टा मात्रै व्यापार गर्न दिए पनि सहज हुन्थ्यो।’

उनीसँगै आन्दोलनमा आएकी झापाकै मीना तामाङको पनि समान पीडा छ। उनको माग भनेको पनि त्यही हो– समय तोकेर व्यापार गर्न देऊ। ‘महानगरले व्यापार गर्न नदिएपछि अहिले केही मेलोमेसो छैन, बालबच्चा अब कसरी पढाउने? साह्रै पीडामा पर्‍यौँ’, उनले भनिन्।

उक्त आन्दोलनमा आएका अधिकांश फुटपाथ व्यापारी काठमाडौं महानगरपालिका प्रमुख बालेन साह, उपप्रमुख सुनिता डंगोल र महानगरप्रमुखसँग असन्तुष्टि र गुनासो व्यक्त गरिरहेका थिए।

उनीहरूको एउटै गुनासो र माग थियो, ‘महानगरपालिकाले गरिखानै दिएन,गरिबको आँसु बुझिदिनु, २ घण्टा भए पनि व्यापार गर्न दिनु, दुःखी गरिबको कुरा सुनिदिनु, हामी पनि त राजस्व तिर्छौं।’ बेलुकाको समयमा व्यापार गर्न दिए पनि धेरै राहत हुने उनीहरूको भनाइ छ। 

महानगरपालिका प्रमुख बालेनविरुद्ध अहिले मात्रै होइन‚ यसअघि पनि विभिन्न समयमा फुटपाथ व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। २०७९ भदौ ३० गते पनि नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगर कार्यालय घेराउ गरेका थिए।

महानगर प्रमुख फेरिए तर दिन सकेनन् विकल्प

निश्चित ठाउँ तोकेर व्यापार गर्न माग गरे पनि काठमाडौं महानगरपालिका कुनै पनि प्रमुखहरूले फुटपाथ व्यापारीका लागि विकल्प दिन सकेका छैनन्। विद्यासुन्दर शाक्य नेतृत्वमा पनि यस्तै गरी फुटपाथ व्यापारीहरूले विरोध गरे।

२०७७ साल पुस २९ गते महानगरका नगरप्रहरीले सुकेधारा चोकबाट मञ्जु कुँवर क्षेत्रीको ठेला र तरकारी जबरजस्ती उठायो। महानगरका प्रहरीसँग उनले रुँदै याचना गरिरहेकी थिइन्, ‘यस्तो पनि हुन्छ ? हामी हिँड्या भए, बेच्या भए एउटा कुरा!’ घरमा राखेको ठेला पनि किन समातेको?’ ठेला उनले घरनजिकै राखेकी थिइन्।

अरूले एक चोटिलाई छोड्दिनु भन्दै थिए तर नगर प्रहरीले मानेनन्। उनी रुँदै बिलौना गरेको भिडियोले सामाजिक सञ्जाल ततायो। यही सिको अहिलेका महानगरपालिका प्रमुख साहले सिकेका छन्। उनको नेतृत्वमा पनि फुटपाथ व्यापारीलाई दुःख दिने काम रोकिएको छैन।  

२०७९ असार १७ गते काठमाडौंको बालुवाटारको फुटपाथमा मकै बेच्ने दम्पती चेतेन्द्र आचार्य र सीतालाई नगरप्रहरीले लछारपछार गर्‍याे। उनीहरूले आफ्नो सामान फिर्ता गर्न बिन्ती बिसाइरहे तर पाएनन्। उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो।

यसैगरी २०७९ असोज २७ गते  पनि काठमाडौं महानरपालिकाको थापाथलीस्थित प्रसूतिगृहको मूलद्वार अगाडिबाट पानीपुरीको ठेलागाडा जफत गरेको थियो। ठेलागाडा जोगाउन नगर प्रहरीसमक्ष शर्मिला तामाङले अनुरोध गरिन् तर महानगरका नगर प्रहरीले उनले गरेको अनुरोध सुनेनन्।

प्रहरीले सामान छरपस्ट पारी गाडा उठाए। तामाङले ठेलागाडा समातेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरलसँगै महानगरपालिकाको चर्को विरोध र आलोचना भएको थियो।

नगरप्रहरी भन्छ : ठाउँ छैन, कहाँ दिने ?

निर्वाचनको वेला महानगर प्रमुख साहले फुटपाथ व्यापारलाई व्यवस्थापन गर्ने घोषणा गरेका थिए तर उनले घोषणाअनुसार व्यवस्थित गर्न सकेनन्। महानगर प्रहरीले भने ठाउँकै अभावले व्यवस्थापन गर्न नसकिएको जनाएको छ।

फुटपाथ व्यवसायीले रातको समयमा व्यापार गर्न गरेको मागको विषय नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई जानकारी गराउँदा उनले भने, ‘अब मान्छे हिँड्ने ठाउँमा पसल राख्न दिन भएन। त्यहाँ त मान्छे हिँड्ने हो, पसल राख्ने होइन। अब अरू ठाउँमा राख्नुभन्दा खाली ठाउँ नै छैन, ठाउँकै अभावले यो समस्या आएको हो।’

अन्य ठाउँमा व्यवस्थापन गर्न ठाउँ नभएकाले यसरी आन्दोलन गर्नुको कुनै अर्थ नरहने उनको भनाइ छ।

(याे पनि) 



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.