|

काठमाडौं : वीर अस्पतालले निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको बताए।

उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो। समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ। डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकेकिएको बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए। उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई-तीनजना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको बताए। आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताए। उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए। 

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं। हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ। अप्रेसन कोठाहरुलाई त सबै घण्टा चलायमान राख्नुपर्‍यो नि त। हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडी बढेका छौँ।'

उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए। डा.पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए। यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिए।

वीरमा नर्सिङ जनशक्ती थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ। वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको बताएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रिय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौती सृजना भएको बताए।

उनले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए। आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको  तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको बताए। आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ।

नि:शुल्क सेवालाई तीन करोडले पुग्दैन

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नहुने बताए। उहाँले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोधभर्ना हुने आश्वासन पाएको बताए।

उनले भने, ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ। हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ। औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ। आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो। अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट गर्‍यौँ। तर, सरकारले हामीलाई विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ थियो। भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ। आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पुर्‍याउनुभएको छ। त्यो पनि पर्याप्त होइन। हामी अझै लविङ गर्दैछौँ।'

अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.