|

काठमाडौं : नेपालमा हरेक वर्ष गर्मी मौसममा भाइरल कन्जङ्क्टिभाइटिस भनिने आँखामा हुने संक्रमण बढ्ने गरेको छ।  विज्ञका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइरल कन्जङ्क्टीभाइटिसका बिरामी बढेको छ। यो संक्रमण हुँदा एकैपटक धेरै जनामा संक्रमण देखिन थाल्छ जसले गर्दा यो छिटो फैलिने संक्रमणको रूपमा लिइन्छ।

हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने अर्थात् भाइरल कन्जक्टिभाइटिस रोग देखिएको र देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ। तर केहीमा भने एक पटक आँखामा संक्रमण भएको केही समयपछि पुन: आँखामा संक्रमण भएको समेत पाइएको छ, जसले गर्दा छोटो समयमा एकै सिजनमा दुई पटकसम्म संक्रमण देखिने गरेको छ।

शरीरमा रोग प्रतिक्षा प्रणाली कमजोर भएकाहरूमा एक पटक संक्रमण भएर ठिक भइसकेको केही समयमा संक्रमण हुन सक्ने बताउँछन आँखा रोग विशेषज्ञ डा. दिपक साह। उनका अनुसार यस पटक कन्जङ्क्टिभाइटिसका बिरामीमा अलि कडा लक्षण देखिएको र ठिक भएर शरीरले एन्टिबडी बनाउन केही समय लाग्ने भए पनि प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा संक्रमण भइरहेका मानिसबाट पुन संक्रमण सर्ने सम्भावना हुने हुँदा छोटो समयमा दोहोरिएर संक्रमण हुने जोखिम हुन्छ।

‘कडा लक्षण देखिएन भने सामान्यतया एक हप्तामा भाइरलकन्जक्टिभाइटिस संक्रमण ठिक हुन्छ र शरीरमा भाइरसविरुद्ध लड्ने एन्टिबडीको विकास हुन्छ तर प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा संक्रमण ठिक भए जस्तो भए पनि शरीरमा एन्टिबडी बन्न भ्याउँदैन’, डा. साह भन्छन्, ‘अनि यही समयमा अर्को संक्रमण भइरहेको मानिसबाट संक्रमण सरेर पुन: संक्रमण हुने जोखिम हुन्छ। यसले गर्दा केही बिरामीमा आँखा पाक्ने समस्या छोटो समयमा दोहोरिन सक्छ।’

दीर्घरोग भएका, प्रणाली कमजोर भएकाहरू सकेसम्म कन्जङ्क्टिभाइटिसका संक्रमण भएका व्यक्तिसँग सतर्क रहनु पर्ने तथा दोहोरिएर संक्रमण भएमा चिकित्सकलाई देखाउनु पर्ने डा. साह बताउँछन्। छोटो समयमा दोहोरिएर संक्रमण हुँदा आँखामा गम्भीर संक्रमण भई दीर्घकालीन समस्या देखिने सम्भावना हुने हुँदा संक्रमण हुनेवित्तिकै चिकित्सकलाई देखाउनु पर्ने उनको भनाइ छ।

अघिल्ला वर्षमा भन्दा यो पटक आँखा पाक्ने संक्रमण धेरै फैलिएको र संक्रमितमा कडाखालको लक्षण देखिएकाले अझै सतर्कता अपनाउनु पर्ने चिकित्सक बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा. समीर अधिकारीका अनुसार रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा भाइरसजन्य संक्रमण छिटो सर्ने भएकाले एकपटक ठिक भइसकेको अवस्थामा पनि सतर्कता अपनाउनु पर्छ।

‘कन्जङ्क्टिभाइटिस सक्रमण मात्र होइन जुनसुकै भाइरसजन्य संक्रमण शरीरमा प्रतिरक्षा कमजोर भएकाहरूमा छिटो सर्ने सम्भावना हुन्छ त्यसैले संक्रमण नभएका र एक पटक संक्रमण भएर पनि ठिक भइसकेकाले समेत सतर्कता अपनाउनु पर्छ’, डा अधिकारीले भने।   

हाल देखिएको आँखामा हुने कन्जङ्क्टिभाइटिस संक्रामक रोग भएकोले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने हुँदा दीर्घरोग भएका तथा शरीरमा संक्रमण छिटो सर्ने व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने डा.अधिकारीको भनाइ छ। यस्तै संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने, आँखा पाक्ने रोगबाट बच्न यो रोगको संक्रमण फैलिन नदिन विद्यालय, बजार, सार्वजनिक यातायात जस्ता भिडभाड हुने ठाँउमा नजाने,आँखा छुनु परेमा (छुनु अघि वा छोइसकेपछि) साबुनपानीले राम्रोसँग हात धुने गर्नु पर्ने डा. अधिकारी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.