|

केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो छ। मानव मस्तिष्कले गर्ने बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्य कायम गरेको छ। आफ्नो सम्भावना, सबलता र कमजोरी सहज चाल पाउने व्यक्ति मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।

मानसिक समस्याका कारण र समाधानका विषयमा केन्द्रित रही ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी।

मानसिक रोग भनेको के हो ?

मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भईकन उसको मन, विचार, सोच र व्यवहारमा तादात्म्य राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्य कायम गरेको छ। आफ्नो सम्भावना, सबलता र कमजोरी सहज रूपमा चाल पाउँछ। आफू, परिवार र समाजलाई केही योगदान गर्नसक्छ भने त्यो व्यक्ति मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।

मानसिक रोग भनेको व्यक्तिको मन, वचन, कर्म, व्यवहार आपसमा तादात्म्य नराख्ने अवस्था हो। सोच अर्कै खालको छ। परिवार र समाजलाई अप्ठ्यारो पार्ने  व्यवहार छ। सामाजिक पेशागत काममा अप्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रूपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ।

अस्पतालले कस्ता–कस्ता खालका सेवा दिँदै आएको छ ?

मानसिक स्वास्थ्यका समस्या धेरै खालका हुन्छन्। मानसिक स्वास्थ्यको आयाम एकदमै बृहत् छ। सामान्य अवस्थामा भोक, निद्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्यामा पर्छन्। हाम्रो अस्पताल चाहिँ केन्द्रीय मानसिक अस्पताल भएको हिसाबले अलि कडा खालका मानसिक रोगीको उपचारमा बढी केन्द्रित छ।

अन्य अस्पतालमा पनि मानसिक समस्याको उपचार त हुन्छ। ती अस्पतालमा उपचार हुन नसकेर अथवा केन्द्रीय मानसिक अस्पतालको हिसाबले यो समस्याको उपचार गर्न मानसिक अस्पतालमै लैजानुपर्छ भन्ने हिसाबले सोचेर ल्याइएका गम्भीर प्रकृतिका मानसिक रोगका बिरामी आउनुहुन्छ। जस्तो डिप्रेसनमा पनि अलिक कडा खालका डिप्रेसनका समस्याहरू, एन्जाइटीमा पनि त्यस्तै खालका, विक्षिप्तता उत्पन्न गराउने रोगहरू डिसअर्डर, साइकोसी समूहमा पर्ने सिजोफ्रेनिया लगायतका रोगहरू, लागुपदार्थ दुर्व्यसनीको कारणले गर्दा आएका कडा खालका मानसिक रोगहरू, छारे रोगका समस्याहरू यी यस्ता खालका समस्याको उपचार यो अस्पतालमा हुन्छ।

मानसिक रोगको उपचार पद्धति कस्तो हुन्छ ?

स्वास्थ्य समस्या भएपछि यसको उपचार त पक्कै पनि छ। मानसिक रोग स्वास्थ्यका अन्य समस्या जस्तै हो। अलिकति केही फरक छ।

हामीले अपनाएको मुख्य उपचार पद्धति भनेको औषधि उपचार हो। कडा खालका मानसिक रोगहरू उपयुक्त समयमा उपचारको पहुँचमा आए निको हुन्छ।

त्यो बाहेक केही मनोपरामर्श पनि गरिन्छ। मनोवैज्ञानिक उपचार पद्धतिले पनि केही हदसम्म फाइदा गर्नसक्छ। त्यो उपचार पद्धति पनि हामीसँग उपलब्ध छ। अनि कतिपय अवस्थामा औषधि उपचारबाट त्यति प्रभावकारी नभएका रोगहरूमा न्युरोमोडुलेसनमा आधारित उपचार पद्धति भित्र्याएका छौं। ती उपचार पद्धतिमा हामीले विद्युतीय उपचार पद्धति, म्याग्नेटिक उपचार पद्धति पनि छ। औषधि उपचार, मनोवैज्ञानिक उपचार र न्युरोमोडुलेसन तीनवटा मुख्य उपचार पद्धति हामीले अवलम्बन गरेका छौं।

नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभएको छ ?

मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो। अहिले पनि छ र पछि पनि रहन्छ। मानसिक स्वास्थ्यका समस्या बढ्दै छन्। मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै मानसिक स्वास्थ्यको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्ति पनि बढेको छ। यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन् र औषधि उपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दै छ।

कस्ता खालका मानसिक समस्या भएका बिरामी यो अस्पताल आउनु हुन्छ ?

यो अस्पतालमा कडा खालका मानसिक रोगीहरू उपचारका लागि आउनुहुन्छ। समाजमा कस्ता खालका रोगहरू बढी छन् भन्ने कुरा गर्न जरुरी छ। हाम्रो समाजमा व्याप्त मानसिक समस्यामा धेरैमा एन्जाइटी डिसअर्डर, डिप्रेसन, लागुपदार्थ दुर्व्यसनसँग सम्बन्धित स्वास्थ्य समस्या व्यापक छ। अहिले साइकोसी समूहका, एपिलेप्सी, बालबालिकामा देखिने मानसिक स्वास्थ्यका समस्या बढ्दो छन्। अहिले हाम्रो औसत आयु बढ्दै गएको अवस्थामा वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्यका समस्या पनि धेरै छन्। अस्पतालमा आउने बिरामीको कुरा गर्नुपर्दा यी रोगमा पनि डिप्रेसनमा पनि सिभियर खालको डिप्रेसन, एन्जाइटीमा पनि एक्स्ट्रिम एन्जाइटी, प्यानिक डिसअर्डर जस्ता अलिकति कडा खालका रोग आउँछन्। यस्गरी साइकोसी, एपिलेप्सीमा छारे र मिर्गी भएकाहरू पनि आउनुहुन्छ।

मानसिक समस्या भन्ने कि मानसिक रोग ?

विश्व स्वास्थ्य संगठनले मेन्टल एण्ड बिहेभियर डिसअर्डर भन्छ। अहिले आएर मेन्टल हेल्थ कन्डिसन भन्नुपर्छ भन्ने पनि आएको छ। मानसिक स्वास्थ्यको अवस्था वा अस्वस्थताको अवस्था भन्ने कुरा पनि अगाडि आइरहेको छ। कुरा जे भए पनि मानसिक स्वास्थ्यको समस्या समस्या नै हो। जसका केही कारण पनि छन्। जसको निराकरण, समाधानका उपाय पनि छन्। यसको रोकथाम गर्न सकिन्छ। कारणलाई हामीले पहिचान गर्नसक्यौं र त्योबाट टाढा रहनसक्यौं भने मानसिक स्वास्थ्यको समस्याबाट जोगिन सकिन्छ। स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ।

मानसिक समस्याका बिरामी बढ्दै गएका हुन् ?

मानसिक स्वास्थ्यको समस्याका कारणहरू त्यहाँ भित्र अन्तरनिहीत समस्याको जड के हो भनेर केलाउन जरुरी छ।

शारीरिक कारणमा जैविक कारण भनौँ न मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्युरो केमिकल ब्यालेन्सका कुरा एउटा हुन्छन् र आनुवंशिकताका कुरा पनि हुन्छन्। सामाजिक कारणहरू पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुर्व्यसनी, उच्च महत्त्वाकांक्षा, त्यो पूरा हुन नसक्नु र बेरोजगारी यी सबै सामाजिक कारण हुन्।

त्यसैगरी मनोवैज्ञानिक कारण पनि हुन्छ, जस्तो व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोण, व्यक्तिको व्यक्तित्व यी कुरा पनि हुन्छन्। जसले गर्दा मानसिक रोग निम्तिन्छ। यसलाई चाहिँ हाम्रै अस्पतालमा होस् या समुदायमा होस् जहाँसुकै पनि निराकरण गरेर उपचार गर्नका निम्ति शारीरिक, मनोवैज्ञानिक र सामाजिक यी सबै पक्षबाट हेर्नुपर्छ। यो महत्त्वपूर्ण पक्ष हो। सँगसँगै यहाँ सामाजिक पनि जोडिन्छ। समाजको संरचना कस्तो छ ? त्यहाँको नीतिनियम, कानून कस्तो छ ? लागुपदार्थको दुर्व्यसनी कत्तिको छ ? तनाव व्यवस्थापनको स्थिति के छ ? राज्य कत्तिको कल्याणकारी छ ? यी कुरामा पनि भर पर्छ।

त्यसैले शारीरिक कारणलाई स्वास्थ्यको समस्याबाट सम्बोधन गर्नुपर्‍यो। रोगका लक्षण देखिएपछि उपचार गर्नुपर्‍यो। कारण पत्ता लगाउनुपर्‍यो। निश्चित समयअवधिसम्म औषधि सेवन गराउनुपर्‍यो। निको भएको छ कि छैन भनेर निरीक्षण गर्नुपर्‍यो भने सामाजिक कारणमा राज्य र समाजको पनि भूमिका छ। यो कुरामा सबै  लाग्नुपर्छ।

मनोवैज्ञानिकमा चाहिँ व्यक्तिको सहन गर्ने क्षमता र व्यक्तित्व विकासका कुरा आउँछ। यसमा पनि सामाजिक पक्ष आउँछ। कस्तो परिवारमा बच्चा हुर्केको छ ? बुबाआमाबीचको सम्बन्ध कस्तो थियो ? साथी साथी बीचको सम्बन्ध कस्तो थियो। विद्यालयमा शिक्षकले कस्तो व्यवहार गर्नुहुन्छ ? समग्रमा सबै कुरा हेर्नुपर्छ। राज्यको नीति पनि त्यतै जानुपर्छ जस्तो लाग्छ।

समाजमा अमनचयनको स्थिति कायम हुने, बेरोजगारीको स्थिति नहुने, पारिवारिक विखण्डन नहुने स्थिति, यी कुराले पनि मानसिक स्वास्थ्यको जगेर्नामा भूमिका खेल्छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मान्छेलाई मानसिक रूपमा अस्वस्थ बनाउने कुरा भएको छ। सामाजिक सञ्जालको प्रयोग होशियारीपूर्वक गर्नुपर्छ। विश्वसनीय कुरा मात्रै हेर्ने गर्नुपर्छ। लामो समय लागुपदार्थ दुर्व्यसनी हुने हिसाबले सामाजिक सञ्जालमा लत पर्ने हिसाबले प्रयोग गर्नुहुँदैन।

कुनै पनि व्यक्तिले पनि रचनात्मक काममा भाग लिने, तनाव व्यवस्थापन गर्ने कुरा, पर्याप्त मात्रामा सुत्ने, पोषिला खाने कुरा खाने, आफन्तहरूसँग सम्पर्कमा रहने, मनका कुरा सुनाउने, गफ गर्ने, यी कुराको पनि त्यत्तिकै महत्व हुन्छ। कडा खालको मानसिक रोग लाग्यो भने आफूलाई सम्झना हुँदैन। परिवारले उहाँहरूलाई तुरुन्तै स्वास्थ्य संस्थामा लिएर जानुपर्छ। आफूलाई पनि मन, व्यवहार, वचनमा तादात्म्य छैन, केही असहज महसुस हुन लाग्यो, दिग्दारीले छाउन लाग्यो, बिनाकारण डर लाग्न थाल्यो, निराशाजनक सोच आउन थाल्यो, जीवनप्रतिको मोह हराउँदै गयो भने कतै म मानसिक रोगको सिकार त भएको होइन भनेर परामर्श लिन जानुपर्छ, हच्किनु हुँदैन। लुकाउनुपर्ने कुरो छैन नि।

परामर्शले मानसिक रोगको समाधान हुन्छ ?

शारीरिक उपचार, मनोवैज्ञानिक उपचार र सामाजिक पहुँच सबै मिल्यो भने अधिकांश मानसिक रोग निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन्। मान्छेले आफ्नो जीवन सहज रूपमा बनाउन र पेशा व्यवसाय गरेर जीवनलाई सुखी बनाउन सक्छ। उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको उपचार पूर्ण रूपमा सम्भव छ।

हरेक व्यक्तिको जीवनमा सधैँ खुशी मात्रै आउँछ भन्ने छैन। कहिले तनाव हुन्छ, कहिले निराशा हुन्छ, त्यो भन्दैमा व्यक्तिमा मानसिक रोग लाग्यो भन्न मिल्दैन। मनोरोगका लक्षणहरू केही आउँदा पनि डिसअर्डर वा रोग हो भन्नलाई केही निश्चित लक्षण हुनुपर्छ। जसलाई पहिचान गर्ने काम फिजिसियनहरूले गर्नुहुन्छ। कतिपय अवस्थामा दैनिक रूपमा हुने तनाव व्यवस्थापन गर्न व्यक्ति आफैँ सक्षम हुन्छ। योबाट व्यक्ति अगाडि बढ्यो र उसको सामाजिक र पेशागत काममा समस्या पर्न थाल्यो। सामान्य जीवनबाट फरक देखिन थाल्यो भने मानसिक रोग भनेर जान्नुपर्‍यो। आफू वा आफन्तले पहिचान गर्नुपर्‍यो। छिट्टै उपचार र मनोपरामर्शको दायरामा आउनुपर्‍यो। हरेक कुराको समाधान छ।

अस्पतालको आगामी योजना छ, कसरी बिरामीहरूले सेवा पाइरहेका छन् ?

यो अस्पताल केन्द्रीय अस्पताल हो। नेपालको जनसंख्याको अनुपातमा शय्या संख्या अपुग छ। यसलाई स्तरोन्नति गर्न ढिला भइसकेको छ। हाम्रो ५० शय्याको अस्पताल हो। बहिरंग सेवामार्फत हामीले दिएका छौं। अस्पतालमा आउने बिरामीलाई मनोचिकित्सकले जाँच्नु हुन्छ र उपचार प्रक्रिया अघि बढाउनुहुन्छ। भर्ना हुनुपर्ने सबै बिरामीलाई एकैचोटी भर्ना गर्नसक्ने स्थिति छैन। बहिरंगमा १३ जना साइक्याट्रिक्स हुनुहुन्छ। दुईजना साइकोलोजिस्ट हुनुहुन्छ, काउन्सिलर हुनुहुन्छ। दैनिक १५० देखि २ सयजनाले बहिरंग सेवा लिनुहुन्छ। लागुपदार्थ दुर्व्यसनीहरूलाई पनि सब्स्टीच्युस्नल उपचार पद्धतिबाट सेवा दिन्छौँ। आकस्मिक सेवामा ६ वटा शय्या छ।

एउटै मात्रै केन्द्रीय अस्पताल भएका कारण हाम्रो अस्पताललाई स्तरोन्नति गरेर राष्ट्रियस्तरको मानसिक स्वास्थ्य प्रतिष्ठानको रूपमा विकास गर्ने योजना छ। यो अस्पताल हाताभित्रै १५० शय्या पुर्‍याउने लक्ष्य छ। सायद यो वर्ष काम शुरु हुनसक्छ। प्रतिष्ठान बनाउन जग्गा खोजिरहेका छौँ।

मानसिक रोगको उपचार छ। उपचार गरेपछि राम्रो जीवनयापन बिताउन सकिन्छ। खुलेर आफ्नो समस्या बताउनु र उपचार गर्नुपर्छ। वार्षिक ३० हजारजनाले बहिरंग सेवा लिनुहुन्छ। एक वर्षको अवधिमा ७ सय जनाको भर्ना गरेर उपचार गर्छौं। मानसिक रोगले उमेर, लिङ्ग कसैलाई छोड्दैन। रोगमा देखिने लक्षण फरक पर्न सक्छन्। हाम्रो अस्पतालमा आउने अधिकांश बिरामी निको भएर स्थिर भएर घर जाने गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.