|

काठमाडौं : डाक्टर लोक भट्टराईलाई उच्च शिक्षासम्बन्धी प्रतिष्ठित बिजनेस एन्ड इनोभेशन अवार्डतर्फ सन् २०२३ को ग्लोबल फाइनलिस्ट छनोट भएका छन्

भट्टराई ​बेलायतको लिड्स बेकेट विश्वविद्यालय, ब्रिटिश काउन्सिल युके, स्टडी युके, र बेलायती विश्वविद्यालयहरुको साझा संस्थाको संयुक्त छनोट परेका हुन्।उनी छनोटमा परेको जानकारी काठमाडौंस्थित ब्रिटिश काउन्सिल नेपालले आज (आइतबार) दिएको हो। आफू विश्वव्यापी प्रतिस्पर्धाबाट छनोटमा परेपछि डा. भट्टराईले आफू गौरवान्वित भएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिस्पर्धामा छानिएकोमा खुशी व्यक्त गरेका छन्।

बेलायतबाट विद्यावारिधि गरेकादेखि जुनसुकै तहको अध्ययन पूरा गरेका विश्वभरिका १०० भन्दा बढी देशका १० वर्षयताका पूर्वविद्यार्थीमध्येबाट विश्वविद्यालयले उनलाई छनोट गरेको हो। छनोटमा सहभागी प्रतिस्पर्धीले औपचारिक अध्ययन सकेपछि गरेका काम हेरिएको र यसका आधारमा उनी यो छनोटमा परेको बताइएको छ।

प्रतिस्पर्धामा इन्जिनियरिङ‚ चिकित्सा‚ विज्ञान‚ प्रविधि‚ कला‚ संगीतलगायत धेरै विषय समावेश थिए भने प्रतिस्पर्धीहरू चीन‚ जापान‚ दक्षिण एशियाली राष्ट्रहरू‚ अरब प्रायद्वीपका विभिन्न देश‚ युरोपेली मुलुकहरू‚ अमेरिका‚ अफ्रिका र दक्षिण अमेरिकी राष्ट्रका समेत सहभागी रहेका थिए।

गोरखाका डा. भट्टराई क्यानडाको शेरिडन कलेजका प्राध्यापन गर्छन्। उनी त्यहाँका एकेडेमिक काउन्सलर पनि हुन्। उनले विदेशका विभिन्न कलेजमा प्राध्यापन तथा अनुसन्धान गरिसकेका छन्।

यसअघि अक्सफर्ड विश्वविद्यालय‚ लिड्स विश्वविद्यालय‚ लन्डन विश्वविद्यालयलगायत प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन गरिसकेका डा. भट्टराईले बेलायतको लिड्स विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। उनले गोरखाको शक्ति उच्चमाविमा अध्ययन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.