तलबसँगै बढेको भत्ता पनि पठाइने

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा तलब दिने प्रकृया अगाडि बढाएको छ। महानगरपालिकाले यसका लागि महानगरभित्रका सबै शिक्षकहरूको विवरण मागेपछि विद्यालयहरूले उपलब्ध गराइसकेका छन्।

महानगरपालिका वडा-१४ कलंकीस्थित जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जीतबहादुर लामिछानेले महानगरपालिका शिक्षा विभागले विवरण माग गरेको र बुझाइसकेको जानकारी दिए।

‘महानगरपालिकाले शिक्षकहरूको ग्रेडलगायत सबै विवरण, अभिलेख माग गरेको थियो, अपडेट गरेर बुझाइसक्यौँ,’ उनले भने।

महानगरपालिका वडा–१३ स्थित नील बाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापिका डा.जानुका नेपालले पनि महानगरपालिकाले शिक्षकहरूको विवरण मागेको र बुझाइसकेको जानकारी दिइन्।

‘मासिक रूपमै दिने घोषणा कार्यान्वयन होला भन्ने आशा छ’

काठमाडौं महानगरपालिकाले आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै साउनबाटै मासिक रूपमा शिक्षकहरूको तलब भुक्तानी गर्ने घोषणा गरेको थियो। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सोधभर्ना कोषमार्फत् महानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा नै तलब खुवाउने व्यवस्था गरेको जानकारी दिएकी थिइन्।

त्यसबेला उपप्रमुख डंगोलले भनेकी थिइन्‚ ‘यो वर्षबाट काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले पनि मासिक रूपमै तलब पाउने व्यवस्था हामीले गरेका छौं, त्रैमासिक रूपमा केन्द्रीय सरकारबाट आउने बजेट यस पटकदेखि हामीले सोधभर्ना कोषमा राखेका छौं, यो कोषमार्फत हरेक महिना महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले तलब मासिक रूपमा नै पाउने व्यवस्था गरेका छौं।’

महानगरपालिकाले बजेटमा यसका लागि ३० करोड रुपैयाँको छुट्टै शोधभर्ना कोष स्थापनाको व्यवस्था गरिएको उल्लेख छ।

नील बाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापिका नेपालले त्रैमासिक भनिए पनि तलब पाउन ५/६ महिना नै लाग्ने गरेको बताइन्। ‘महानगरपालिकाले त्रैमासिक रूपमा भने पनि समयमा हामी तलब पाउँदैनौँ,’ उनले भनिन्, ‘विभिन्न सरकारी निकायमा फायल घुमाइफिराई गर्दा हामीले तलब पाउन ५/६ महिना नै लाग्ने गरेको छ।’ 

नेपाल शिक्षक महासंघले त स्थानीय तहहरूले ७/८ महिनासम्मै तलब नदिएको भन्दै केन्द्र सरकारबाटै मासिक रूपमा भुक्तानीको माग गर्दै आएका छन्।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले तलब दिनको लागि प्रकृया अगाडि बढाएकाले महानगरपालिकाभित्र भने अब यो समस्या अन्त्य हुने प्रधानाध्यापिका नेपालको अपेक्षा छ।

‘महानगरपालिकाले विवरणहरू मागिसकेको छ, बजेटमा घोषणा गरेको कुरा कार्यान्वयन आउँछ भन्ने अपेक्षा राखेका छौँ,’ उनले भनिन्।

जनपथ माविका प्रधानाध्यापक लामिछानेले पनि मासिक रूपमा शिक्षकहरूलाई तलब दिने घोषणा कार्यान्वयनमा आउँछ भन्ने अपेक्षा लिएका छन्। ‘मासिक रूपमा तलब दिन महानगरपालिकाले प्रकृया अगाडि बढाइएको पाइन्छ, अब मासिक रूपमै पाउँछौँ भन्ने लागेको छ,’ उनले भने।

शिक्षा विभाग भन्छ : यो हप्ताबाटै शिक्षकहरूले मासिक तलब पाउँछन् 

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले यही हप्ताबाट शिक्षकहरूले मासिक रूपमै तलब पाउने बताए। ‘हामीले तलबको लागि सफ्टवेयर बनाएर सबै इन्ट्री गरिसकेका छौँ, अब यो हप्ताबाटै शिक्षकहरूले मासिक रूपमै तलब पाउँछन्,’ उनले थाहाखबरसँग भने। 

महानगरपालिकाले प्रधानाध्यापकहरूको भत्तासमेत वृद्धि गरेको छ। संघीय सरकारले मासिक ५ सय उपलब्ध गराउँदै आएकोमा महानगरपालिकाले ५ सय गरी थप गरी १ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो। अब भने महानगरपालिकाले प्रअ भत्ता १ हजार रूपैयाँ बढाएर मासिक २ हजार पुर्‍याएकाे छ।

वृद्धि गरिएको प्रअ भत्ता मासिक रूपमै तलबसँगै पठाइने महानगरपालिका शिक्षा विभागका प्रमुख कोइरालाले बताए। ‘थप १ हजार प्रअ भत्ता बढेको छ, यो बढाएको भत्तासहित सबै मासिक तलबसँगै खातामा पठाउँछौँ,’ उनले भने।

महानगरपालिकाले आव ०८०/८१ का लागि शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रूपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाका अनुसार महानगरभित्र ९१ वटा सरकारी विद्यालय सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.