|

काठमाडौं : जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो।

जनताबाट उठाएको करले नै सरकार चल्छ। त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै। अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरू भइदिँदा दिनप्रतिदिन आम नागरिकहरूले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ। सरकारी कार्यालय भनेपछि यसै त कुनै पनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ?

यो आम मानिसको प्रश्न हो।  यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरूको हरिबिजोग छ। त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस्। सरकारले सरसफाई र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ। तर उनीहरूले काम गरे÷नगरेको निरीक्षण गर्नेहरू आफ्नै धुनमा मस्त हुन्छन्। त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ। भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नुस त, तपाई आफैँ छक्क पर्नुहुनेछ।

गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा संग्रहालयको अवस्था फोटोमा हेर्नुहोस्। सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन्। सिंहदरबार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन। लाग्छ सरकारबाटै सरकारी सम्पत्ति तिरस्कृत छन्। घाँस उम्रिएर छेक्दा समेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन्।

यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरू आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरूको लापरबाही गरेर बस्छ। राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्त कुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पति दुरुपयोग र हेलचेक्‍र्याइँ छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पत्तिमाथि नेतृत्वको हेलचेक्र्याँइ र दुरुपयोग सम्बन्धी यी तस्वीर।

 

0

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.