प्रधानअध्यापकको 'खण्डनपत्र' जस्ताको तस्तै

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित विजयस्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको उजुरी परेपछि छानबिन गरिरहेको छ। महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले उजुरीका आधारमा छानबिन भइरहेको जानकारी दिए।

विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएका वेला खाजा भत्ता लिएको बील बनाएपछि त्यहाँका १५ जना शिक्षकले साउन १२ गते सत्यतथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए।

उक्त विषयमा समाचार छापिएको १९ दिनपछि विद्यालयले त्यसमा सत्यता नभएको भन्दै खण्डन गरेको छ। थाहाखबरले भदौ १ गते नमुना घोषित विजयस्मारक स्कुलमा यसरी भयो आर्थिक अनियमितता शीर्षकमा समाचार छापेको थियो।

यसमा अनियमितता भएको हो या होइन भन्ने विषयमा छानबिन गरी सम्बन्धित निकायले सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हो। तर, प्रतिवेदन सार्वजनिक नगर्दै त्यसमा कुनै सत्यता नभएको भन्दै विद्यालयले उक्त समाचारको खण्डन गरी ढाकछोप गर्न खाेजेको छ। 

सोमबार थाहाखबरलाई प्राप्त खण्डनपत्रमा एकपक्षीय र पूर्वाग्रहपूर्ण सूचनाका आधारमा विद्यालयको गरिमामा आँच पुग्ने समाचार प्रकाशित गरेको उल्लेख छ। तर,यस विषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा ढकाललाई पटकपटक फोन गर्दा उनले उठाएनन्।

खण्डन पत्रमा भनिएको छ,‘काठमाडौं महानगरपालिका नगरसभाले महानगरपालिका शिक्षा ऐन, २०७४ संशोधन प्रस्ताव पारित भएसँगै विजय स्मारक माध्यमिक विद्यालयको वि.व्य.स.मात्र विघटन नभई महानगरपालिकाको सम्पूर्ण विद्यालयका वि.व्य.स. विघटन भएको घटनालाई समेत नबुझी एकतर्फी रूपमा आफू मात्र रहेको विद्यालयको तत्कालीन विद्यालय व्यवस्थापन समिति विघटन भएको ठानी विद्यालयका प्र.अ., लेखापाल तथा महानगरपालिकासँग रूष्ट भइ विद्यालयको गरिमामा आँच पुग्ने गलत समाचार सम्प्रेषण गरेको ब्यहोरा जानकारी गराउँदछु।’

हेर्नुस् खण्डनपत्र :

खाजा नखाएको शिक्षकको दावी 

शिक्षकहरूले महानगरपालिकामा बुझाएको उक्त पत्रमा भनिएको छ, ‘सामाजिक परीक्षण समितिको मिति २०८० जेठ १८ गते सरोकारवालाहरूको भेलामा प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनमा २०७८ वैशाख महिनादेखि कोभिड महामारीका कारण सरकारले भौतिक उपस्थितिमा कक्षा संचालन गर्न रोक लगाउने सूचना गरेकाले हामी विद्यालयका तपशिलका शिक्षक कर्मचारीहरूले शैक्षिक सत्र २०७५ वैशाखदेखि २०७८ माघसम्म घरबाटै अनलाइन कक्षा लिएको तथा विद्यालय प्रशासनको सूचनाबमोजिम हप्तामा एक पटक विद्यालयमा गई हाजिर गरेको तथा खाजा नखाएको र उक्त अवधिको खाजा भत्ता पनि नलिएको कुरा जानकारी गराउँदछौं।’

शिक्षकहरूले उक्त अवधिको समेत शिक्षकहरूको नाममा खाजाको रकम भुक्तानी गरेको देखिएकाले त्यस विषयमा सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई कारबाहीको माग गर्दै महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन्।

महानगरपालिका शिक्षा विभागको २०७८ माघ  २७ गतेको सूचना अनुसार ०७८ फागुन १ गतेपछि मात्र विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा संचालन भएकोले उक्त मितिपछि विद्यालयले उपलब्ध गराएको प्रतिशिक्षक प्रतिदिन ३५ रूपैयाँका दरले विद्यालयमा संचालित चमेना खाजा खाएको निवेदनमा उल्लेख छ।

तर,यता विद्यालयका प्रधानाध्यापक ढकालले शिक्षकहरूले खाजा खाएको र त्यसको बील सुरक्षित रहेको बताएका छन्। ‘कोभिडका बेला दैनिक शिक्षक हाजिरी, खाजाको सक्कल बील भरपाइ विद्यालयको लेखा शाखामा सुरक्षित छ,’उनले भने। 

१५/१६ लाख रकम बेरूजु दावी : प्रअ भन्छन्,‘कुनै त्रुटि छैन’

विजयस्मारक विद्यालय अभिभावक संघका अध्यक्ष ईश्वर ज्ञवालीका अनुसार उक्त स्कुलमा मनाेरञ्जन, खाजा, कक्षा ११ र १२ तर्फ मेसिनरी औजार, अतिथि सत्कार शीर्षकमा करिब १५/१६ लाख रकम बेरूजु राखिएको छ। उनी भन्छन्, ‘यी माथिका शीर्षकका पैसा कसरी खर्च गर्‍याे हामीलाई थाहा छैन, कहाँ बैठक बस्यो त्यो पनि थाहा छैन।’

तर,सामाजिक परीक्षण समितिका संयोजकसमेत रहेका ज्ञवालीले आर्थिक वर्ष २०७८/०७९ मा तयार पारेको सामाजिक परीक्षण प्रतिवेदन कानुनी रूपले त्रुटिपूर्ण र प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षहरू नै विरोधाभाषपूर्ण रहेको प्रधानाध्यापक ढकालको दावी छ। ‘यो विषयलाई प्रमाणित गर्ने आधार विद्यालय प्रशासनसँग सुरक्षित छ,’उनले भने।

आफूले त्रुटिपूर्ण निर्णय नमानेको हुनाले नै अध्यक्ष ज्ञावलीले विद्यालय प्रशासनप्रति रूष्ट भइ अनियमितताको आरोप लगाएको उनको भनाइ छ। ‘ज्ञवालीले गरेका विद्यालयका विविध शैक्षिक सामग्री तथा उपकरणआदि खरिद गर्न मिति २०७९ साउन १२ मा उनको संयोजकत्वमा बसेको बैठकले गरेका त्रुटिपूर्ण निर्णय प्रधानाध्यापकले नमानेको हुनाले नै विद्यालय प्रशासनप्रति रूष्ट भइ हाल आएर आफ्नो गल्तीलाई ढाकछोप गरी त्यसबाट आफू उम्किन विद्यालय प्रशासनलाई अनियमितताको आरोप लगाउँदै हिँडेका हुन्, ’उनले भने।  

तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्कीले नक्कली बील बनाएर विद्यालयले रकम अनियमितता गर्दै आएको आरोप लगाउँदै आएका  छन्। उनले भने,‘खर्च गर्ने तौरतरिका भनेको ऐनअनुसार गर्नुपर्छ, समितिको बैठक हुनुपर्छ तर यहाँ त प्रअ र अकाउन्टेण्टकाे हस्ताक्षरमा पैसा निकालिन्छ, यसरी हामीलाई नै केही थाहा नदिइ नक्कली बील बनाएर पेश गर्न मिल्छ?’ 

उनले अहिले विद्यालय आर्थिक चलखेलको बचाउ गर्दै आएको बताए। ‘अहिले प्रअले ढाकछोप गर्दै आएका छन, नभए सामाजिक अडिट कहाँ भयो ?, ’उनले भने।
यता विद्यालयका प्रधानाध्यापक ढकालले भने कुनै पनि त्रुटि नभएको र आफूले गल्ती नगरेको दावी गरेका छन्।

‘खर्च भइसकेका सम्पूर्ण सक्कल बील भरपाइ आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षणको क्रममा रूजु भइसकेको छ, केहीमा गल्ती छैन, ती सबै आरोपमा सत्यता छैन, नभए यहीँ आएर फिल्डमै सबै बुझ्न आउनु,’ उनले थाहाखबरसँग भने।

बाहिर आर्थिक अनियमितता भएको भन्ने कुरा फैलिएपछि विद्यालयमा नकारात्मक असर परेकाे उनको भनाइ छ। 

महानगर भन्छ : छानबिन सकिएपछि सत्यतथ्य थाहा हुन्छ

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाले अहिले छानबिन भइरहेको र सकिएपछि यसबारेको सत्यतथ्य बाहिर आउने बताए। ‘यहाँ उजुरी आएपछि अहिले समिति बनाएर यसको छानबिन भइरहेको छ,सकिएपछि सत्यतथ्य बाहिर आउँछ, त्यहीअनुसार कारबाही हुन्छ, अरू थप अहिले भन्न मिल्दैन, छानबिन सकिएपछि भन्छौँ,’ उनले भने।

उनले विद्यालयमा भएको अनियमितताबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको जानकारी दिए। शिक्षकहरूले खाएको खाजाको विषयमा त्यसरी खाजाको कानुनी व्यवस्था नभएकाले महानगरपालिकाको बजेटबाट खाजा खाएको पाए शिक्षकहरूलाई पनि कारबाही हुने उनको चेतावनी छ।

तर, विद्यालयका प्रधानाध्यापक ढकालले भने महानगरपालिकाको बजेटबाट नभई विद्यालयकै आन्तरिक स्रोतबाट खाजा दिइएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.