‘राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा नफर्किँदा राम्रो’
‘राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा नफर्किँदा राम्रो’
काठमाडौं : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनको लागि निर्वाचनको सहायता लिनुपर्यो। सकभर निर्वाचन नगरि सर्वसम्मत नेतृत्व चयन गर्न खोज्ने एमालेले लुम्बिनी प्रदेशमा निर्वाचन नगरि पार लगाउन सकेन।
लुम्बिनी प्रदेशको अधिवेशनबाट एमालेभित्रको गुटबन्दीको दुई धार स्पष्ट रुपमा देखा परेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको दुई गुट निर्वाचनमा होमिए।
योसँगै माधव नेपालले पार्टी छाडेर गएपछि गुटको अन्त्य भएको बताउने गरेको एमालेमा गाँजिदै गरेको गुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ। पार्टी सुदृढीकरणको अभियान चलाइरहेको एमालेमा गुटको असर स्थानीय तह हुँदै केन्द्रसम्म पुग्ने देखिन्छ।
एमालेमा लुम्बिनी प्रदेशमा देखिएको गुट पार्टीको ११ औ महाधिवेशनको तयारीका रुपमा हेरिएको छ। पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेमा फर्किने चर्चा पनि चलिरहेको छ।
प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग थाहाकर्मी श्रीजना नेपालले गरेको कुराकानी :
एमालेले निर्वााचन लगत्तै मिसन ग्रासरुट अभियान गर्यो। अहिले प्रदेश कमिटीको अधिवेशन गरिरहेको एमालेको आगामी अभियान के हुन्छ?
मिसन ग्रासरुट अभियान अत्यन्तै राम्रो भयो। बीचमा हाम्रो पार्टी जराबाट उक्किएको जस्तो भइसकेको थियो। सतही रुपमा माथि माथि मात्रै थियो। मिसन ग्रासरुटमा एमाले वडास्तरसम्म पुग्यो। यसले पार्टीको राम्रो सन्देश दिएको छ। मिसन ग्रासरुटले पार्टी बनाउने भए जगमा नटेकि हुदैन है भन्ने सन्देश पनि दिएको छ।
पार्टीले पहिलो पटक प्रदेशको अधिवेशन पनि गरिरहेको छ। पार्टी व्यवस्थित र एकतावद्व भयो भने अझ बढि बलियो हुन्छ। विचारको हिसाबले होस्,सांगठनिक हिसाबले,समृद्वि वा सुशासनको हिसाबले होस् । प्रदेशहरू सक्षम हुन आवश्यक छ।
पार्टी भनेको सधैं जीवित,व्यवस्थित र वैचारिक हुनुपर्छ। महाधिवेशन र निर्वाचनको बेलामा मात्रै दौडधूप गरेर हुँदैन। त्यसैले ०८४ लाई फोकस गरेर हामीले यो सबै कुराहरू गरिरहेका छौं।
एमाले सबैभन्दा कमजोर भएको भनेको वैचारिक रुपमा हो। पछिल्लो समय पार्टी सिद्वान्त र मार्गदर्शनबाट चलेको छ कि छैन भन्ने हो भने पनि कमजोर छ। त्यसैले पार्टी स्कुलबाट पाठ्य सामग्री नै तयार गरेर तल्लो तहसम्म पुर्याएर वैचारिक बहसलाई जोड दिनुपर्छ।
एमाले पार्टी सांगठनिक रुपमा पनि कमजोर भएको छ। तर,त्यसमा म नेकपालाई दोष दिन चाहन्न। दुईवटा पार्टी मिल्यो त्यो आफ्नै ठाउँमा राम्रो कुरा थियो। नेकपा बनेपछि कसरी काम गर्ने भन्ने कुरा चाहिँ सुरुदेखि नै कमजोर भयो।
पार्टी एकता गर्दा त्यसको संरचना,संस्थागत कुरा,दुईवटा पार्टी जोड्ने आधार र मापदण्ड बनाउनुपर्ने थियो। तर,यी कुराहरूमा कमजोरी भयो। जसले गर्दा हामी सांगठनिक काम धेरै फितलो बन्न पुग्यौं।
नेकपा टुटिसकेपछि एमाले मात्रै रहँदा पनि कमजोर बन्न पुग्यो। त्यसैले सदस्यतालाई रिन्यु गर्ने,सांगठनिक सिद्वान्तको बारेमा प्रशिक्षित गर्ने लगायतको काम पनि गर्न लागेको छ।
हामीले सामन्ती व्यवस्था अन्त्य गर्यौं भन्यौ तर,सामन्ती अवशेष भने बाँकी नै छ। कुनै न कुनै हिसाबले सामन्तीपन झल्किरहेको महसुस भइरहेको छ। त्यसैले अबको दिनमा सामन्ती अवशेष भनेको के भन्ने छलफलको विषय बनाउनुपर्छ।
तपाईंले सामन्ती अवशेष भनेर अध्यक्षतर्फ संकेत गर्न खोज्नुभएको हो?
व्यक्तिलाई मात्रै दोष दिनु हुँदैन। पार्टीभित्र देखिने सबै कमीकमजोरी सामूहिक नै हुन्छ। त्यसैले पार्टीभित्र यस विषयमा छलफल गर्न सबै जिम्मेवार तयार हुनुपर्छ ।
पार्टीलाई कसरी हाँक्ने भन्ने विषयमा अध्यक्ष अझ बढि चनाखो हुनुपर्छ। अहिले राजनीतिमा पनि प्रतिस्पर्धा बढेको छ। यति धेरै पार्टीहरू जन्मिरहेको छ। त्यसैले पार्टीको मुल नेतृत्वले अलि गम्भीर भएर सोच्नुपर्छ।
सकेसम्म निर्वाचन गराउन नखोज्ने एमालेको लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्न निर्वाचन नै गराउनुपर्यो। गुटगत रुपमा नै लुम्बिनीमा प्रतिस्पर्धा भएको देखियो। तपाईंहरू एकातर्फ पार्टी सुदृढीकरण अभियान चलाइरहनु भएको छ,अर्कोतिर गुट चलिरहेको छ। कसरी पार्टी सुदृढ हुन्छ?
पहिला पनि हामी लोकतान्त्रिक रुपमा निर्वाचन गरेर प्रतिस्पर्धामा जान्थ्यौं। स्वस्थ प्रतिस्पर्धा मर्यादित ढंगले गर्न पाइन्छ। लविङ गरेर हराउने र जिताउने कुरामा नेतृत्व लाग्नु हुँदैन।
उहाँहरूलाई आफ्नो ढंगले मर्यादित रुपमा प्रतिस्पर्धा गर्न दिनुपर्छ। पहिला पनि हामीले लोकतान्त्रिक विधिको रुपमा यसको अभ्यास गरेका छौं।
तर अहिलेको आवश्यकता के हो भन्ने कुरालाई ख्याल गर्नुपर्छ। अहिले पार्टी एकतावद्व हुन आवश्यक छ। पार्टीमा अहिले कुनै पनि गुट,अस्वस्थता र विवाद देखिनु हुँदैन। पार्टीलाई एकतावद्व बनाउन सकिएन भने देश अगाडि बढ्दैन।
अहिले स्वस्थ र मर्यादित ढंगले छलफल हुन सकेको छैन। पार्टीभित्र निषेधको राजनीति भइरहेको छ। पार्टीभित्र पनि निषेध,पार्टी–पार्टीमा पनि निषेध हुनुले समस्या भइरहेको छ। जति खुलस्त भएर कुरा गर्न सक्यो त्यति राम्रो हुन्छ।
त्यसैले प्रदेश अधिवेशनमा कतै पनि नेतृत्वले हस्तक्षेप गरेर गुटगत रुपमा हराउने र जिताउने काम गर्नु हुँदैन। यस्तो काम लुम्बिनी प्रदेशबाटै अन्त्य हुनुपर्छ।
लुम्बिनी प्रदेशमा खुलेरै गुटगत रुपमा निर्वाचन भयो, यसको असर स्थानीय तह र केन्द्रसम्म नपुग्ला भन्न सकिन्छ?
गुट भनेको आगोजस्तै हो। नराम्रो कुराहरू आगो सल्किए जसरी सल्किन्छ। यतिबेला पार्टीलाई बचाएर मात्रै पुग्दैन। देश र जनतालाई शीरमा राखेर कसरी समृद्वि ल्याउने भनेर काम गर्नुपर्ने हो। पार्टीभित्रै एकअर्कालाई सिध्याउने खेलमा लाग्यो भने राम्रो हुँदैन।
माधव नेपालले पार्टी छोडेर गएपछि एमालेमा गुटको अन्त्य भयो भन्नुहुन्थ्यो। तर,फेरि गुटको सुरुवात कसरी हुन पुग्यो?
लुम्बिनी प्रदेशमा गुटगत रुपमा भएको निर्वाचनको बारेमा मैले राम्ररी बुझ्न पाएको छैन। तर,अराजक प्रवृतिलाई तुरुन्तै रोक्नुपर्छ,फैलिन दिनु हुँदैन।
पहिला निर्वाचन आउन लागेपछि मात्रै दलहरू जनताको घरदैलोमा पुग्थे। तर,अहिले त एउटा निर्वाचन सकिए लगत्तै अर्को निर्वाचनको तयारीमा लागेका छन्। गएको निर्वाचनमा नयाँ दलहरूले पाएको जनमत देखेर एमालेसहितका पुराना दलहरू आत्तिएका हुन् ?
पुराना दलहरू किन आत्तिनु? केही नभएको बेलामा पनि अत्यन्तै चुनौती सामना गरेर पार्टी बचाउँदै जनताको बीचमा काम गर्दै व्यवस्था नै परिवर्तन गरेको पार्टीहरू आत्तिन आवश्यक छैन।
नयाँ दलहरू आउनै हुँदैन भन्ने होइन। नयाँ दलहरुलाई पनि स्वागत छ। पुराना र नयाँ भन्ने हुँदैन सबै दल मिलेर देश र जनताको हितमा काम गर्नुपर्छ। जतिबेला पनि सत्ता भनेर राजनीति गर्नुहुँदैन।
एमालेकै नेताहरूले पार्टीमा बोल्न प्रतिबन्ध छ, आफ्नो बिचार राख्न पाईंदैन भनिरहनु भएको छ। केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेमा चाँडै बिस्फोट हुदैछ भन्नुभयो। एमालेमा बिस्फोट हुनै लागेको हो?
एमाले बोल्नै नपाएर बिस्फोट हुने त होइन । कति बोल्ने भन्ने कुरा प्रत्येक व्यक्तिमा पनि भर पर्छ । बोल्न पाईंदैन भनेर आफूले नबोल्ने अनि मलाई बोल्नै दिएन भन्ने कुरा हुँदैन ।
बोल्ने कुरामा रोक लाग्दैन। सचिवालय बैठकमा नै पनि म भन्छु । सचिवालय भनेको निर्णायक ठाउँ हो । समय या अनेकौं कुराले अभाव होला तर अध्यक्षले ल तपाईंले बोल्न पाउँदैन भनेर रोक्यो भने त्यो बेग्लै कुरा हो । होइन भने आफ्नो कुरा छोटो मीठो ढंगले राख्न सक्ने हिम्मत गर्नु पर्छ ।
प्रत्येक केन्द्रीय सदस्यहरूले, प्रत्येक सचिवालयका पदाधिकारीहरूले डराई डराई बोल्नु पर्ने केही छ र ? पार्टीको नेतृत्वले चाहेको भन्दा विपरीत कुरा राखेपछि पार्टीको अवसरबाट बन्चित हुने भएपछि कसरी बोल्ने?
सही कुराको लागि बोल्ने ठूलो कि अवसरको कुरा ठूलो भन्ने थाहा हुनुपर्यो नि ! एउटा सहि कुराको निर्णयका लागि तपाईंले बोल्नु भयो भने ठूलो पंक्तिलाई हिट गर्छ ।
तर तपाईं मैले अवसर पाउँदिन, बोले मलाई अवसरबाट बन्चित गरिन्छ भनेर बस्नुभयो भने तपाईं अवसरबाट बन्चित त त्यसै पनि हुनुहुन्छ । त्यही भएर निषेध गर्ला अवसर न पाइएला भनेर नबोल्ने कुरा सामन्ती चिन्तन हो।
भनेपछि निषेध चाहिँ छ?
केही निषेध त नहुने कुरै भएन नि। त्यही भएर म बैठक लोकतान्त्रिक प्रणालीको हुनुपर्छ भन्छु। अबको दिनमा हिजोको दिनको जस्तो परम्परागत बैठक चल्दैन।
अबको बैठक कसरी सञ्चालन गर्ने? सबैलाई आफ्नो कुरा कसरी राख्न दिने? भन्ने पार्टीको विधानमा पनि परिवर्तन गर्नुपर्छ। बोल्न पायो भने बोल्नेहरू उत्साहित हुन्छन्,त्यसरी लिएको निर्णय प्रभावकारी पनि हुन्छ।
त्यसैले पार्टीमा नयाँ विधि र परम्परा अवलम्वन गर्नुपर्छ। परम्परागत रुपले तपाईंले बोल्न पाउनुहुन्न भन्यो भने यो त सामन्ती चिन्तन नै त भयो नि! सामन्ती अवशेष भनेको नै त्यही हो । बोल्न नदिने,आफूविरुद्वको आलोचना गर्न नदिने,आत्मालोचना पनि नगर्ने भयो भने राम्रो हुँदैन। त्यसैले नेतृत्वले सबैले बोल्न पाउने विधिको सिर्जना गर्नुपर्छ।
पहिला मदन भण्डारी र माधव नेपाल नेतृत्वमा हुँदा केन्द्रीय कमिटी बैठक ६/७ दिनसम्म हुन्थ्यो। सबैले बोल्न,पढ्न,प्रतिवेदनमाथि विचार राख्न पाइन्थ्यो र रमाइलो हुन्थ्यो। तर,अहिले त्यो समय छैन।
मदन भण्डारी र माधव नेपाल हुँदा जसरी बोल्न पाइन्थ्यो अहिले त्यसरी पाइँदैन ?
पार्टी सञ्चालनको विधिमा भर पर्छ। संख्याको हिसाबले समय निर्धारण गरे भयो त। म चाहिँ निषेधको राजनीति देखेर पनि डराउँदिन। कुनै पद नपाउला भनेर म आफ्नो विचार गुपचुप पनि राख्दिनँ।
पार्टीलाई सुदृढ बनाउन प्रत्येक सदस्यहरूको विचार महत्वपूर्ण हुन्छ। त्यसैले बोल्नुपर्छ। लोकतन्त्रमा बोल्न पाउनुपर्छ।
पार्टीको जिम्मेवार नेताहरू भ्रष्टाचारको मुद्दामा फसिरहेका छन्। त्यस्ता नेतालाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुभन्दा पनि पार्टी चोख्याउन किन लागेको नि?
हामीले किन चोख्याउनु पर्यो र? हाम्रो अध्यक्षले मेरै छ भने पनि नछोड्नु भन्नु भएको छ। एमालेले सरकारलाई खुलस्त रुपमा अनुसन्धान गर भनिरहेको छ।
तर,सरकारले नै गर्न चाहेको छैन। सरकार तलतिरकोलाई समाउने माथिकोलाई चोख्याउने काममा लागेको छ। सरकारको काम त निष्पक्ष हुनुपर्यो नि !
एमालेको दशौं महाधिवेशनमा पनि रातारात विधान संशोधन गरियो। अहिले पनि पार्टी नेतृत्वलाई सहज हुनेगरी उमेरहद निलम्बन गरिएको छ। एमालेमा पार्टीको विधानभन्दा व्यक्ति हावी भएको हो?
उमेरहदको कुरा गर्ने एउटा म पनि हो। उमेरहद ७० पनि होइन ६५ वर्ष राख्नुपर्छ। अहिले धेरै पुस्ताहरू जन्मिसक्यो। एउटै मान्छे लामो समयसम्म बसिरहनु पर्छ,उसले नै गर्नुपर्छ भन्ने हुँदैन।
त्यसैले उमेरहद लागू भयो भने नयाँ पुस्ता आउन सक्छन् भन्ने हो। तर,उमेरैबाट छेकेर नेतृत्वमा प्रवेश नै नगराउने पनि नगरौं भन्ने कुरा आयो। म आफैं पनि ७० वर्षको भएँ,उपाध्यक्ष छु। अरु पनि ७० वर्ष हुनुभयो,अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ। अनि हामी चाहिँ बस्ने अरूलाई चाहिँ निषेध भन्न मिल्यो त?
त्यसो त सुरुमा आफैंले छोड्नुपर्यो होइन र?
सबैभन्दा १ नम्बरमा त मैले छोड्नुपर्छ। त्यसैले राजनीतिमा उमेरहद राख्नुहुँदैन भन्ने हो। त्यस्तो भनेर एउटै मान्छेले पाइरहनु पर्छ भन्ने चाहिँ होइन।
केपी ओलीपछि एमालेको आगामी नेतृत्व को?
अहिले चर्चा चलेको छैन र चर्चा चलाउन आवश्यक पनि छैन। अहिले आफ्नो हैसियत र जिम्मेवारी अनुसार सबैले काम गर्नुपर्छ। पछि महाधिवेशनले जे निर्णय गर्छ,त्यही हुन्छ। अहिलेदेखि चलखेल गर्नु भनेको पनि पार्टीभित्र अस्वस्थता फैलाउनु हो।
पूर्वउपाध्यक्ष तथा राष्ट्रपति विद्यादेवी भण्डारी फेरि पार्टीमा सक्रिय हुनुहुन्छ भन्ने चर्चा छ। त्यसैको तयारी लुम्बिनीमा देखिएको भन्ने छ नि!
मैले त्यो चर्चा सुनेकै छैन। माथिल्लो ओहदामा पुगेर मानसम्मान सबै पाइसकेपछि तल झर्ने स्थितिमा पुग्नु हुँदैन भन्ने मलाई लाग्छ। नेपालमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको छुट्टै सम्मान छ।
उहाँ राजनीतिमा फर्किनु हुँदैन भन्न खोज्नु भएको हो?
फेरि राजनीतिमा आएर कस्तो संस्कार स्थापित गर्न खाेजेको हो? मैले व्यक्ति विशेषलाई भनेको होइन तर एउटा मान सम्मान स्थापित भइसकेपछि कोहि पनि फेरि तल झरेर पार्टीमा काम नगरे हुन्थ्यो भन्ने मेरो सुझाव हो।
माधव नेपाल एमालेमा फर्किने र एमालेले फर्काउने सम्भावना कति छ?
अहिले त्यो चर्चा चलेको छैन। कम्युनिष्टहरू साह्रै छरपष्ट र छिन्नभिन्न भए। कम्युनिष्टहरूको मन फराकिलो हुनुपर्छ भनिन्छ तर साह्रै साँघुरो भयो।
कम्युनिष्टहरू मिल्नै नसक्ने भए। जसले गर्दा कम्युनिष्टहरू यति छिन्नभिन्न भए कि त्यो हेर्न लायक पनि छैन। सबै नीति,विचारहरू एउटै छ। तर,पनि पदबिना बाच्नै नसक्ने अवस्थाले कम्युनिष्टहरू छुट्टिए। वास्तवमा कम्युनिष्टहरू धेरै संकीर्ण भए।
पदकै लागि माधव नेपालले एमाले छोड्नु भयो?
माधव नेपालको पनि आफ्नै केही होला। नेतृत्वमा उहाँको आफ्नो टसल होला। तर अर्को पार्टी बनाएर नेता बन्नु भनेको संकीर्णता हो।
तपाईंको उपराष्ट्रपतिमा चर्चा भयो उम्मेदवार बन्नुभएन। संसदीय निर्वाचनमा पनि उम्मेदवार बन्नुभएन। सक्रिय राजनीतिबाट बिदा लिन खोज्नु भएको हो?
पार्टीमा त सक्रिय नै छु नि। संसदीय भुमिकामा मात्रै नगएको हो। म दुईपटक मन्त्री भएँ,राष्ट्रियसभा,प्रतिनिधिसभा,संविधानसभा र प्रदेशमा पनि गएँ। मुख्यमन्त्री पनि भएँ। मन्त्रीहरू धेरै लामो नपाए पनि थोरै समय पाएँ। त्यसैले काम गर्न नपाएको जस्तो महसुस चाहिँ मलाई हुन्छ।
मैले धेरै पाइसकेको छु। अब मैलेजस्तै दु:ख कष्ट गरेको साथीहरू र युवाले अवसर पाउनुपर्छ। त्यसैले म युवाहरूको लागि छोड्न तयार छु। अब हामी अभिभावक भएर बस्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।