|

काठमाडौं : गत बुधबार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो। भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आफ्नो मन्तव्य दिएर बाहिर निस्किएका उनीमाथि खुकुरी प्रहार भएको थियो। 

नुवाकोटका श्यामबाबु सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका थिए। त्यसलगत्तै सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

खुकुरी प्रहार गर्नुअघि सापकोटा कार्यक्रममै सहभागी भई भाषण सुनेका थिए। प्रहरीले नियन्त्रण लिने क्रममा उनले एमसीसीको विरोध गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए। 

नेतामाथि यसरी सार्वजनिक स्थलमै आक्रमण भएको यो पहिलो घटना भने होइन। वर्षाैंदेखि नेपालमा विभिन्न पार्टीका नेताहरू जनताको आक्रोशको शिकार हुँदै आएका छन्। 

विभिन्न कालखण्डमा नेताहरूले जनताको मुक्कादेखि,जुत्ता चप्पल र ढुंगासमेत भेटेका छन्। 

मुक्का र जुत्ता चप्पल खाने भिआइपी

​नेपालका वर्तमान राष्ट्रपति तथा तत्कालीन समयका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रमण भएपछि नेताहरूमाथिको आक्रमण सुरु भएको देखिन्छ। 

पौडेलमाथि २०५१ सालमा स्थानीय विकासमन्त्री रहेका वेला तत्कालीन राष्ट्रियसभाका सदस्य गोल्छे सार्कीले सभाहलमै हातपात गरेका थिए। उनले तत्कालीन एमाले महासचिव मदन भण्डारीको हत्या काण्डलाई लिएर पौडेलमाथि हातपात गरेका थिए।

नेताहरूमध्ये सबैभन्दा धेरै आक्रमणको सामना गरेका नेता हुन्, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

प्रचण्डमाथि भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला १ मंसिर २०६९ मा उनलाई बाग्लुङका २५ वर्षीय पदम कुँवरले थप्पड हानेका थिए। कुँवर वैद्य माओवादीका सदस्य थिए।

संविधान निर्माणका लागि मस्यौदा सुझाव संकलन गर्ने क्रममा सिराहामा २ साउन २०७२ मा पनि प्रचण्डमाथि ढुंगा र बोतल प्रहार भएको थियो। 

कञ्चनपुरको ढक्कापुरमा २७ कात्तिक २०७० मा उनलाई लक्षित गरेर शक्तिशाली विस्फोट गराइएको थियो। सडकको पाँचदेखि ७ मिटर छेउमा विस्फोटका लागि ४ सय मिटर तार जोडिएको पाइएको त्यसवेला सुरक्षानिकायले निष्कर्ष निकालेको थियो। यद्यपि, घटनामा कुनै क्षति भएन।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि पनि २३ मंसिर २०७३ मा जुत्ता प्रहार भएको थियो। पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा कालो झण्डा देखाउँदै कैलालीका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता हानेका थिए।

नेकपा नेता एवं नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पनि ६ माघ २०६७ मा कार्यकर्ताले झापड हानेका थिए। सुनसरीको भरौल–१ मा आफ्नै कार्यकर्ता देवीप्रसाद रेग्मीको निशानामा उनी परेका थिए।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला पनि १३ असोज २०६९ मा कार्यकर्ताबाट कुर्सी आक्रमणमा परे। कपनमा आयोजित कार्यक्रममा नेविसंघका प्रवेश बस्नेतले कुर्सी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए।

वर्तमान रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई महिला सभासद्ले सार्वजनिक कार्यक्रममै चप्पल वर्षाइन्। विक्रम संवत् २०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले खड्कामाथि चप्पल प्रहार गरिन्। उनले पहिलो संविधानसभाको निर्वाचनताका एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्याको रिस पोख्दै खड्कालाई चप्पल हानेकी थिइन्। 

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सभासद् झक्कु सुवेदीलाई पनि १९ वैशाख २०६८ प्रेमराज देवकोटाले तीनकुनेमा झापड हानेका थिए।

विश्वभरका नेता, जसले खाएका छन् जुत्ता

नेताहरूमाथि आक्रमण नेपालमा मात्रै होइन‚ अरू देशमा पनि हुने गरेको छ। विकसित मुलुकका नेताहरू समेत जनताको आक्रोशको शिकार बन्ने गरेका छन्। 

सन् २००८ मा एक पत्रकारले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ता प्रहार गरेका थिए। बुसमाथि जुत्ता प्रहार गर्ने ती पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो।  सन् २०१४ मा अमेरिकाकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनमाथि जुत्ता प्रहार भएको थियो।

जुत्ता प्रहारको सामना चीनका पूर्वप्रधानमन्त्री बेन जियाबाओदेखि इरानी पूर्वराष्ट्रपति मोहम्मद अहमदिनिजादसम्मले गर्नुपरेको थियो।

फेब्रुअरी २००९ मा लन्डनमा तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जियाबाओमाथि जर्मन नागरिकले जुत्ता प्रहार गरेका थिए।

डब्लिनमा सेप्टेम्बर २००९ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरमाथि जुत्ता र अण्डा प्रहार भएको थियो। अगस्ट २००९ मा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीमाथि बेलायतको बर्मिङघममा जुत्ता प्रहार भएको थियो।

फेब्रुअरी २०११ मा पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफ लन्डनमा सभालाई सम्बोधन गरिरहेका वेला एक व्यक्तिले जुत्ता हानेका थिए। उनीहरूले अमेरिकामा पाकिस्तानी नागरिकको गिरफ्तारीको विरोध गरिरहेका थिए।

११ मार्च २०१७ मा लाहोरमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफमाथि पनि जुत्ता प्रहार भयो। यसको एक वर्षपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथि पनि जुत्ता हानिएको थियो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि ३ वर्षको बीचमा २ पटक जुत्ता प्रहार भए। भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीमाथि उनकै पार्टीका कार्यकर्ता पावस अग्रवालले चप्पल प्रहार गरेका थिए। 

१५ अगस्ट २००९ को स्वतन्त्रता दिवसमा जम्मु कश्मीरका तत्कालीन मुख्यमन्त्री उमर अब्दुल्लामाथि जुत्ता प्रहार भएको थियो। २३ जनवरी २०१२ मा देहरादूनको एक चुनावी सभामा कांग्रेस नेता राहुल गान्धीमाथि पनि जुत्ता प्रहार भयो।

बढ्दै सुरक्षा चुनौती

गत बुधबार नेपाली कांग्रेसका महामन्त्री यादवमाथि दिन दहाडै सार्वजनिक स्थलमा नै आक्रमण भएपछि भिआइपीको सुरक्षामाथि प्रश्न उठेको छ। 

संसद्‌मा विभिन्न दलका सांसदले उनीमाथि भएको आक्रमणको विरोध गर्दै सुरक्षा चुनौती बढेको भन्दै आपत्ति जनाएका थिए। 

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री यादवमाथि भएको आक्रमणले काठमाडौंमा एक्लै हिँड्न नसक्ने अवस्था आएको बताए। 

‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौँमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो। जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो। हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ’, थापाले भनेका थिए। 

संसदमा बोल्ने अन्य सांसदहरूले पनि यादवमाथिको आक्रमणले सुरक्षा चुनौती बढाएको भन्दै सरकारको जवाफ मागेका थिए। सभामुख देवराज घिमिरेले उक्त विषयमा जवाफ दिन सरकारलाई निर्देशन समेत दिएका थिए। 

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत भिआइपीले सजगता नअपनाउदा आक्रमणको घटना भइरहेको बताउँछन्। 

सुरक्षाको हिसाबले केही चुनौती बढे पनि नेताहरूले भिआइपी नीति अवलम्बन नगर्दा आक्रमणको घटना हुने गरेको कडायतको भनाइ छ। 

‘उहाँहरू भीडमा जाँदा सजग हुनुपर्छ। सुरक्षा क्षेत्रबाट दिने सुरक्षाको व्यवस्था हामी गर्छौं तर कार्यकर्ता भन्दैमा उहाँहरू धेरै नजिक जानु भएन,भिआइपी नीतिको अवलम्बन गर्नुपर्छ’, प्रवक्ता कडायतले भने। 

राजनीतिक वितृष्णाको परिणाम

राजनीतिक विश्लेषक डम्बर खतिवडा राजनीतिक दलहरूकै कारण भिआइपीमाथि आक्रमण भइरहेको बताउँछन्। 

राज्यप्रतिको विश्वास गुम्दै जानु, समाज अमर्यादित बन्दै जानु र राजनीतिलेप्रति वितृष्णा बढ्दै जानु यस्ता आक्रमणको घटनाको कारण रहेको खतिवडाको भनाइ छ। 

‘जनताले राज्यप्रतिको विश्वास गुमाउँदै जानु, समाज अमर्यादित बन्दै जानु र भिआइपीले नै गलत राजनीतिलाई जोड दिँदा वितृष्णा बढेको र यसले यस्ता आक्रमण हुने गरेका छन्’, खतिवडाले भने। 

खतिवडाले सुरक्षानिकाय पनि बलियो हुन आवश्यक रहे पनि राजनीतिक संस्कार राम्रो नभएसम्म यस्तो घटना रोक्न नसक्ने बताए। जनतामा मनोवैज्ञानिक रूपमा राजनीतिमा नकारात्मक असर पर्न जाँदा यस्तो घटना भइरहेकाले राजनीतिक दलहरूले नै जनअपेक्षित काम गर्न पनि उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.