|

गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ।

रौतहटमा ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धानबालीखेती गर्दै आएका छन्। रौतहटमा रोगले व्यापक क्षति गरेकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषकहरूको भनाइ छ।

अन्य वर्षभन्दा यो वर्ष छिटै मनसुन सक्रिय भई पानी परेकाले किसानले सुरुमा गोडमेल गरेको धानमा आवश्यकताभन्दा बढी युरिया मल प्रयोग गरेकाले रोगको प्रकोप देखा परेको कृषि ज्ञानकेन्द्र रौतहटका अधिकृत विप्लवकुमार गुप्ताले बताए।

सुरुमा रौतहटको उत्तरी भेगदेखि दक्षिणी भेगसम्म सरेकाले किसान पीडित भएका हुन्। जिल्लाका अधिकांश ठाउँमा यो रोग देखा परे पनि क्षतिको यकिन हुन सकेको छैन। धानमा रोग देखा परेपछि किसानले आफैं निदान गर्दै आएका छन्। कृषि प्राविधिकले पनि रोग निदानका लागि औषधि छर्किन सल्लाह सुझाव दिएका छन्।

रौतहटका किसानले बढी मात्रामा सोना मन्सुली खेती गर्ने भएकाले यो धानबालीमा बढी मात्रामा गबारो, पात बेरुवा र ब्लास्ट रोग लाग्ने गरेको कृषि ज्ञानकेन्द्र रौतहटका अधिकृत तथा सूचना अधिकृत गुप्ताले बताए।

गबारो धानमा लाग्ने शत्रुजीव कीरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ।

कीराको प्रकोप तीव्र रूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ। अधिकृत गुप्ताका अनुसार कीराको सङ्क्रमणले अहिले धानका बोट मर्दै गएका छन्। यसरी बोट मरेमा उत्पादनमा कमी आउन सक्ने सम्भावना बढेको छ।

गबारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन्। यसका लागि रासायनिक विषादीको प्रयोग तथा सूक्ष्म तत्त्वको प्रयोग गर्न अधिकृत गुप्ताले सुझाव दिए। रौतहटमा कुल ३५ हजार ४ सय हेक्टरमा धान खेती गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.