|

काठमाडौँ : मानिसको जीवनशैलीसँगै फिजियोथेरापीको महत्त्व बढ्दै गएको छ।

रोगको पहिचान नगरी फिजियोथेरापी गर्दा त्यसले थप जटिलता निम्त्याउने चिकित्सकहरू बताउँछन्। मानव शरीरका नसा, मांसपेशी‚ हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदिमा आउने समस्यालाई आधुनिक उपकरण, शारीरिक व्यायाम वा जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो शैलीमा फर्काउन फिजियोथेरापीको महत्त्वपूर्ण भूमिका मानिन्छ।

यसै सन्दर्भमा ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत अर्थोपेडिक फिजियोथेरापिस्ट डा.अमरेन्द्र झासँगन्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश।

फिजियोथेरापी के हो ?

फिजियोथेरापी एउटा उपचार पद्धति हो। यसमा फरकफरक समूह हुन्छन्। यसमा हाइड्रोथेरापी‚ इलेक्ट्रोमोडालिटी मेसिन जस्ता विविध मेसिनबाट उपचार गरिन्छ। यस्तै निश्चित अभ्यासको पनि मद्दत हुन्छ। अभ्यासमा पनि फरकफरक तहको कुरा हुन्छ, काइरोप्याट्रिक मोबिलाइजेसन, मेनुअल मोबिलाइजेसन भन्छौँ। शरीर तन्काउने कुरा हुन्छ। यस्ता विविध कुराको समिश्रणबाट उपचार गरिने पद्धति फिजियोथेरापी हो। फिजियोथेरापी विशेष गरी हाडजोर्नी, नसा सम्बन्धी, मुटुको पुनःस्थापनाका लागि, श्वासप्रश्वास सम्बन्धी पाँचवटा क्षेत्रमा हुन्छ।

यसैगरी बालबच्चामा वंशाणुगत रोग, जन्मजात रोग वा जोर्नीहरू बिग्रिएर वा पोलाइका कारणले जोर्नीहरू बिग्रिएर, जन्मजात अंगभंग भएका, आंशिक अशक्तता भएकालाई फेरि त्यसलाई पुनःस्थापित गर्ने एउटा शाखा छ। यसैगरी खेलाडीहरूका लागि पनि फिजियोथेरापी आवश्यक हुन्छ। समग्रमा हामीले हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापना, बच्चाको श्वासप्रश्वास र खेलाडीहरूका लागि औषधि आंशिक प्रयोग गरेर अधिकतम शारीरिक अभ्यास वा सहयोगी सामग्रीको मद्दतले पुनःस्थापित गरेर पहिले जस्तो जीवनमा फर्काउने एउटा विधि हो।

विभिन्न रोगको उपचारका लागि चिकित्सकहरूले फिजियोथेरापी गर्न सल्लाह दिनुहुन्छ किन ?

मानौँ कसैको हाडजोर्नीकै अप्रेसन भयो। अप्रेसन सफल भए पनि उसको हातगोडा भाँचिएको वा अप्रेसन गरेको ठाउँमा चाल हुँदैन। मांसपेशी कमजोर हुन्छ, जोर्नीको पहिलेको अवस्थामा चाल हुँदैन। त्यो चिजलाई पहिलेकै अवस्थामा ल्याउन सकिएन भने अपाङ्ग जस्तै हुन्छ। अप्रेसन भए पनि त्यो अंगलाई पुनःस्थापना गराउन प्लाष्टरपछि हेर्छौं। बिग्रिएको जोर्नीलाई पहिलेको अवस्थामा फर्काउन त्यसैले पहिले जस्तै काम गर्न सकोस् भनेर भन्छौँ। जसरी अप्रेसन भएपछि निमोनिया भयो भन्ने सुन्छौँ। अस्पतालमा बस्दाबस्दै निमोनिया भयो भन्ने भयो। त्यसैले बेडमा जब बिरामी सुतिरहेको अवस्था हुन्छ, त्यो वेला पनि समस्या हुन्छ। त्यो हुन नदिन फिजियोथेरापी सिफारिस गर्छौं।

फिजियोथेरापी र व्यायाममा के फरक छ ?

थेरापी शब्दको अर्थ हुन्छ उपचार। फिजियो भनेको नै भौतिक रूपमा भन्ने हुन्छ। भौतिक रूपमा गर्ने  व्यायाम भन्ने हो।

स्वस्थ व्यक्ति र रोग भएको व्यक्तिले गर्ने व्यायाम फरक छ। समस्या भएको भागलाई पुनःस्थापना गर्ने फरक छ। अप्रेसन भइसकेको मान्छेलाई फेरि पहिलेको जस्तै पुनःस्थापना गर्ने फरक छ। समग्रमा हामीले एउटा शब्द प्रयोग गरेका छौँ, फिजियोथेरापी। त्यसैले थोरै कुरा बुझ्दा अलमलिने हुन्छ।

जस्तोः लेजर थेरापी भनेर बजारमा विज्ञापन गर्नुहुन्छ। लेजरमा पनि तीन प्रकारको लेजर हुन्छ। एउटा सर्जिकल लेजर हुन्छ, जस्तैः किड्नीको ढुंगा फुटाउने, त्यो सर्जिकल प्रोस्युडियर हो। त्यो पनि लेजरबाट छ। जस्तोः एपेण्डिक्सको भयो वा गल्पब्लाडरको भयो। त्यस्तोमा पनि लेजरबाट सर्जरी गर्ने विधि छ। अर्को भयो छालाको उपचार गर्ने विधि लेजरथेरापी भन्ने हुन्छ। तेस्रो हुन्छ, थेराप्युटिक लेजर। लेजर भनेको फिजियोथेरापीको मेसिन हो। फिजियोथेरापीमा पनि व्यायाम छ तर सबै व्यायाम फिजियोथेरापीमा हुँदैन। रोगअनुसार मात्रै फिजियोथेरापी हुने हो।

कतिपयलाई व्यायाम वा थेरापी गर्दा शारीरिक रूपमा असर पर्छ नि ?

म एउटा रोगको उदाहरण दिन्छु, कम्मरको हड्डी सरेर अगाडि वा पछाडि जाओस्। कम्मरले खुट्टातिर पनि दुखाउँछ। कम्मरकै अभ्यास छ। सामान्य रूपमा नसा च्यापिएर पनि गोडामै दुख्छ, कम्मरमै दुख्छ। हड्डी खिइएर पनि कम्मरमै दुख्छ। मांसपेशीको कमजोरीका कारण पनि कम्मरमै दुख्छ। कम्मरकै दुखाइ सबै किसिमको छ तर समस्या चाहिँ एउटै ठाउँमा छ। यसमा उपचार फरकफरक हुन्छ। कम्मर सामान्य दुखेकोलाई गर्ने व्यायाम र हड्डी त्यहाँबाट सरेर गएकोलाई गर्ने व्यायाम। अरूमा घोप्टो पर्न भन्छौं तर हड्डी सरेकोमा घोप्टो पर्‍यो भने झन् जटिल अवस्था निम्त्याउँछ।

रोगको हिसाबले व्यायाम फरक फरक हुन्छ। हरेक व्यायाम हरेक रोगमा ठिक हुँदैन। हाम्रो गाउँघरमा पनि दुख्यो वा सुन्नियो भने तातोले सेक्ने र तेल लगाएर मालिस गरिदिने चलन थियो। केही रोगमा त्यो ठिक छ, कतिपय रोगमा बेठिक हुन्छ। तेल लगाएर, मलम लगाएर जोडले चलाए झन् सुन्निएर आउँछ। झन् हिँड्न नसक्ने हुन्छ। चोटपटक लागेका वेला मर्कियो, सर्कियो भने तातोले सेक्यो भने झन् सुन्निएर आउँछ। कुनमा के चिज ठिक हो कुनमा के चिज बेठिक हो भनेर हामीले बुझ्नुपर्‍यो। रोगअनुसार अभ्यास गर्नुपर्छ, नत्र बिग्रिन्छ।

उपचारमा फिजियोथेरापीको के महत्त्व छ ?

कतिपय मानिसले तन्दुरुस्त हुन फिजियोथेरापी गर्छन् त कतिपयले रोग नलागोस् भनेर। कतिपयले म खेलाडी हुँ यो समस्या नहोस् भनी फिजियोथेरापी गर्छन्। यस्तो समस्या नहोस् भनेर बच्नका लागि प्रोटेक्टिभ मेकानिजम आवश्यक पर्छ। रोग लागिसकेपछि उपचार गर्ने विधिमा पनि फिजियोथेरापी चाहिन्छ। तीनवटा सामान्य उपाय छन्। सामान्य समस्या भएकाहरूलाई सावधान बनाउँछौँ। जस्तैः घुँडा दुखेको छ भने भुईंमा टुक्रुक्क नबस्नु, पलेटी नकस्नु, धेरैबेरसम्म नउभिनु। दोस्रो हामीले दुईचारवटा तरिका बताइदिन्छौं। घरमा नियमित रूपमा व्यायाम गर्नुहोस्।

अर्को छ, पीडा धेरै हुन्छ, अभ्यास गर्नै नसक्ने, हिँड्डुल गर्नै नसक्ने, त्यस्तो विधिमा हामीसँग दुखाइ कम गराउने केही विधि र मेसिन छन्, त्यो प्रयोग गर्छौं। मेसिनको प्रयोगले बिस्तारै दुखाइ कम गर्छौं। अर्कोतिर यो चिज नगर्नु सावधानी अपनाउनु भनेर भन्छौं। निक्याब र निब्रेस छ, ती चिज लगाइदिन्छौं। यो चिजले तपाईंको चलायमान कम हओस्, थप नोक्सान नहोस्। यो चिज गरेर दुखाइ कम गर्न मेसिनको प्रयोग गर्छौं। हड्डी खिइसकेको छ वा बांगिसकेको छ भने केही कसरत सिकाइदिन्छौं। पछि उहाँले घरमा गर्नुहुन्छ।

तेस्रो पक्ष रिकरेक्सन विधि भन्छौं। कसैको ढाड बांगियो, कसैको गर्धन बांगियो। कसैको काम गर्ने शैली कम्प्युटर, मोबाइलमा निहुरिने बानी छ। सो स्थितिलाई सच्याउन फिजियोथेरापिस्टको निगरानी आवश्यक पर्छ। त्यसमा काइरो मोबिलाइजेसनहरू गर्छौं। यसमा उहाँको बिग्रिएको सिट र शरीरको एट्टीच्युट बिग्रिएको छ। त्यो चिजलाई हामीले सच्याएर रि–पोजिसनिङ गरेर फिट गर्ने विधि भयो।

आधुनिक जीवनशैलीमा कसैको हड्डी कमजोर हुने त कसैको वजन बढी हुन्छ। शारीरिक अभ्यास कम हुन्छ। खानपान नियन्त्रित र सन्तुलित छैन, यस्तो कारणले विशेष गरेर हाडजोर्नी र नसाको समस्या तीव्र गतिमा बढेको छ। आजको समयमा फिजियोथेरापीको सान्दर्भिकता झन् बढेर गएको छ।

फिजियोथेरापी गर्दा कस्ता कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ?

फिजियोथेरापी गर्दा रोगअनुसार केही चिज गर्न मिल्ने र केही चिज गर्न नमिल्ने हुन्छ। मानौं चाल बिग्रिएका कारण कसैको मुटुमा पेसमेकर जडान गरिएको छ। मुटुको चाललाई फेरि गतिमा राख्न आर्टिफिसियल डिभाइस पेसमेकर जडान गरिएको छ। अब यो डिभाइस लगाएर एमआरआई गर्न मिल्दैन। त्यो लगाएर सिटी स्क्यान गर्न मिल्दैन।

जहाँ वेबको काम हुन्छ त्यसमा प्रयोग गर्न मिल्दैन। त्यो गर्‍यो कि त्यसलाई कन्डक्ट गर्छ, अन्तिममा चाललाई स्लो गरिदिन्छ र अन्तिममा हृदयघात हुनसक्छ। त्यसैले त्यस्ता चिजमा सावधानी अपनाउनुपर्छ। जस्तैः अप्रेसन गरेको छ मेटलको सामग्री शरीरभित्र हालेको छ भने त्यस्तो चिजमा गर्न मिल्दैन। रेडियोथेरापी, क्यामोथेरापी क्यान्सरको ट्रिटमेण्टबाट गराइरहेका व्यक्तिहरूलाई तत्कालै फिजियोथेरापी गर्न मिल्दैन।

गर्भवती भएको ठाउँमा कुनै पनि विद्युतीय मेसिनबाट फिजियोथेरापी गर्न मिल्दैन। अल्सर, घाउ भएको व्यक्तिलाई सामान्य रूपमा गर्न मिल्दैन। हरेक चारपाँचजनामा एकजनामा सुगर छ। सुगरका बिरामीलाई फिजियोथेरापी गर्नुपरे सावधानी अपनाउनुपर्ने हुन्छ।

कस्ताकस्ता बिरामीले फिजियोथेरापी गर्नुपर्ने हुन्छ ?

तन्दुरुस्त हुन र कुनै अंगमा समस्या नहोस् भनेर फिजियोथेरापी गर्न मिल्छ। कुनै पनि रोग लागेको छ भने त्यो रोगबाट बच्न पनि फिजियोथेरापी गर्न मिल्छ। हाडजोर्नीको समस्या भएको, घुँडा दुखेको, ढाड दुखेको, कम्मर दुखेको, कुम जाम भएको, नाडीको नसा जाम भएको, कम्मर, गर्धनको नसा च्यापिएको, जन्मजात जोर्नीहरू बिग्रिएको, कसैलाई प्लाष्टर र अप्रेसनपछि जोर्नी बिग्रिएको छ।

पोलेर, जलेर जोर्नीहरू खुम्चिएको छ। कसैको सर्जरी गरेपछि बिग्रिएको छ। कसैलाई लेप्रोसी भन्ने रोग छ, त्यसको कारणले बिग्रिएको छ वा कसैलाई निमोनिया छ वा कसैलाई दम पटकपटक हुन्छ, यस्ता विविध रोगमा फिजियोथेरापीको मद्दत लिन सकिन्छ। यस्ता रोगहरूको उपचार गरिन्छ। फिजियोथेरापीमा नयाँ नयाँ प्रविधि आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.