|

काठमाडौं : सरकारले शिक्षक पेसागत विकास प्रारूप २०७२ लाई परिमार्जित गरी नयाँ व्यवस्थासहितको मस्यौदा तयार गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार केन्द्रको वेबसाइटबाट शिक्षक पेसागत विकास प्रारूप,२०७२ (परिमार्जित पहिलो संस्करण २०८०) को मस्यौदा सार्वजनिक गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूप २०७२ मा समसामयिक परिमार्जनपश्चात् लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाहरूको उपस्थितिमा कार्यशाला आयोजना गरिएको थियो।

कार्यशाला आयोजना गरी परिमार्जित मस्यौदामाथि छलफल गराई उक्त कार्यशालाबाट प्राप्त राय सुझाव तथा पृष्ठपोषणलाई समेटेर शिक्षक पेसागत विकास प्रारूप, २०७२ (परिमार्जित पहिलो संस्करण, २०८०) को मस्यौदा तयार गरिएको विकास केन्द्रका प्राविधिक अधिकृत जगन्नाथ अधिकारीले जानकारी दिए।

उनका अनुसार शिक्षकको निरन्तर पेसागत विकासको दायरालाई फराकिलो बनाउँदै शिक्षण सिकाइमा सुधार ल्याउन यो मस्यौदा तयार पारिएको छ। यहाँ विभिन्न स्थानमा सञ्चालनमा आएका 'क’ वर्गका ९ ओटा शिक्षक तालिम केन्द्रहरू र ’ख’ वर्गका २० वटा तालिम केन्द्रहरू समायोजन तथा खारेज भई प्रत्येक प्रदेशमा एक-एकवटा मात्र रहने गरी हाल मुलुकभर जम्मा ७ ओटा प्रदेशस्तरीय शिक्षा तालिम केन्द्रहरू कायम भएका छन्।

ती तालिम केन्द्रहरूले अनलाइन तथा अफलाइन विधिबाट एकमहिने प्रमाणीकरण शिक्षक तालिम (दुई चरणमा) र कस्टमाइज्ड शिक्षक तालिम सञ्चालन गर्दै आएका छन्। सरकारले २०७९/०८० देखि कस्टमाइज्ड शिक्षक तालिम शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूबाट पनि सञ्चालन गर्ने व्यवस्था गरेको छ।

मापदण्डको विकास गरी प्रशिक्षक तयारी गरिने 

शिक्षक पेसागत विकास आधारअन्तर्गत शिक्षक पेसागत विकास तालिम र कस्टमाइज्ड शिक्षक तालिमका पाठ्यक्रम वा पाठ्यक्रम तथा तालिम सामग्री विकास गर्दा विद्यालय शिक्षाको पाठ्यक्रम, शिक्षकका शिक्षण सिकाइसम्बन्धी वास्तविक आवश्यकता, प्रणालीको आवश्यकता आदिका आधारमा गरिने मस्यौदामा उल्लेख छ।

‘विद्यालयमा गरिने परियोजना कार्य अभ्यासलाई प्रमाणीकरण शिक्षक तालिमको अभिन्न अंग बनाइनेछ,’ शिक्षक पेसागत विकास प्रारूपको मस्यौदामा भनिएको छ,‘प्रमाणीकरण शिक्षक तालिम र कस्टमाइज्ड शिक्षक तालिम सञ्चालनका लागि मापदण्ड विकास गरी सोका आधारमा प्रशिक्षक तयारी गरिनेछ।’

शिक्षक पेसागत विकास तालिमलाई आमनेसामने वा अनलाइनमा आधारित बनाइने, शिक्षक पेसागत विकासका लागि शिक्षक मेन्टरिङ कार्यमूलक अनुसन्धान, शिक्षक सञ्जाल र सम्मेलन, पाठ अध्ययन आदिलाई प्रभावकारी रूपमा उपयोगमा ल्याइने उक्त मस्यौदामा उल्लेख छ।

नवप्रवेशी शिक्षकलाई एकमहिना सेवा प्रवेश तालिम

सेवा प्रवेश तालिमअन्तर्गत शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भई पदस्थापनाका लागि पठाइएका नवप्रवेशी शिक्षकहरूलाई विकास केन्द्रबाट विकास गरिएको तालिम पाठ्यक्रममा आधारित भई एक महिना ( ३० कार्यदिन) को सेवा प्रवेश तालिम सञ्चालन गरिने व्यवस्था गरिएको छ।

एकमहिने सेवाप्रवेश तालिमको १५ दिन अवधि आमनेसामने वा अनलाइन वा मिश्रित विधिबाट र बाँकी १५ दिन अवधि विद्यालयमा आधारित हुनेछ।

‘नवप्रवेशी शिक्षकहरूलाई पेसागत जिम्मेवारी, दायित्व र भूमिकाप्रति सचेत गराई शिक्षण पेसाप्रति नवीन र सकारात्मक सोच विकास गर्ने, सिकाइ सहजीकरण सीप विकास गर्ने, अपांगता भएका र विभिन्न सिकाइ आवश्यकता भएका बालबालिकाको विकास तथा सिकाइमा सहजीकरण गर्ने सीप विकासको आधारको रूपमा यस तालिमलाई लिइने छ,’ मस्यौदामा उल्लेख छ। प्रत्येक नवप्रवेशी शिक्षकले यो तालिम अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ।

सिकाइ उपलब्धि बढाउने शिक्षक र मेन्टरलाई पुरस्कृत गरिने

उक्त मस्यौदाको शिक्षक मेन्टरिङमा मेन्टरिङ सहायताबाट विद्यार्थीको सिकाइ उपलब्धि बढाउने शिक्षक र मेन्टरलाई विद्यालय तथा स्थानीय तहबाट सम्मान तथा पुरस्कृत गर्ने पनि व्यवस्था गरिएको छ।

मस्यौदाअनुसार तालिम प्राप्त, अनुभवी र विज्ञ मेन्टरबाट सहकार्यात्मक तथा सहयोगात्मक शैली अवलम्बन गरी मेन्टरिङ सहायता सञ्चालन हुनेछ। शिक्षक मेन्टरिङको अवधि ६ महिनाको हुनेछ। शिक्षक मेन्टरिङ कार्यविधिले निर्धारण गरेका मेन्टीमा हुनुपर्ने क्षमता हासिल गर्ने गरी शिक्षक मेन्टरिङ सञ्चालन गरिने पनि भनिएको छ। 

यस्तो छ तालिमको संरचना

शिक्षक पेसागत विकास प्रारूप मस्यौदाको तालिम संरचनामा प्रमाणीकरण तालिम ३० कार्य दिनको हुने व्यवस्था गरिएको छ। ३० कार्यदिनलाई १५/१५ कार्यदिन हुने गरी दुई खण्डमा विभाजन गरिनेछ।

पहिलो खण्डको १५ कार्य दिने तालिम आमनेसामने, अनलाइन तथा मिश्रित पद्धतिमा आधारित भई समकालिक र असमकालिक विधिहरूको प्रयोग गरिनेछ।

‘दोस्रो खण्डको १५ कार्यदिने विद्यालयमा आधारित तालिमको क्रियाकलापहरू पहिलो खण्डको तालिम समाप्त भएको मितिले ६० दिनभित्र उपलब्ध गराइएको तालिकामा दिइएका कार्यहरू सम्पन्न गर्नुपर्ने छ र सम्पादन गरेका कार्यहरूको विस्तृत प्रतिवेदन तयार गरी शिक्षा तालिम केन्द्रले निर्धारण गरेको मितिमा अनिवार्य रूपमा प्रस्तुतीकरण गर्नुपर्ने छ,’मस्यौदामा उल्लेख छ।

विकास केन्द्रले भन्यो - ७ दिनभित्र राय सुझाव पठाउनू

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त तयार भएको मस्यौदा प्रारूपको अध्ययन गरी ७ दिनभित्र राय सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन शिक्षासम्बद्ध सरोकारवालाहरूलाई आग्रह गरेको छ।

विकास केन्द्रले जारी गरेको सूचनामा भनिएको छ,‘केन्द्रले शिक्षकको निरन्तर पेसागत विकासको दायरालाई फराकिलो बनाउँदै शिक्षण सिकाइमा सुधार ल्याउन तयार गरिएको  शिक्षक पेसागत विकास प्रारूप, २०७२ (परिमार्जित पहिलो संस्करण, २०८०) को मस्यौदा प्रारूपको अध्ययन गरी रचनात्मक राय सुझाव तथा पृष्ठपोषण उलब्ध गराइएको इमेल ठेगानामा ७ दिनभित्र उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ।

पूर्णपाठ

​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.