मन्त्रालयका सचिव भन्छन् : थाहै छैन

|

धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ।

बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताको दबाबमा अस्पतालका चिकित्सकीय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो।

सुदूरपश्चिमका ठूला मेडिकल माफिया मानिने दुष्यन्त बस्नेत र मुरलीधर जोशीसहितको दबाब र स्वास्थ्य मन्त्रीको सचिवालयको निर्देशनमा मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार डाक्टर जोशीको मन्त्रालयमै काज फिर्ता गराइएको स्रोतको दाबी छ। डाक्टर जोशी संघअन्तर्गत दरबन्दी रहेका बझाङ अस्पतालका एकमात्र स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्।

१५ महिना अघिमात्रै उनलाई बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाइएको थियो। उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवासहित प्रशासनिक काम प्रभावित बनेको छ।

उसै पनि दुर्गम मानिने बझाङमा विशेषज्ञ जनशक्ति जान समेत नमान्ने अवस्था छ। त्यसमाथि झन् राजनीतिक दबाब र माफियाहरूको हस्तक्षेपका कारण चिकित्सकलाई टिक्न समस्या भइरहेको बताइन्छ।​

सुदूरपश्चिम प्रदेशकै दुर्गम मानिने बझाङ, बाजुरामा स्वास्थ्य र जनस्वास्थ्य क्षेत्र यसै पनि लथालिङ्ग छ। त्यसैमा झन् केही समयदेखि लगातार वेला-वेला गइरहेको भूकम्पले पनि झन् सकस परेको स्थानीयले बताएका छन्।

छिनछिनमा बझाङवासीलाई झस्काइरहेको भूकम्पका कारण अस्पतालको सेवा प्रवाह र दैनिक काम पनि संकटमा परेको हो। यसै वेला मन्त्रालयले बिनाकारण अस्पतालका सेवा प्रभावित हुने गरी डाक्टर जोशीको काज फिर्ता गरेपछि थप समस्या भएको अस्पतालका निमित्त मेसु डा. इन्द्र शाहले जानकारी दिए। अहिले आफूले नै अस्पताल प्रशासन सम्हालिरहेको उनले बताए।​

एकमात्र विशेषज्ञ चिकित्सक रहेको बझाङ अस्पतालका डाक्टर जोशीलाई मन्त्रालय तान्दा प्रसूति शल्यक्रियासहितका सेवा बन्दजस्तै छन्। यस्तै सुत्केरीका जटिल अपरेशन पनि बन्द भएको बुझिएको छ। सेवा बन्द हुँदा बझाङसहितका अन्य जिल्लाका सेवाग्राहीलाई समेत मर्का परेको छ।

समाचार स्रोतको जानकारीअनुसार डाक्टर जोशीले मेडिकल व्यवसायीका बिलहरू र प्रदान गरिएका उपकरणसहितका सामग्रीमा गुणस्तर, पारदर्शिताको कुरा उठाउँदा काज फिर्ता गराइएको हो।

डा. जोशीले पनि केही व्यवसायीको चाहनामा आफ्नो काज फिर्ता भएको बताएका छन्। मेडिकल आपूर्तिकर्तालाई गुणस्तरीय उपकरण तथा सामग्री माग गरेर भुक्तानीमा कडाइ गर्दा राजनीतिक पहुँचका भरमा आफ्नो काज फिर्ता गरिएको उनको बुझाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने काज फिर्ता गरिनुको कारण आफूलाई थाहा नभएकाले प्रशासनमा बुझ्नुपर्ने बताए।

गत आवमा न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.