६ लाख घर रित्ताे

|

काठमाडौँ : नेपालमा रहेका कुल घरमध्ये सबैभन्दा बढी एक तले घर रहेका पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो।

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको विवरणमा उल्लेख छ।

तथ्यांकअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा २.३४ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुराना छन् भने सबैभन्दा कम १०० वर्षभन्दा बढीका घर ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ। उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ।

त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ। 

कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ। यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा एउटा खाता रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ। जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ।

राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तीय पहुँच कति छ, सीपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ ? लगायतका विषय समेटिएको बताए। उनले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि बताए।

उनले योजना तर्जुमा गर्नका लागि पनि यसको भूमिका हुने उल्लेख गरे। उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेको पनि बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.