५ इभेन्ट्समा २ सयभन्दा धेरै प्रतियोगी
५ इभेन्ट्समा २ सयभन्दा धेरै प्रतियोगी
ललितपुर : पाटनमा १३ औँ संस्करणको यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता शनिवार शुरु हुने भएको छ।
प्रत्येक वर्ष पाटनका विभिन्न टोलहरु यो प्रतियोगिताको आयोजक बन्ने गरेका छन्। जसअनुसार यो संस्करणको आयोजना संयुक्त रुपमा ओकुबहाल टोल सुधार समिति र महाबुद्ध युथ क्लबले गर्दै छन्।
एक हप्ता चल्ने प्रतियोगितामा ललितपुरका ७० टोलबाट २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने यल कप प्रतियोगिता संयोजक दीपेश शाक्यले जानकारी दिए।
आयोजकसमेत रहेको ओकुबहाल टोलबाट नै ४३ जनाले भाग लिने समिति अध्यक्ष यशकुमार शाक्यले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा यू-१५ ब्वाइज, मेन्स डबल्स, भेट्रान्स मेन्स डबल्स, मिक्स डबल्स र महिला एकल गरी ५ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको प्रमुख इभेन्टको रूपमा रहेको मेन्स डबल्समा विजेतालाई ट्रफीसहित ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ। उपविजेताले २५ हजार तथा तेस्रो हुने दुई जोडीले १०/१० हजार रुपियाँ पाउने छन्।
यू–१५ मा विजेताले २५ हजार नगद, उपविजेताले १५ हजार नगद र तेस्रो स्थानमा रहने दुई खेलाडीले ५/५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। मिक्स डबल्सको विजेताले २५ हजार नगद पाउँदा दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुवैलाई ५/५ हजार रुपैयाँ प्रदान गरिनेछ।
भेट्रान्समा विजेताले २०, उपविजेताले १० र तेस्रो हुनेले ५/५ हजार पाउनेछन्। महिला एकलमा विजेताले १५, उपविजेताले १० र तेस्रो हुने दुवैले ५/५ हजार हात पार्नेे छन्।
प्रतियोगिताको बजेट साढे ३० लाख ५८ हजार रुपैयाँभन्दा बढी रहेको समितिका अध्यक्ष शाक्यले जानकारी दिए।
गत १५ वर्षदेखि आयोजना हुँदै आएको यल कपले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतका खेलाडी उत्पादन गर्न सहयोगी भूमिका खेल्दै आएको छ।
आयोजक महाबुद्ध क्लबका अध्यक्ष दिल्जान शाक्यले पछिल्ला संस्करणका यल कपबाट धेरै अन्तरराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउँदै थप खेलाडी यो प्रतियोगिताबाट उत्पादन हुने जानकारी उनले दिए।
विसं २०६५ सालमा पहिलो पटक आयोजना भएको प्रतियोगिता बीचमा भूकम्प र कोरोनाका कारण दुई पटक हुन सकेन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।