|

विराटनगर : हिमाली जिल्ला संखुवासभा ‘सरुवा’ले पनि उत्तिकै परिचित छ। सरुवा (कोदोबाट बनाइएको विशेष पेय पदार्थ) राई समुदायको सांस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ। यसको विक्री वितरणले आर्थिक पाटोमा पनि टेवा पुर्‍याएको छ।

संखुवासभामा चैनपुरे करुवा र खाँदबारी नगरपालिका–४ मा पर्ने पाङ्पा अर्थात पाङमाली सरुवा तन्नेरी होस् या पाका उमेरका, सबैले त्यसको स्वाद लिएकै हुन्छन्। यसले महिलाहरूलाई आत्मनिर्भर समेत बनाएको छ। स्थानीयस्तरमा उत्पादन भएको वस्तु अर्थात् सरुवालाई स्थानीय सरकारले ब्राण्डिङ गर्नु जरुरी रहेको स्थानीय युवा लेलिन श्रेष्ठ बताउँछन्।

सरुवालाई मापदण्डअनुसार बनाएर विक्री वितरण गर्न सके स्थानीय बजारमा मात्रै नभएर अन्तरराष्ट्रिय बजारमा समेत बजारीकरण गर्न सकिने उनको भनाइ छ।

‘सरुवा राई समुदायको सांस्कृतिक पर्वमा प्रयोग गरिए पनि यसको व्यापारले स्थानीय महिलालाई आत्मनिर्भर बन्न टेवा समेत पुगेको छ’, उनले भने, ‘यसलाई मापदण्डअनुसार स्थानीय सरकारले ब्राण्डिङ बनाउनतर्फ ध्यान दिए यसले अन्तरराष्ट्रिय बजारलाई समेत तान्न सफल हुन्छ जस्तो लाग्छ।’

संखुवासभा आउनेहरूले यसको स्वाद लिने गरेको बताउँदै उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्नु स्थानीय सरकारले ध्यान दिनुपर्नेमा समेत जोड दिए।

सरुवालाई ब्राण्डिङ गर्नुपर्नेमा स्थानीय र प्रदेश सरकारले मात्रै पनि चासो दिएर पहल गर्ने हो भने ब्राण्ड हुन सक्ने संखुवासभाकै रोशन कुलुङ बताउँछन्। सरुवा आर्थिक पाटोसँगै पहिचान समेत जोडिको उनको भनाइ छ।

‘सरकारले रैथाने बाली उत्पादन तथा संरक्षणको कुरा गरिरहेको छ। त्यही चिज पनि उत्पादनमा वृद्धि हुन सक्छ किनकि सरुवाको कच्चापदार्थ त्यही नै हो’, उनले भने, ‘मौलिकता र आर्थिक पाटो समेत जोडिएकोले ब्राण्ड बनाउन जरुरी छ।’

पूर्व वडाध्यक्ष समेत रहेका सजित राईले सरुवालाई ब्राण्ड बनाउनुपर्छ भन्ने विषय उठान भएको बताए। यसलाई उभौली र उधौली पर्वमा लाग्ने बजारमा स्थानीय महिलाले विक्री वितरण गर्ने गरेको बताए।

स्थानीय प्रशासनले विक्री वितरणमा रोक लगाउने प्रयास समेत गर्ने गरे पनि सहजीकरण तथा समन्वय गरेर बजारमा बेच्ने गरेको उनको भनाइ छ। 

‘पहिले पहिले हाम्रो समुदायका छोरीचेली, भाउजूबुहारीले बजारमा बेच्थे जसले आर्थिक रूपमा टेवा पुर्‍याएको थियो’, उनले भने, ‘यो हाम्रा चाडवाड र कुल पूजामा प्रयोग गरिन्छ।’

कोदोबाट तयार हुन्छ
राईका अनुसार बजारमा ‘स्पेशल’ सरुवा पाउन छोडेको छ। सरुवा कोदोबाट बनाइने पेय पदार्थ हो। यसलाई पकाएर मर्चा (चामलको पीठोमा जडिबुटी प्रयोग गरेर निर्मित) हालेर १ देखि २ दिनसम्म राखिन्छ। त्यसपछि तयार भएको कोदोलाई घ्याम्पोमा राखिन्छ। पाँचदेखि ६ महिनासम्म राखिन्छ।

यसलाई जुसको रूपमा पनि प्रयोग गरिने गरेको राईको भनाइ छ। लोहोरुङ (राईको थर)ले विशेष गरेर विवाह लगायतका चाडमा सरुवा पाहुनालाई स्वागत गर्दै दिइने गरेको उनको भनाइ छ।

‘पाहुनालाई स्वागत गर्दा अरूले तोङबा दिनुहुन्छ हामी लोहोरुङले सरुवा दिन्छौँ’, उनले भने, ‘विशेष गरी बिहेमा सरुवा बाँडिन्छ।’

खाँदबारी नगरपालिका–१ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले सरुवालाई ब्राण्डिङ बनाउनुपर्छ भन्ने कार्यपालिका बैठकमा कुरा उठे पनि कसरी अध्ययन गर्ने भन्ने विषयमा योजना तय नभएको बताए।

‘यसलाई ब्राण्ड बनाउनुपर्छ भन्ने विषय हामीले कार्यपालिका बैठकमा उठाएका हौँ तर कसरी अध्ययन गर्ने भन्ने योजना बनेको छैन’, उनले भने।

त्यसो त घरेलु मदिरालाई ब्राण्डिङ बनाउनुपर्नेमा अघिल्लो सरकारका पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले जोड दिएकी थिइन्। उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल समेत गठन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.