|

काठमाडौँ : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्धि भएको छ। यो वर्ष मौसमले साथ दिँदा समयमै रोपाइँ भएको, रासायनिक मलको सहज उपलब्धता र उन्नत तथा हाइब्रिड धानमा जोड दिएको हुँदा धान उत्पादन बढेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएका छन्।

अन्य प्रदेशमा भने उत्पादनमा ह्रास आएको छ।  

कोशी प्रदेशमा ६.४१ प्रतिशतले बढेको छ। गत वर्ष १२ लाख ९८ हजार ८५५ अर्थात् ३.९२ प्रतिशत उत्पादन भएकोमा यो वर्ष ३ लाख ३२ हजार ८३६ हेक्टर क्षेत्रफलमा १३ लाख ८२ हजार १३७ मेट्रिक टन उत्पादन भएको प्रारम्भिक अनुमान छ।

सुदूरपश्चिममा ५ देखि ६ प्रतिशतसम्म उत्पादन बढेको प्रारिम्भक तथ्यांक कृषि विकास निर्देशनालय दिपायलले प्रकाशित गरेको छ। ६ लाख ६८ हजार २२४ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ लाख ७४ हजार मेट्रिक टन उत्पादन भएको छ।

कर्णाली प्रदेशमा गत वर्षको तुलनामा यो वर्ष ९ प्रतिशतले उत्पादन बढेको कृषि विकास निर्देशनालयका सूचना अधिकारी तिलकप्रसाद पाण्डेले बताए। उनका अनुसार करिब ४१ हजार १३ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि किसानले पराल र धान छुट्याइनसकेकाले आधिकारिक तथ्यांक अझै बढ्न सक्ने उनको भनाइ छ।

लुम्बिनी प्रदेशमा ७.३६ प्रतिशतले उत्पादन बढेको छ। गत वर्ष १२ लाख १ हजार ४५३ मेट्रिक टन धान फलेकोमा यो वर्ष १२ लाख ९६ हजार ९३ मेट्रिक टन भएको कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ डिल्लीराज पौडेलले जानकारी दिए।

गत वर्ष १३ लाख ३६ मेट्रिक टन धान उत्पादन भएको मधेश प्रदेशमा भने उत्पादनमा ह्रास आएको छ। यो वर्ष  ३ लाख ५८ हजार २९० हेक्टर क्षेत्रफलमा १० लाख ३० हजार मेट्रिक टन मात्रै उत्पादन भएको अनुमान छ।

बागमती प्रदेशमा यो वर्ष पनि उत्पादनमा गिरावट आएर ४ लाख २३ हजार ५५८ मेट्रिक टनमा सीमित भएको छ। गत वर्ष वाग्मतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४४६ मेट्रिकटन फलेको थियो। यसैगरी गत वर्ष ३.७४ प्रतिशतले उत्पादन घटेको गण्डकीमा यस वर्ष पनि घटेको प्रारम्भिक अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.