|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।​ आजै काठमाडौं आएका विदेशमन्त्री एस जयशंकर राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहान काठमाडौं आएका हुन्।

जयशंकरले अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। साँझ सवा ६ बजे परराष्ट्रमन्त्री एनपी साउदले होटल सोल्टीमा आयोजना गरेको रात्रिभोजमा जयशंकर सहभागी हुनेछन्।

भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने र ९ बजे त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। 

दुईदिने भ्रमण सकेर उनी भोलि नै नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.