|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताए। उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन्। 

उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएकोबारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको आरोप लगाइन्। 

उनले २२१ जना करारका कर्मचारी कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको दावी गरिन्। उनले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिश भएर काम गरिरहेको बताइन्।

उनले भनिन्, ‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ‚ त्यसो होइन। ८३१ दरबन्दी मध्ये ५ सयजना नर्सिङको दरबन्दी थियो। त्यसमा ३ सयको लोकसेवाबाट सिफारिश गरेर उहाँहरु दशैँअघिदेखि काम गर्दै हुनुहुन्छ। २३४ जनाको विज्ञापन गइसक्यो‚ पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ। लोकसेवाको सेड्युलबाट शायद आजभोलि विज्ञापन आउँछ।’

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरिन्। उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो भन्दै प्रश्न गरिन्।

सांसद कार्कीले करारका कर्मचारीहरुलाई नै स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.