‘समाचार नलेख्नुस्‚ भेटेर कुरा गरौँला’

|
सबै तस्वीर : रुपेन्द्र पटेल

रौतहट : रौतहटको वनमा पछिल्लो समय काठको व्यापक चोरी तस्करी बढ्दा पनि वन कर्मचारी भने आँखा चिम्लिएर बसेका छन्।

जिल्लाको राष्ट्रिय वनमा बहुमूल्य मानिएका खयरका दर्जनौँ काँचा रुख काटिएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने फूलबारीमाथि रहेको महादेव डाँडामा बहुमूल्य जातका दर्जनौँ खयरका रुख काटिएको पाइएको छ।

स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा तस्कर समूहले खयरका रुख काटिएको हो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य खयरका रुखहरु काटिएका हुन्। 

जुडीबेला सब-डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेर रमितेमात्र बनेको स्थानीय बासिन्दाले बताएका छन्।

तस्कर समूहले चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलिया बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्यत्र तस्करी गर्ने गरेको स्थानीयले बताए।

रौतहटको चुरे क्षेत्रमा खयरका रुख काटिएको विषयमा जुडिबेला सब-वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको भन्दै पन्छिएका छन्। 

आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले १/२ वटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोले आलेटाले जवाफ दिए।

रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन्।

रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसको काठबाट ड्रमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ। बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ छ।

रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरु नै पछिल्लो समय अवैध तवरबाट खयरका रुख काटेर विभिन्न सामान बनाएर बिक्री गर्न सक्रिय रहँदै आएका भए पनि वन कार्यालयले त्यसतर्फ आँखा चिम्लिएको स्थानीय बासिन्दाको बताउँछन्।

खयरबाट बनेका विभिन्न सामान वन कर्मचारीकै सेटिङमा रौतहटका मुख्य बाटो भएर जिल्लाबाहिर पुग्दासमेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन्।

सो विषयमा सोध्दा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले ‘समाचार नलेख्नुस्‚ भेटेर कुरा गरौँला’ भन्ने प्रतिक्रिया दिएका छन्।

यता गैँडाटार सब-डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट पनि तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीयले बताए। सो वनमा पनि खयर तस्करी गर्ने गिरोह नै सक्रिय भएको स्थानीय बासिन्दाको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.