|

भक्तपुर : आमाका लागि उसका सन्तान मुटुको टुक्रासरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन्। कलेजोमा भएको क्यान्सरले मृत्युसँग संघर्ष गरिरहेका ३ वर्षीय छोरा रिसवलाई आमा सीताले आफ्नो कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए।

उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको समूहले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण  गरेको हो। 

कलेजो झिकेको ६ दिनमा आमा र ९ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए। हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. श्रेष्ठको भनाइ छ। 

‘केन्द्रमा यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको यो नै पहिलो पटक हो। चिकित्सा विज्ञानमा कलेजोको प्रत्यारोपण जटिल प्रत्यारोपण मानिन्छ,’ उनले भने।

बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुमित अग्रवाल र डा. वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए।

दाताको काटिएको कलेजो ३ महिनामै ९० प्रतिशतसम्म पहिलेकै आकारमा आउने र दातामा कुनै समस्या नआउने डा. श्रेष्ठको भनाइ छ।

रुपक र सीता भट्टका एक्ला छोरा हुन् रिसव। रिसवलाई शुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो। त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि किमोथेरापी गरिएको थियो।

आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो। तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो।

सीताले भनिन्, ‘क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो।’

केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताए। तर तीनवर्षे बालकको हकमा भने अस्पतालले १५ लाखमात्रै लिएको उनको भनाइ छ।

केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो। केन्द्रले शुरुका केही वर्ष वार्षिक १/२ वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यस वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए।

केन्द्र स्थापनाको ११ वर्षमा कूल १ हजार १८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनले बताए। केन्द्रले मिर्गौला प्रत्यारोपणतर्फ आव ०६९/७० मा १३ जनाको, आव ०७०/७१ मा २७ जनाको, आव ०७१/७२ सालमा ४१ जनाको र आव ०७२/७३ सालमा १०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो।

आव ०७३/७४ मा १३२ जना, आव ०७४/७५ मा १५३ जना, आव ०७५/७६ मा १७९ जना, आव ०७६/७७ मा ४९ जना, आव ०७७/७८ मा ४५ जना, आव ०७८/७९ मा १६० जना, आव ०७९/८० मा १८६ जना र आव ०८०/८१ मा १०१ जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए।

आव ०७३/७४ मा कलेजो प्रत्यारोपण शुरु गरेको केन्द्रले सोही वर्ष २ जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव ०७४/७५ देखि आव ०७७/७८ सम्म ४ वर्षमा एक-एक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए।

डा.श्रेष्ठका अनुसार आव ०७८/७९ मा ३ जनाको, आव ०७९/८० मा २ जनाको र चालु आवमा ७ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.