काठमाडौं : आफूले अभिनय गरेका दुई फिल्ममध्ये एक फिल्म बन्दाबन्दै रोकियो। दोस्रो फिल्म बनेको ७ वर्षसम्म प्रदर्शनमा आएन। यी दुवै फिल्मले सिने क्षेत्रमा चालेका पाइलाले गति लिने केही आशा जगाएको थियो,तर दुवै फिल्मको कारुणिक अवसानपश्चात् लक्ष्मण देवकोटाको कलाकारिता यात्रामा ‘ब्रेक’ लाग्यो।
यात्रालाई बिट मार्दै उनी गृहजिल्ला डोल्पा फर्किने निर्णय गरे। यो २०७२ सालको कुरा हो।
किन फर्किस् ? कसैले सोधे, प्लस टु सकिसकेँ, ब्याचलर्स भर्नाको बहाना थियो। कलाकारितामा भोक भोकमै सीमित रह्यो।
बन्दाबन्दै गरेको फिल्ममा उनले केही रकम पनि लगानी गरेका थिए। त्यो लगानी पनि डुब्यो। कलाकार बन्ने कुरा बुबाआमालाई मन परिरहेको थिएन। त्यसमाथि लगानी डुबेपछि कुन आधारमा बुबाआमालाई कन्भिन्स गराउने?
बाहिरी दुनियाँलाई झुक्याउन जस्तो सजिलो छैन आफ्नो मनलाई झुक्याउन। देवकोटा सोच्थे, ‘बरू बाआमाको सपना पूरा गर्न लागेको भए बरु केही सफलता हात लाग्थ्यो होला।‘
आफ्ना सन्तान सरकारी जागिरे भएको हेर्न चाहने औसत नेपाली बाआमाको सपना हो। बुबाआमाको सपनालाई उनको आफ्नै सपनाले जित्यो। पढ्ने बहाना बनाएर काठमाडौं आएका थिए। अभिनयमार्फत उनी आफ्नो करियर बनाउन चाहन्थे। सोचेको जस्तो भएन।
देखेको सपना र आफू हिँडेको बाटोले सफलता नपाउँदा हतास हुने युवाको साझा समस्या हो। यसबाट उनी पनि अछुतो रहेनन्। उनी भन्छन, ‘त्यसपछि मसँग दुई विकल्प थिए, कि गाउँ फर्किने कि विदेश पलायन हुने। मैले पहिलो विकल्प रोजेँ।’
टेलिभिजनमा देखिने नायकले देखाएको अभिनयको रहर
उनले सानैदेखि कलाकार बन्ने सपना देखे। कलाकार बन्न तय गर्ने बाटो भने सजिलो थिएन। उनी बचपनका पत्र खोतल्छन्। डोल्पाको त्रिपूराकोटमा बिजुली पुगेको थिएन। पारी गाउँमा टिकादत्त न्यौपाने जो उनका मामा पर्छन्, उनको घरमा टिभी थियो।
बेलुका दुई घण्टा त्यहाँ फिल्म लगाइन्थ्यो। उनी फिल्म हेर्न अर्को गाउँसम्म पुग्थेँ। ‘फिल्म हेर्दै गर्दा म पनि टिभीमा देखिएको कल्पना गर्थेँ’, उनी सुनाउँछन्, ‘मेरो गाउँ यति विकट थियो कि फिल्म, कलाकारिता र रङ्गीन दुनियाँका बारेमा बुझ्नु नै महाभारत थियो।‘ फिल्ममा देखिने नायक र तिनको डायलगलाई जस्ताको त्यस्तै उतार्ने प्रयत्न गर्थे। उमेर बढ्दै गयो। डोल्पाभन्दा बाहिर पनि दुनियाँ छ भन्ने उनले बुझे।
बाहिरी दुनियाँ बुझ्नलाई पहिले एसएलसी पास गर्नुपर्थ्यो। एसएलसी सकेपछि उच्च शिक्षा पढ्न कहाँ जाने? उनी सामु विकल्पका रुपमा सुर्खेत,धनगढी र काठमाडौं थिए। उनले काठमाडौं रोजे। कारण कलाकार बन्न पाउने लोभ। उनी सुनाउँछन्, ‘कलाकार बन्न नसके पर्दा पछाडि भए पनि काम गर्छु तर सिनेमा क्षेत्रमा नै जीवनलाई अगाडि बढाउँछु भनेर काठमाडौं रोजेको थिएँ। पढाइ त दोस्रो कुरा थियो।’
गाउँमा शिक्षण पेशा, लक्ष्मण सुनारको ‘एक कल’
कलाकार बन्ने रंगीन सपना देखेर काठमाडौं आएका देवकोटालाई आफ्ना मृत दुई फिल्मले अभिनयको क्षेत्रबाट पर हटाएर गाउँ फर्काइसकेको थियो। कलाकारिता र काठमाडौंमा फर्केर नजाने कसमसमेत खाइसकेका थिए भने गाउँमा शिक्षकका रुपमा आफूलाई अभ्यस्त बनाइसकेका थिए।
यसैक्रममा तीन वर्षअगाडि सुरज पण्डितको स्वर र लेखराज गिरीको शब्दमा ‘रेलको बाटो’ गीत निर्माण भयो। गीतका लागि भिडियो निर्माण गर्नुपर्ने थियो। गीतको कथा अनुसार कर्णालीको समाज अनुकुल थियो।
निर्देशक लक्ष्मण सुनारले देवकोटालाई सम्झिए। आफ्नो गाउँठाउँमा नै भिडियो निर्माण गर्ने भएपछि देवकोटाले आफूबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘रेलको बाटो’को टोली भिडियो निर्माण गर्न कर्णालीको यात्रा शुरु गर्यो।
से-फोक्सुण्डो र डोल्पा क्षेत्रमा निर्माण गर्न टोली पुग्यो। ‘हाई अल्टिट्युड’ले सहायक पात्र बिरामी परे। उनलाई हेलिमार्फत अस्पताल लगियो। मूख्य भूमिकामा चिरञ्जीवी सापकोटा थिए। सहायक भूमिकामा देवकोटा जोडिन आइपुगे। उनी सुनाउँछन्, ‘साथी बिरामी हुनुभयो। निर्देशक लक्ष्मण सुनारले मलाई अभिनय गर्न आग्रह गर्नुभयो। मैले गीतमा अभिनय गर्ने कुनै योजना बनाएको थिइन। कहिलेकाहीँ अचानक योजना बन्ने रहेछन्।'
स्वर, संगीत, गायन अब्बल मानिएको उक्त गीतको भिडियोमा कर्णालीको कथा देखाइएको छ। जुन सर्वत्र चर्चामा रह्यो। गीत मात्र होइन, मुख्य भूमिकामा रहेका सापकोटा, सररस्वती खत्री र सहायक भूमिका गर्ने देवकोटाको पनि चर्चा शुरु भयो।
‘अभिनयको भोक मरिसकेको थियो। उक्त गीतले चर्चामा ल्याएपछि मैले शिक्षण पेशा छोडे। कलाकारितामा लाग्दिन भनेर खाएको कसम पनि भुलेँ’, उनले हलुका लाज मान्दै सुनाउँछन्। उक्त गीतपश्चात् अभिनयको भोक पुन: जागृत भयो। लगत्तै नुनको भारी बोलको गीतमा अभिनय गरे। गत वैशाखमा प्रदर्शनमा आएको बुलाकीमा पनि उनले अभिनय गर्ने अवसर पाए।
चिन्न बाँकी कर्णाली
बीचको एकाध वर्षलाई भुल्ने हो भने एक दशकदेखि उनी कलाकारिताको क्षेत्रमा छन्। तर, उनको चर्चा हुन थालेको धेरै भएको छैन। उनले आफ्ना कामहरू देखाउन बाँकी नै छ। जति काम गरेका छन्, दर्शकले मन पराएका छन्। आफूले गरेको काम दर्शकले मन पराउँदा आत्मसन्तुष्टि मिल्ने उनको अनुभव छ ।
यति मात्र होइन आफूमाथि अझै जिम्मेवारी थपेको महसुस पनि हुने गरेको सुनाउँछन् उनी। पछिल्लो समय ‘रातो किताब’ र ‘च्यात्तिएको चोली’ गीति फिल्मको भिडियो निर्माणका लागि उनी पुन कर्णाली सेरोफेरोमा जाँदैछन्। कलाकार छनोट कार्य पूरा भइसकेको उनले सुनाए। आखिर कर्णाली नै किन रोजे त उनले?
भौगोलिक रूपमा विकट छ कर्णाली। अभाव छ। गरिबी छ। उत्पिडन छ। प्राथमिक स्वास्थ्य उपचारसमेत नपाएर अकालमा मान्छे मर्ने अवस्था छ। यहाँ समस्याहरू छन्। र सँगै अवसर पनि छन्। पर्यटनका विविध सम्भावनाहरू पनि यहाँ छन्। यहाँका समस्या र सम्भावनालाई गीत र अभिनयमार्फत दुनियाँलाई देखाउन जरुरी पनि रहेको बताउँछन्।
'म कर्णालीमा जन्मे, यहिँ हुर्केँ। मलाई यहाँका धेरै दुख थाहा छ। यहाँका चूनौतिहरू पनि थाहा छ। यहाँका सवल पक्षसँग पनि म परिचित छु',उनले सुनाए, 'अरूले पढ्ने कर्णाली र मैले भोगेको कर्णाली फरक छ। यसकारण कर्णालीको विविध आयाम देखाउन ‘रातो किताब’ र ‘च्यात्तिएको चोली’ गीति फिल्म भिडियो खिच्न कर्णाली छानेको हो।'
सारमा कर्णालीjfसीलाई हाम्रा लागि सरकार छ भन्ने आभास गराउन नसकेको अवस्थामा अभिनयमार्फत कर्णालीको कथा भन्न कोशिस गरिरहेका छन् देवकोटा। उनी भन्छन्, ' इमान्दार भएर गरिएका कोशिस दर्शकले पक्कै मूल्यांकन गर्नु र मन पराउनुहुन्छ भन्ने लाग्छ। कति सफल भइन्छ, हेरौँ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।